कंक्रिटको कमलपोखरी

कंक्रिटको कमलपोखरी

काठमाडौं  : ‘जीवनको आधारभूत वस्तु माटो र पानीसँग हाम्रो आत्मीयता छ। यसलाई बचाऊ’, पूर्व मिस नेपाल शृंखला खतिवडाले बोकेको कागजमा लेखिएको थियो। उनी मंगलबार काठमाडौँ  महानगरपालिकाको गेटअगाडि भेटिइन्। कुनै पनि बहानामा सरकारले सम्पदा र पुरातात्त्विक सम्पत्ति मास्न नहुने खतिवडाको जोड छ। उनले महानगरपालिकाले कमलपोखरीमा सिमेन्टको कमलको फूल फुलाउन अग्रसर भएकोमा आलोचना गरिन्।

कमलपोखरी संरक्षण गर्ने क्रममा त्यहाँको ऐतिहासिक स्वरूप भत्काएपछि काठमाडौँ  महानगरपालिका विवादमा तानिएको छ। कमलपोखरी नेपालकै ऐतिहासिक महत्त्वको सम्पदा हो। कुनै बेला विभिन्न प्रजातिका कमल फुलेर ढकमक्क हुने पोखरी पछिल्लो समय अतिक्रमणको चपेटामा परेको थियो। यो पोखरीको संरक्षण गर्न भन्दै महानगरले गत वर्षको असारदेखि निर्माण कार्य सुरु गरेको छ। 

९ करोड ४६ लाख ९९ हजार रुपैयाँको लागतमा महानगरले पोखरी निर्माण गर्ने योजना बनाएको छ। पोखरीको प्राचीन स्वरूप फेर्ने, ब्याडमिन्टन तथा बास्केटबल खेल्ने ठाउँ, मण्डप, व्यायाम गर्ने स्थान, पोखरीको बीचमा जाने कृत्रिम पुल बनाउने महागरको योजना छ। सिमेन्टको कमल फूल, पानीको फोहोरालगायतका संरचना बनाउन धमाधम काम चलिरहेको छ। 

सोमबार राति पोखरीभित्र डोजरले खनिरहेको र माटो ओसारिरहेको देखेपछि संरक्षणकर्मी, अभियन्ता र संस्कृतिकर्मीले विरोध गरे। राति नै पोखरी परिसर पुगेर उनीहरूले डोजरलाई अवरोध गरे। पोखरी जोगाउन सुरुदेखि नै जुटेका नरेन्द्र मानन्धर, मिलन राई, गणपतिलाल श्रेष्ठ, विनोद देउजा ठकुरी, चेतन बुढाथोकीलगायत सोमबार राति त्यहाँ पुगे। 

यो कार्यको विरोधमा मंगलबार काठमाडौँ महानगरपालिका परिसरमा अभियन्ताहरूले सांकेतिक विरोध प्रदर्शन गरेका हुन्। हातहातमा प्लेकार्ड बोकेका उनीहरूले महानगरमा ज्ञापनपत्र बुझाए। उनीहरू भन्दै थिए, ‘डियर मेयर, सिमेन्ट र डन्डीको कमल चाहिँदैन, प्रकृतिको दोहन बन्द गर, दुर्लभ सिमसारको संरक्षण गर। रानीपोखरीबाट पाठ नसिकेकोमा हामी लज्जित छौं।’ 
सोमबार पुरातत्त्व विभागले काठमाडौँ  महानगरपालिकालाई पोखरीको ऐतिहासिक र पर्यावरणीय असर पर्ने निर्माणकार्य तत्काल रोक्न पत्राचार गरेको थियो। जनहित संरक्षण मञ्चको तर्फबाट विभागमा निवेदन आएपछि विभागले महानगरको ध्यानाकर्षण गराएको हो। काठमाडौँ  महानगरका पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले भने पुरातत्त्वको पत्र महानगरमा नआएको बताए। उनले भने, ‘हामीलाई पत्र आएको छैन, खै कसले कता पठायो त्यो थाहा भएन। मिडियाका लागि पत्र काटिएको हो कि ?’ 

थापाले कमलपोखरीको पुरानो शैली नभत्काई पुरानै स्वरूपमा संरक्षण गर्न लागेको बताए। राति डोजर चलाइएको प्रसंगबारे जिज्ञासा राख्दा उनले भने, ‘डोजर भन्नासाथ विध्वंस गर्ने साधन मात्रै हैन, समयमै काम सक्न मात्रै डोजर प्रयोग गरिएको हो।’ कमलपोखरीलाई संरक्षण गरेर कुनै अपराध नगरेको बताउँदै उनले कमलपोखरीमा भएका अनावश्यक संरचना हटाइ पुरानै स्वरुपमा निर्माण सम्पन्न गरिने जानकारी समेत दिए। 

अभियन्ता आलोक सिद्धि तुलाधरले महानगरले भूमाफिया लगाएर कमलपोखरीलाई क्रंकिटको पोखरी बनाउन लागेको आरोप लगाए। 'सम्पदाको विनास हेर्न सकिंदैन। काठमाडौं सहर ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको छ । जसरी पुर्खाले हाम्रा लागि यति सुन्दर सम्पदा निर्माण गरिदिए, सोहि अनुरुपमा जोगाउनु हाम्रो दायित्व हो', उनी भन्छन्, 'पोखरीको आकार पनि सानो बनाइएको छ। सिमेन्टका संरचना ठड्याइएको छ। रानीपोखरीमा त्यति धेरै विवाद भैसकेर पनि महानगर सुध्रिएन।'

रातारात डोजर चलाएर त्यहाँको कालो माटो गायव बनाउनुले महानगरको नियत नै खराब देखिएको उनले बताए।  

तुलाधरका अनुसार पुरातत्त्वले भनेको नमान्ने, पत्र नै दर्ता नगर्ने र आलटाल गर्ने महानगरको पुरानो चरित्र हो। पत्र नै आएन भन्ने सरासर झुट हो। महानगरले पौडी पोखरी बनाउन लागेको रानीपोखरी संस्कृतिकर्मी र अभियन्ताले गर्दा नै पुरानो शैलीमा निर्माण सम्पन्न हुन सफल भएको बताउँदै उनले कमलपोखरीलाई पनि विनास हुनबाट जोगाउन लागिपर्ने बताए। 

अर्का अभियन्ता गणपति लाल श्रेष्ठ गत राती नै आफूहरु कमलपोखरी पुगेको बताउँदै भन्छन्, 'हामी जाँदा धमाधम डोजरले खनिरहेको थियो। पोखरी भित्रको कालो माटो बुढानिलकण्ठ लैजान लागिएको थियो। पुरातत्त्वले पत्र काट्दा काट्दै कुन आधारमा रातमा डोजर चलाइयो ?'  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.