माटो र महिला जिन्दगी
काठमाडौं : माटो आफैंमा उर्वर चिज हो। माटोमा फूल रोपे फूल फुल्छ, सुन रोपे सुन फल्छ। माटोमा फलेका अन्न खाएरै मानवले प्राण धानेको हुन्छ। मानव र माटो एकअर्काका सारथिजस्तै हुन्। माटो धुलोको रूपमा हँुदासम्म कोमल हुन्छ। उडेर जाने, भिजेर सकिने। तर, माटोको रूप परिवर्तन गरेर यसलाई इँटाको आकारमा ल्याइँदा बलियो बन्छ।
माटो इँटा बन्नु भनेको शक्तिको स्वरूपमा बदलिनु हो। यस्तै महिला पनि माटोजस्तै हुन्— अनुभव, भोगाइ, दुःख जति बढी भयो; उति नै शक्तिशाली भएर निस्कने। दुःखले महिलालाई आत्मविश्वासी बनाउँछ। यही क्रममा माटो र महिलाको सम्बन्धलाई विम्बात्मक रूपमा प्रयोग गर्दै दुई महिला चित्रकारले इन्स्टलेसन आर्ट बनाएका छन्। यसलाई चित्रकार तथा पर्फमर मनिषलाल श्रेष्ठले क्युरेट गरेका छन्।
पाटनढोकामा छ एमक्युव ग्यालरी। कोरोना महामारी सुरु भएपछि करिब ९ महिनासम्म ग्यालरी पूर्णतया बन्द रह्यो। बाहिरबाट बन्द रहेको ग्यालरीभित्र भने कलाका अनेक काम भइरहेका थिए। क्युरेटर श्रेष्ठको सहकार्यमा बेलायती सेरामिक्स पर्फम आर्टिस्ट जोय विलियम र नेपाली चित्रकार सुशीला सिंहले माटो प्रयोग गरी अनेक कला तयार गरेका छन्।
ग्यालरीभित्र छिर्नासाथ कलाका फरक–फरक पोस्चर देख्न सकिन्छ। छेउमै उभिएको हिउँमानव यतिको भीमकाय शरीर, जहाँ अनेक रूप रंगका चित्र कोरिएका छन्। भुइँतलामा सुशीला कार्कीको सिर्जनात्मक काम देख्न सकिन्छ। उनले माटो प्रयोग गरेर अनेक आकारप्रकारका इँटा, कप, आँखीझ्याललगायतका इन्स्टलेसन आर्ट तयार पारेकी छन्।
ग्यालरीको भुइँभरि गुलाबी रङका इँटाहरू कलात्मक तरिकाले सजाइएका छन्। इँटाभित्र कालो रङ प्रयोग गरी महिलाको भावभंगी उतारिएको छ। भित्तामा स्केचहरू देख्न सकिन्छ। छेउको टेबलमा माटोबाट बनेका ससाना कप, गाग्रीलगायत सजाइएको छ। माटोबाट बनाइएको प्रदर्शनी हेर्दा कतै संग्रहालयमा पसेको अनुभव हुन्छ।
फाइन आर्टमा स्नातकोत्तर सकाएकी सुशीला बानेश्वरकी रैथाने हुन्। इँटा व्यवसायीसँग वैवाहिक सम्बन्ध गाँसेपछि उनले माटोलाई नजिकबाट बुझ्ने मौका पाइन्। यसैले पनि उनको मन सेरामिक्स आर्टतर्फ मोडियो। उनले आफूभित्रको भावनालाई माटोको प्रयोगमार्फत प्रदर्शन गर्न थालिन्। अनि लकडाउनकै बीचमा जन्मिएको हो माटो शृंखला। उनका हरेक कलामा महिलाको संवेदना, भावना र शक्तिलाई स्केचमार्फत प्रस्तुत गरिएको छ।
पुस २४ गते सुरु भएको माटो कला शृंखलामा कलाकार जोय र सुशीला दुईजनाको कला प्रदर्शन भइरहेको छ। बेलायतमा बसेर सेरामिक्स आर्टमा काम गरिरहेकी जोय कोरोनाभन्दा अघि नै नेपाल आएकी थिइन्। एमक्युव ग्यालरीमै सुशीला र जोएको भेट भएको हो।
माटो सिरिजमा काम गर्ने योजनाअनुसार लकडाउनभर उनीहरूले भक्तपुर ठिमी आसपास चक्कर काटेका थिए। त्यहाँ उनीहरूले लामो समयदेखि माटोबाट भाँडाकुँडा बनाउने जगतकृष्ण प्रजापति र तेजमाया प्रजापति दम्पतीलाई भेटे। जोए भक्तपुर घुम्ने क्रममा त्यहाँको संस्कृतिबाट निकै प्रभावित भइन्। प्रजापती दम्पतीले ठिमीमै बसेर लामो समयदेखि माटोको काम गरिरहेका छन्। बेलायती कलाकार जोए भक्तपुर घुम्ने क्रममा त्यहाँको सस्कृतिबाट निकै प्रभावीत भइन्। नेवारी समुदायमा रहेको भोज, पुजाआजामा प्रयोग हुने माटोको भाँडाकुँडामा कुदिएको कलात्मक चित्र देखेर दंग परिन्। उनले पनि माटो सिरिजमै काम गरेकी छन्। उनको आर्ट एमक्युवको पहिलो तल्लामा सजाइएको छ।
भुइँभरि हरिया सालका पात छरिएका छन्। पातमाथि नेवारी समुदायमा प्रयोग हुने भाँडाहरु मकल, फोसी, फ्याका, संलीचा लगायतका सामानलाई सजाइएका छ। सबै भाँडाकुँडा माटोबाट बनाइएको छ। काठमाडौंको पोखरी र नागको इतिहास बारे जानकारी लिंदै जाँदा जोएले पानीको ताल तलैया वरिपरि चामल चढाउँदै पूजा गरिने चलनमा जनावरप्रति माया भेटिन्।
पोखरीमा रहने पानी जीवहरुलाई खानाको लागि अन्न चढाइने गरेकोमा यहाँको सस्कृति पनि वातावरण मैत्री भएकोमा खुसी व्यक्त गरिन्। उनले बनाएका माटोको भाँडामा नाग, भैरव लगायतका अन्य देवीदेवीतालाई पनि उतारेकी छन्। आर्ट प्रदर्शनीमा सालको पातलाई प्राकृतिक सुन्दरताको रुपमा प्रयोग गरिएको छ। माटो विशुद्ध प्रकृतिसँग जोडिने भएकाले पनि जोएलाई माटोको काममा रुची लागेको हो। बेलायती कलाकार जोए विलीयम र शुसिला सिंहको संयुक्त आर्ट प्रर्दशनी ‘माटो’ सिरिजमा हेर्नलायकका काम भएका छन्। उनीहरुले माटोलाई प्रकृति र पावरफुल साधनको रुपमा आर्टमा प्रयोग गरेका छन्। प्रदर्शनी यहीं माघ ८ गतेसम्म चल्नेछ।