क्याफे गर्ल स्वस्तिमा
काठमाडौं : अभिनेत्री स्वस्तिमा खड्काले नारायण वाग्लेको चर्चित उपन्यास ‘पल्पसा क्याफे’मा आधारित रहेर सोही नाममा तयार भइरहेको नाटकबाट डेब्यु गर्ने भएकी छन्।
नाटकमा पल्पसाको चरित्र अभिनेत्री स्वस्तिमा खड्काले निर्वाह गर्दै छिन्। उनले नाटक गर्न पाए आफ्नो अभिनयको दायरा फराकिलो हुने सोच रहेको र यसै समयमा पल्पसा बन्ने प्रस्ताव आएकाले सहर्ष स्वीकारेको बताइन्।
उनले पाठकको कल्पनामा रहेकी पल्पसालाई न्याय गर्छु भन्ने लागेको र सोहीअनुसार तयारी गरिरहेको बताइन्।
‘अहिले हामी यसको वर्कसप गरिरहेका छौं। यो चरित्रमा धेरै अपेक्षा छ। त्यो अपेक्षा पूरा गर्ने गरी मेहनत गरिरहेकी छु’, उनले भनिन्। यो पुस्तक प्रकाशन भएको १५ वर्ष नाघिसकेको छ। वाग्लेले ‘पल्पसा क्याफे’को सिक्वेल चाहियो भन्ने धेरै पाठक पनि भेटेका छन्। मंगलबार वाग्लेले फेरि एक पटक यो प्रश्नको सामना गर्नु पर्यो, ‘यति सफल किताबको सिक्वेल लेखूँ भन्ने लागेको छैन ?’
वाग्लेको जवाफ थियो, ‘पल्पसा क्याफे मेरो पहिलो प्रेमपत्र हो। पहिलो प्रेमपत्र जुन अनेस्टी र इनोसेन्समा लेखिन्छ त्यो दोहोर्याएर लेख्न सकिन्न किनकि दोस्रो कहिल्यै पहिलो हुन्न।’
‘पल्पसा क्याफे’ चाँडै नै उपन्यासबाट नाटकमा रूपान्तरण हुँदै छ। निर्देशक विमल सुवेदीले यसको नाट्य रूपान्तरण गरिरहेका छन्। यही नाटकको जानकारी दिने कार्यक्रममा उपस्थित हुँदै लेखक वाग्लेले १५ वर्षपछि पनि उपन्यास आलो रहेको बताए।
‘केही दिनअघि नेकपाका नेताले शाकाहारी हैन मांसाहारी आन्दोलन गर्नु पर्यो भनेर भाषणा गर्नुभयो। मांसाहारी आन्दोलनको घाउमा अझै खाटा बसेको छैन’, वाग्लेले भने, ‘यसले पनि उपन्यास अझै सान्दर्भिक छ कि भन्नेजस्तो लाग्यो।’
वाग्लेले यसअघि पनि उपन्यास नाटक वा फिल्मका लागि मागिएको भए पनि दिन मन नलागेको स्मरण गरे। तर, निर्देशक विमल सुवेदीको उद्देश्य र शैलीका बारेमा विश्वस्त भएपछि नाट्य रूपान्तरणका लागि अनुमति दिएको खुलाए।
‘तर, उहाँले स्क्रिप्ट पढ्न दिनुभएको थियो जुन मैले आजसम्म पनि यत्तिकै राखेको छु। नाटकमा जुन पल्पसा आउँछ त्यो निर्देशकको कल्पना हो। मैले पढेँ भने त्यो कल्पनामा खलल पुर्याऊँला भनेर पढिनँ। तपाईंहरूजस्तै म पनि नाटक हेर्न उत्सुक छु’, उनले भने। ‘मकैको अर्कै खेती’, ‘सान्दाजुको महाभारत’, ‘साबिती’ आदि नाटक निर्देशन गरेका विमल सुवेदीले दुई वर्षअघि भएको एउटा निर्देशक वर्कसपमा द्वन्द्वसम्बन्धी नाटक गरेपछि यही विषयले छोएर पल्पसालाई नाट्य रूपान्तरण गर्न कस्सिएको बताए।
थिएटर भिलेजले मण्डला थिएटरसँगको सहकार्यमा निर्माण गरिरहेको नाटक आउँदो चैत वा वैशाखमा मञ्चन गर्ने तयारी छ। कास्टिङ निर्देशक तथा सहायक निर्देशक दिलीप रानाभाटले नाटक सातै प्रदेशमा मञ्चन गर्ने योजना रहेको बताए। नाटकमा स्वस्तिमा खड्कासँगै समापिका गौतम, साजनकुमार सुनुवार, जेनी सुनुवार, दीपेश राई, बच्चु हिमान्सु, रामकृष्ण परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, सुषमा राई, रोशन निरौला र कपिल राईको अभिनय रहनेछ। सुरज सुवेदीले उपन्यासलाई नाटकमा रूपान्तरण गरेका हुन्।