प्रदेशलाई कम शक्तिशाली बनाउन सकिन्छ : बस्नेत
विराटनगर : नेकपाका केन्द्रीय सदस्य तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले प्रदेशलाई कम शक्तिशाली बनाउन सकिने बताएका छन् । उनले संघ र स्थानीय तह बलियो भए पनि प्रदेश संरचनाले काम गर्न नसकेको र राज्यले धान्न नसक्ने अवस्था आउन सक्ने भन्दै प्रदेशलाई कम शक्तिशाली बनाउन सकिने बताएका हुन् ।
बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टी कार्यालय पाञ्चालीमा पत्रकार भेटघाटमा बोल्दै बस्नेतले स्थानीय तहकै प्रमुख र उपप्रमुखलाई प्रदेशसभाका सदस्यको मान्यता दिने र उनीहरुले निर्वाचित गरेका व्यक्तिबाट प्रदेश सरकार बनाउन सकिने बताएका हुन्।
‘प्रदेश सरकारलाई अहिलेको जत्तिको शक्तिशाली नबनाउने मोडलमा जान पनि सकिन्छ’ बस्नेतले भने, ‘स्थानीय तहका प्रमुख उपप्रमुखलाई प्रदेशसभा सदस्यको मान्यता दिने, उहा“हरुबाट निर्वाचित प्रदेशसभाबाट सरकार बनाउने, त्यो सरकारले संघीय र स्थानीयको बजेटको समन्वयको काम गर्ने र प्रदेशभरीको कामको मोनिटरिङ गर्ने, विकासको पहल गर्ने, डीपीआर तयार गर्ने र अडिट गर्ने काम गर्यो भने अहिलेको बोझ घट्छ।’
उनले स्थानीय तहका प्रमुख उपप्रमुख निश्चित तलबभत्ता लिएर काम गरिरहेको हुनाले थप सुविधा दिनु नपर्ने भन्दै यस्तो मोडलमा जा“दा सरकारको कम खर्चिलो हुने दाबी गरे। तर यो विषय आफ्नो दलको चुनावी ऐजेण्डा नहुने बस्नेतले बताए। त्यसका लागि आगामी निर्वाचनमा जितेर आउने दलहरुमा दुईतिहाई भए संविधान संसोधन गरेर यो बिषयमा पनि छलफल गर्न सकिने धारणा राखे।
बस्नेतले प्रचण्ड–नेपाल समूह नैतिक रुपमा अल्पमतमा परिसकेको दाबी गरे। उनले राजनीतिको फोहोरी खेलबाट सरकारलाई जोगाउन चुनावमै जानुपर्ने जिकिर गरे।