शिक्षक श्रेष्ठको हत्यामा संलग्न विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ
विराटनगर: मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् ।
मिक्लाजुङ गाउँपालिका १ बर्खेका श्रेष्ठको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले डीबी सिववाल भनिने धनबहादुर बिकलाई पक्राउ गरेको हो ।
बिकलाई बुधबार बुढीगंगा गाउँपालिका ४ बाट पक्राउ गरेको जिल्ला प्रहरी कायालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जनाकारी दिए । पक्राउ परेका उनी मोरङको जिल्ला इञ्चार्ज रहेको प्रहरीको दाबी छ ।
५४ वर्षीय शिक्षक श्रेष्ठको गत मंसिर २३ गते विहान विप्लव समूहले हत्या गरेको थियो । शिक्षक श्रेष्ठको हत्या हुँदा उनी मेची कोसी ब्यूरो सदस्य थिए । अहिले उनी मोरङ जिल्ला इञ्चार्ज रहेको बताइएको छ । हत्यामा ६ जना संलग्न रहेको र त्यसको अगुवाई पक्राउ परेका बिकले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले बताए ।
प्रहरीका अनुसार मोरङमा पछिल्लो समय उद्योगी व्यावसायीलाई चन्दा माग्दै विप्लव कार्यकर्ताले धम्की दिने गरेको विक पनि चन्दा संकलन गर्न आउँदै गर्दा पक्राउ परेका हुन् । बुढीगंगामा नै रहेको एक उद्योगका चन्दा संकलन गर्न बिक पुगेका थिए ।
पक्राउ परेका विकको साथबाट अटोमेटिक पेस्तोल, म्याजिन र तीन राउण्ड गोली बरामद भएको मोरङ प्रहरीले जनाएको छ । चारवटा मोबाइल फोन र ११ वटा सिमकार्ड पनि भेटिएको उनको साथमा भेटिएको थियो । प्रहरीले विक सवार को २४ प ४००५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।