‘मोडल हन्ट नेपाल’को तयारी
काठमाडौं : ‘मोडल हन्ट नेपाल’को छैटौं संस्करण सुरु भएको छ। आयोजक नेक्स्ट मोडल्स नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै ‘मोडल हन्ट नेपाल’को नयाँ सेसनका लागि आवेदन खुला भएको जनाएको छ।
१६ देखि २८ वर्ष उमेर समूहका युवकयुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवकको हकमा कम्तीमा ५ फिट ६ इन्च उचाइ तथा युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उचाइ हुनुपर्ने प्रावधान राखिएको छ। उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ६ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवकयुवतीको आकर्षणसमेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए। प्रतियोगिताका लागि पहिलो चरणको अडिसन माघ १० गते काठमाडौंमा हुँदै छ। पहिलो चरणको प्रतियोगितामा छानिएका प्रतियोगीले मात्र फाइनल प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन्।
फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई मोडलिङसम्बन्धी व्यक्तित्व विकास, शारीरिक बनावट, हिँडाइ, आत्मविश्वासलगायत विभिन्न थिममा आधारित फोटो सुट, रनवे प्रस्तुतीकरणलगायतका ३५ दिनको ग्रुमिङ कक्षामा सहभागी गराइनेछ। प्रतियोगिताको विजेताले नगद एक लाखसहित उपाधिका साथमा दक्षिण कोरियामा हुने ‘लक्जरी ब्रान्ड मोडल अवार्ड’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिताको अवसर प्राप्त गर्नेछन्।