अधुरै सहिदका सपना
देशले हरेक वर्ष माघ दोस्रो सातालाई सहिदहरूको सम्मान गर्दै सहिद सप्ताह मनाउने गरेको छ। सहिदहरू सालिकमा परिणत भएको सात दशकमा देशमा सातवटा संविधान त्यो पनि संसारकै महँगो संविधान आए पनि सहिदलगायत अन्य सबैका सपना असरल्ल छन्। धर्मभक्त, शुक्रराज, गंगालाल, दशरथदेखि ज्ञातअज्ञात सबैका नाममा उनीहरूप्रति समर्र्पित हुने त गर्छौं, तर देशका लागि बलिदान गर्ने उनीहरूका सपना धेरै अधुरै रहँदा वितृष्णाले जरो गाड्छ।
हाम्रा पुर्खाले भने ‘सन्तानले डाँडाकाँडा ढाकून्’ तर हाम्रा डाँडाकाँडा रित्तै छन् र पनि सहिदकै सपना गोर्खाली वीरताको इतिहासमा भने कमी आएको छैन। विश्वमा दुई सय बढी देश छन्, संयुक्त राष्ट्रसंघमा आबद्ध १९२ र अन्य एसोसिएट सदस्यसमेत। नेपालीहरू संसारभरि पैmलिएकै कारणले हो– १५८ देशबाट त हामीलाई विप्रेषण रकम नै आउने गरेको छ। ११० वटा देशसँग त वैदेशिक रोजगारका लागि हाम्रो सम्झौता नै भएको छ। यसबाट स्पष्ट हुन्छ– रगत बेचेर भए पनि नेपाल र नेपालीको गौरव संसारभरि नै छरिएको छ।
विगतमा देशले आफ्नो उत्पादन क्षमता देखाएको हो। जल, जमिन, जडीबुटी, जंगलको छुट्टै पहिचान बोकेको नेपालको मौलिक इतिहास छ। हाल अधिकांश हाम्रो दैनिकी आयातमा परनिर्भर हुनुपरेको छ। व्यवस्थित कृषि प्रणाली, कृषि उत्पादनमा वृद्धि, फस्टाउँदो पशुपालनले नेपालको इतिहास गौरवान्वित थियो। प्राकृतिक सुन्दरता, हराभरा दृश्य, शान्त र विशाल अनि सौम्य भावनाले नेपाली शिर उचो छ। हिमाच्छादित शिखर, ठाउँठाउँमा रहेका तालतलैया, टार र उपत्यका, चुरे क्षेत्र, विशाल मैदानी तराई भाग, थरीथरीका वनस्पति र वनजन्य, वनौषधि, थरीथरीका चराचुरुंगी, पशु अन्य जीवजन्तु हेर्दा अझै हामी आफ्नो पुर्खाको गौरव जोगाउन सक्छौं।
त्यस्तै आन्तरिक र बाह्य पर्यटन विकासले हामी हाम्रो आर्थिक विकास आफैं गर्न सक्छौं। सूचना र सञ्चार क्षेत्रमा प्रगति पनि छ। तर सरकारी र निजी क्षेत्रको कार्य–क्षमता, कार्यशैली, कर्मचारीतन्त्रको ढिलासुस्ती, सदाचार र सुशासनमा कमी, नकारात्मक सोच, कुण्ठा, अविश्वास, सामाजिक संरचनामा खलल, समझदारीको अभाव हेर्दा नेपालको विकासको गोरेटो अझै अल्मलिएको देखिन्छ। दशकैपिच्छे सत्ता परिवर्तन र वर्षैपिच्छेको चुनावी नाराले मात्र देश समृद्धितर्फ अग्रसर नहुने र सहिदका सपना पनि पूरा नहुने देखिएको छ।
बालकृष्ण समले भनेका थिए, ‘देशभक्ति त मर्दैन चुत्थै देश भए पनि।’ मुलुकको राष्ट्रियता कमजोर भएको छ। सुगौली सन्धिपछि कायम भएको मेची–महाकालीको भूगोलमा पनि धावा बोलिएको अवस्था छ। अहिले सीमा विवादको प्रसंग छ। भाइचाराको सम्बन्ध दक्षिण हाम्रो मितेरी साइनो मजबुत हुनुपर्ने हो। राष्ट्रियताको मियो राजनीतिमै हुन्छ। केही दशकयता राजनीति रंगकर्मीहरूको थलो बनेको छ। हालको राजनीतिक परिवेशको सूत्रपात बाह्रबुँदे सम्झौता दिल्लीमै भएको थियो। नेताहरू उतै पढे, उतै हुर्के र उतै साथीभाइ बनाए। बसउठ र रहनसहन सबै उतैबाट सिकियो। निर्वासित हुँदा वा स्वतन्त्र जीवनयापन गर्दा, भाषा र संस्कृतिले डो¥याएर होस् वा सामाजिक परिवेशले, आर्थिक लेनदेन बजार विविधीकरण या भनौं सबै परिवेशले नेपाल–भारतको सम्बन्ध पुरानै युगदेखि प्रगाढ रहिआएको हो। उत्तरतिर भृकुटीको नामले दक्षिणतिर सीताको नामले प्रसिद्धि पाएको हो।
भूपरिवेष्ठित भूमिका कारण मात्र राष्ट्रियता कमजोर भएको भन्ने पक्कै होइन। राष्ट्रियता भन्नु भूगोल मात्रै होइन; मुटु पनि हो। मायाविना मुटुको धड्कनको काम छैन। माया भन्नु स्वदेशको माया हो; स्वदेशीपन हो। नेपाल अरूको उपनिवेशमा परेन तर आर्थिक औपनिवेशिकता, परनिर्भरता, भाषिक औपनिवेशिकता, आयातीत संस्कृतिले मुलुकको राष्ट्रियतालाई गल्र्यामगुर्लुम ढालेको छ। देशमा रोजगार छैन। स्वेच्छा वा विवशताले नेपाली बिदसिएका छन्। आयातीत सामान र तिनबाट हामीले विकासको मूल फुटाउने इच्छा गरेका छौं। मुलुकको राष्ट्रियतारूपी गाडी बलियो हुन आफ्नै धर्म, संस्कृति, भाषा र भूमिरूपी चार पांग्रा हुन जरुरी छ। भूमिमा पनि कहिले टनकपुर र महाकाली सन्धिको, कहिले चाँदनी–दोधाराको, कहिले लिपुलेक र नालापानीको, कहिले कोशी सम्झौताको, कहिले त्रिवेणी–सुस्ताको, कहिले मेचीपुलवरिपरिको सीमा समस्या छ।
मुलुक बहुआयामिक संस्कृतिको धनी छ। तर मुलुकभित्रको संस्कृतिमा धमिरा लागेको छ। एकअर्काप्रति अविश्वासको संस्कृति हुर्केको छ। विदेशी संस्कृतिले बढी प्रश्रय पाउन थालेको छ। खानपिन, रहनसहन र भेषभूषा सबै विदेशीमय भएको छ। विदेशीहरूले यहाँको मौलिक संस्कृति लोप गराई राष्ट्रियतामाथि धावा बोलिरहेका छन्। उत्तर–दक्षिणको दौडधूप, राजनीतिक चासो, सगरमाथाको कुरादेखि दक्षिणी मित्रहरूको भ्रमण बढेको छ। हालै हाम्रा परराष्ट्रमन्त्रीले समेत त्यताको भ्रमण गरे तर लिपुलेकबारे कुरो उठेन।
होे, देशमा लैंगिक र जातीय असमानता हटाई भौगोलिक विकटता र आर्थिक असमानताको अन्त्य गरेपछि मात्र देश समृद्ध हुन्छ। राष्ट्रिय हित, राष्ट्रिय स्वार्थभन्दा कोही ठूलो हुन सक्तैन। हाल गणतन्त्र नेपालले धेरै राजनीतिक संयन्त्रमा फट्को मारेको छ। मुलुकको संरचना संघीय प्रणालीमा छ। तर यो प्रणाली बहुत खर्चिलो छ। विश्वका कम मुलुकमा मात्र यस्तो शासन पद्धतिले प्रश्रय पाएको छ। जनतालाई सार्वभौम गराउनुपर्छ तर बोलीले मात्रै होइन यो व्यवहारले पनि। मौलिक अधिकारको पुलिन्दा कागजमा लेखेर मात्र हुँदैन; व्यवहारमा पनि हुनुपर्छ।
