हिँड्यो ‘हिँड्दा हिँड्दै’
काठमाडौं : मिलन आलेमगरको निर्देशनमा बन्दै गरेको ‘हिँड्दा हिँड्दै’ फिल्मको सुटिङ धमाधम भइरहेको छ। गोदावरीमा गरिएको पहिलो दिनको सुटिङमा अभिनेता सलोन बस्नेत र अभिनेत्री सानिया खानबीचका प्रेमिल दृश्य कैद गरिएको जानकारी फिल्मका प्रस्तुतकर्ता सुशील पंगेनीले दिए।
फिल्मका अन्य कलाकारमा आकाश श्रेष्ठ, नवअभिनेत्री रेखा शाह, विकास थापामगर, विवेक रामदाम, ममता पौडेललगायत छन्। कोहलपुर मोडेल कलेजसँगको सहकार्यमा नारायण सुशील पंगेनी इन्टरटेनमेन्टले निर्माण गरिरहेको फिल्मको निर्मातामा प्रमोदकुमार तामाङ, राजकुमार थिङ र पारस गुरुङ छन्। महादेव शाह सहनिर्माता रहेको फिल्म काठमाडौं र गाईघाटमा खिचिनेछ। सुमनकुमार तण्डुकारको छायांकन रहेको फिल्मका गीतमा वसन्त सापकोटा र किरण माइकलको संगीत र कविराज गहतराजले कोरियोग्राफी गर्नेछन्।
देव महर्जनले द्वन्द्व निर्देशन गर्ने फिल्मको मुख्य सहायक निर्देशकमा यम भण्डारी र रामकुमार थिङ छन्। फिल्मको सुटिङ ३५ दिनमै सकाइने बताइएको छ।