पाटन अस्पतालको अक्सिजन प्लान्ट बिग्रियो : महानगरको एक करोड सहयोग
ललितपुर : दस वर्ष पुरानो अक्सिजन प्लान्ट कोरोना संङ्क्रमणको समयमा बिग्रिएपछि दैनिक लाखौंको अक्सिजन बाहिरबाट खरिद गर्नु परेको पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्य बताउँछन्। अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्नका लागि ललितपुर महानगरपालिकाले एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ। महानगरपालिकाले मंगलबार एक कार्यक्रम गर्दै निर्देशक शाक्यलाई उक्त रकम उपलब्ध गराएको हो।
सो रकमलाई उपहारको रुपमा स्वीकार गरेको बताउँदै शाक्यले ठुलो उपलब्धीको रुपमा लिएको बताए। 'दस वर्ष पुरानो मेसिन थियो, कोभिड सुरु हुँदै गर्दा बिग्रियो', उनले भने, 'अक्सिजन अत्यावश्यक भएको बेलामा हामीले बाहिरबाट खरिद गर्नु पर्यो।'
शाक्यले दैनिक तीन सय वटाभन्दा धेरै अक्सिजन खरिद गर्नु पर्दा अस्पताल आर्थिक समस्यामा परेको गुनासो गरे। 'एउटा अक्सिजनको चार सय रुपैयाँसम्म पर्यो, मासिक करिब पच्चिस लाखसम्मको अक्सिजन खरिद गर्न बाध्य भयौं।'
कोभिड सुरु भएपछि अक्सिजन धेरै माग भएको समयमा अक्सिजन प्लान्ट बिग्रिनुलाई दशाको रुपमा लिएको उनले बताए। उनले भने, 'महामारी दशा लिएर आयो, तर महानगरको सहयोगले निकै उत्साहित बनाएको र आउँदो असारसम्ममा अक्सिजन प्लान्ट बनाउने लक्ष्य लिएका छौं।' पहिलाको भन्दा राम्रो खालको अक्सिजन प्लान्ट बनाउने सिलसिलामा विज्ञहरुसँग गृहकार्य भइरहेको पनि जानकारी दिए। शाक्यले भने, 'प्रति मिनेट १२ सय लिटर अक्सिजन उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेका छौं।'
महानगरका प्रमुख चिरीबाबु महर्जनले सर्वसाधारणको पहुँचमा रहेको पाटन अस्पतालले उत्कृष्ट सेवा दिंदै आएकाले सहयोग गरेको जनाए। कोभिडको समयमा अस्पतालले सक्रियताकासाथ काम गरेको उनको भनाइ छ। 'अक्सिजन प्लान्ट र शव गृह अतिआवश्यक रहेको अस्पतालले जनायो', महर्जनले भने, 'अक्सिजन प्लान्टका लागि सहयोग गर्यौं, अब अर्को आर्थिक वर्षमा शवगृहको लागि हेरौंला।'
उनले पाटन अस्पताल कोभिडको उपचारका लागि सबैभन्दा उत्कृष्ट अस्पताल बनेको भए पनि सरकारले सात सय ५३ वटै स्थानीय तहमा अस्पताल निर्माणका लागि १० करोडको हिसाबले रकम उपलब्ध गराएको तर पाटनलाई नदिएको गुनासो गरे।
कोभिडको उपचार हुन थालेपछि अन्य खालका बिरामी आउन छोडेकोले ३० प्रतिशत आर्थिक घाटा ब्योहर्नु परेको उनको भनाइ छ। ललितपुरका २३ अस्पतालमध्ये पाटन सर्वसाधारणको पहुँचमा रहेको उत्कृष्ट अस्पतालको रुपमा चिनिएको महर्जनको भनाइ छ।