कर्मचारी भन्दै चोरी गरेको आरोपमा चारजना पक्राउ
राजविराज : कर्मचारी हुँ भनेर झुक्याई लाखौँ मूल्य बराबरको नेपाल टेलिकमको सामग्री चोरी गरेको आरोपमा चारजना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले चोरीको सामाग्रीसहित पक्राउ परेका चार आरोपितलाई सार्वजनिक गरेको हो।
नेपाल टेलिकमको जीसिएम मोबाईल बिटिएस साइटमा १० लाख भन्दा बढी मूल्यको सामग्री चोरी गर्ने मुख्य अभियुक्त सिराहाको लहान नगरपालिका–१३ सरस्वती टोलका २२ वर्षीय राकेश यादवसहित चार जनालाई पक्राउ गरेको एसपी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।
प्रहरीले घट्नामा प्रयोग भएको मिनी ट्रकका धनी सिरहाको लहान नगरपालिका– ३ डगराहा होटलका ३५ वर्षीय सूर्यनारायण महतो, ठगीको समान बिक्री गर्ने लहान नगरपालिका– ३ अस्पताल चौकका ३५ वर्षीय पवन जयसवाल र ब्याट्री खरिद गर्ने कबाडी संञ्चालक सिरहाको गोलबजार नगरपालिका– ४ का ४१ वर्षीय दिपक अग्रबाललाई पक्राउ गरेर सार्वजनिक गरेको हो।
सप्तरीको सुरुङ्गा नगरपालिका–२ हर्दिया टोलस्थित शिवनारायण चौधरीको घरमा राखिएको २४ थान ६५० एएच ब्याट्री, २० मिटर पावर केबल र २५ मिटर अर्थिङ्ग केबल पुस २३ गते विहान चोरी भएको थियो। घरमा ठूलो मानिस नभएका बेला चौधरीकी नाबालिका छोरीसँग टेलिकमको कर्मचारी हुँ भनेर आरोपितले झुक्याई साँचो मागी चोरी गरेको आरोप छ।
आरोपितले चौधरीका घरमा केही दिनदेखि निगरानी गरेको र घरमा ठूला मानिस नभएको मौका छोपी चोरी गरेर ना.४ ख ७२४६ नम्बरको मिनी ट्रकमा सामान ओसारेका थिए। नाबालिकासँग झुक्याएर साँचो लिएपछि आरोपितले उनलाई कोठामा बन्धक बनाई सामग्रीहरु चोरेको प्रहरीले जनाएको छ।
प्रहरीले सीसीटीभी फुटेज, घरधनी र नेपाल टेलिकमको कर्मचारी भनी प्रस्तुत हुने व्यक्तिको हुलिया लिएर खोजतलाश गर्दा आरोपित पक्राउ परेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी धमलाका अनुसार चोरी गरिएको २४ वटा ब्याट्रीमध्ये जयसवालले १७ वटा ब्याट्री भारततर्फ पठाएको र ७ वटा ब्याट्री दिपक अग्रवाललाई बिक्री गरेका हुन्। अग्रवालको गोदामबाट सात वटा ब्याट्री बरामद भएको छ।