हालै कोरोना खोपमा देशले थाल थाप्न थालेको छ। निर्वाचनलाई चाहिएजति खर्च गर्न तम्सिने तर खोपका लागि थाल थाप्ने कस्तो नियति हो यो ? नेताहरूको निहित स्वार्थभन्दा नीतिले नै सञ्चालित हुनुपर्ने हो मुलुक। सत्ताको शिखर सगरमाथा चढ्नु राम्रो हो; तर सगरमाथामै स्थायी घर बनाएर बस्न खोज्नु नराम्रो हो। नेपालमा एक किसिमको द्वन्द्व कायमै छ। राजनीतिक परिवर्तन पूरा भएको भनिए पनि आर्थिक समृद्धिको मार्गमा राज्य खुलेर लाग्न सकेन। दिगो विकास र समृद्धिका लागि मुलुकको आफ्नै चिनारी हुनुपर्छ।
सिद्धान्त र व्यवहारमा आकाश–जमिनको फरक छ। भन्ने एकथरी र गर्ने अर्कै। बोलीमा स्थिरता र निरन्तरता छैन। मानवमा चीत्कार छ। कुण्ठा छ। बेमेल छ। विसंगति छ। बेचैनी छ। बेरोजगार छ। बेवास्ता छ। पदको लोभ छ। प्रतिष्ठाको भोक छ। पैसाको खेल छ। कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिरको उखान चरितार्थ छ। राम्रा मान्छेको सट्टा हाम्रा मान्छेको चयन छ। राजनीति हावी छ सबैतिर। सबैतिर भागबन्डा र राजनीतिक रोजगार छ। दलमा नमिसिएकालाई कुनै ठाउँ छैन। खुला बजारमै बिक्री वितरण हुन थालेको छ सबै कुरा। ज्ञानभन्दा कुर्सी शक्तिशाली छ, कामतिर भन्दा मामतिर र दामतिरको स्वार्थ छ। सबैलाई कृष्ण बन्ने हतारो, युधिष्ठिर होइन। यहाँ राम बन्ने हतारो छ; लक्ष्मण बन्ने होइन। सबैलाई कुबेर बन्ने, अध्यक्ष बन्ने, नेता नै बन्नुपर्ने हतार छ; नैतिक बन्नुपरेन।
व्यक्ति एक हेर्दा मरुभूमिको कण हो, तर उससँग अथाह ज्ञान छ। अथाह ऊर्जाको स्रोत छ। विश्व मानचित्रमा मुलुक नेपाल सानो छ, तर यसको सगरमाथा, यसले अँगालेको बुद्धभूमि, अपार जलस्रोतको भण्डार, अथाह प्राकृतिक स्रोतसाधन, विविधताको भूगोल, हिमाल, पहाड, पर्वतीय शृंखला, महाभारत लेक, उर्वर तराईको भूमि, प्रशस्त औद्योगिक सम्भावना, एक मात्र हिन्दुबाहुल्य संस्कृति, धर्म, संस्कार, मन्दिर नै मन्दिरले सजिएको सौन्दर्य, पर्यटन उद्योगको बेजोड सम्भावना, सरल स्वभावका नागरिक, विश्वमै चिनिएको वीर गोर्खाली, नेपाली कहिल्यै उपनिवेशको छायामा नपरेको स्वाभिमानी जनता बहुभाषिक एकता, धर्म र संस्कृतिमा हुर्केको समाज, पाहुनालाई देवतासरहको व्यवहार गर्ने, साहित्यको धनी बेजोड नमुना छन् यो देशमा।
युगौंयुगदेखिको इतिहास बोकेको सुन्दर, शान्त र विशालताको नारा लिएको मुलुक भूपरिवेष्ठित बाध्यता र विवशतासँगै बसिरहेको, बहुमूल्य खनिज, हिमालको गर्भगृहमा सुन भएको देश हो यो। वन पैदावार, जडिबुटीको खानी हो। उपयोग, उत्खनन र उपभोग गर्न सकिएन। सधैं पाइने वस्तु र पानीको प्रयोग पनि सही ढंगले गर्न नसक्दा न शुद्ध पिउने पानी छ यहाँ, न खेतीपातीमा पर्याप्त सिँचाइ सुविधा। पानीबाट उत्पादन हुने विद्युत् संकट त्यस्तै छ। भारी इन्धन आयात गर्नुपर्ने अवस्था छ। हाम्रो बोलीमा सत्यभन्दा मिथ्या धेरै छ। व्यवहारमा सत्यभन्दा झूटो धेरै छ। अतः सबैको मतैक्यमा मात्र सहिदहरूको सपना साकार हुन सक्छ।