विनम्रता दण्डनीय हुनु हुँदैन
अरूलाई अपमानित गरेर, अशिष्ट व्यवहार गरेर अथवा सानो बनाएर आफूलाई महान् ठान्नु त्यो भूल हो र आत्मरति हो । अरूलाई सम्मान गर्दा आफू पनि सम्मानित भइन्छ । अरूलाई सम्मान गर्दा आफू सानो भइन्छ भन्ने सोच्नु हीनताग्रन्थिको उपजमात्रै हो । आफूभन्दा ठूलालाई सम्मान गर्नु हामी नेपालीको सनातन संस्कार हो । शिष्टता, शालीनता, विनयशीलता, विनम्रता, सहनशीलता र सहिष्णुता हाम्रो जातीय गुण पनि हो । हाम्रो सभ्यता, संस्कृति र संस्कारले नै हामीलाई शिष्ट, शालीन, विनयशील, विनम्र, सहनशील र सहिष्णु बन्न प्रेरित गर्दै आएको छ । हामी यही असल सभ्यता र संस्कारमा जन्मे–हुर्केका नागरिक हौं । त्यसैले शिष्टता, शालीनता, विनयशीलता, विनम्रता, सहनशीलता र सहिष्णुता हाम्रो जन्मजात गुण पनि हो । यसलाई हामी कहिल्यै भुल्न सक्दैनौं र हाम्रो जीवनशैलीबाट यसलाई अलग्याउन पनि सक्दैनौं ।
शिष्टता, शालीनता, विनयशीलता, विनम्रता, सहनशीलता र सहिष्णुताले मानिसलाई महान् बनाउँछ । यी गुण भएका मानिसले जीवनमा कहिल्यै लघुताभासको अनुभूति गर्नुपर्दैन र हीनताबोध पनि गर्नुपर्दैन । विनम्रता आत्मसम्मानको एक विशेष गुण हो । विनम्रताले व्यक्तिको महानतालाई दर्शाउँछ । विनम्रताको अर्थ समर्पण कदापि होइन । त्यसैले कसैका सामु शिर झुकाउनुलाई समर्पणको अर्थमा मात्रै लिनु हुँदैन । त्यसलाई विनयशीलताको उत्तम उदाहरणका रूपमा पनि लिन सक्नुपर्छ । यद्यपि समय र परिस्थितिलाई हेरेर पनि यसलाई अथ्र्याउन सकिन्छ । प्रतिस्पर्धा वा युद्धका बेला प्रतिद्वन्द्वीको सामु शिर झुकाउनुलाई समर्पण भन्न सकिएला । तर दुई समकक्षीबीचको भेटमा एकले अर्कासामु शिर झुकाउनुलाई पनि समर्पणकै रूपमा अथ्र्याउनु उचित होइन । शिर झुकाउनु विनयशीलता हो, विनम्रता हो । अझ समकक्षीमा पनि आफूभन्दा ज्येष्ठ र परिपक्व समकक्षीसामु विनम्रतापूर्वक शिर झुकाएर अभिवादन गर्नु लम्पसार पर्नु होइन, बरु सभ्य र सुसंस्कृत नागरिक हुनुको उदाहरण हो । सभ्य र सुसंस्कृत समाजमा शिष्टता र विनम्रता कहिल्यै र कदापि दण्डनीय हुँदैन र हुन पनि सक्दैन ।
जो असल सभ्यता र असल संस्कारले डोरिएको हुन्छ, ऊ सधैं र सबैसँग शिष्ट र विनम्र हुन्छ र शिष्ट र विनम्र भएरै प्रस्तुत हुन्छ।
यसो त हरेक कुरालाई हेर्ने र बुझ्ने आआफ्नो ढंग हुन्छ । जुन ढंगले हेरिएको छ, त्यसैअनुसारको अर्थ लाग्छ । फूलका आँखामा फूलै संसार काँडाका आँखामा काँडै संसार भने झैं सकारात्मक दृष्टिले हेर्यो भने हरेक कुरा सकारात्मक नै देखिन्छ र नकारात्मक दृष्टिले हर्यो भने हरेक कुरा नकारात्मक नै देखिन्छ । हरेक कुरालाई नकारात्मक दृष्टिले मात्रै हेर्नु दृष्टिदोष हो । नकारात्मक कुरालाई पनि सकारात्मक दृष्टिले हेर्यो भने त्यो सकारात्मक देखिन्छ र अन्ततः त्यो सकारात्मक बन्छ । नकारात्मक दृष्टिले हेर्यो भने सकारात्मक कुरा पनि नकारात्मक बन्छ । संसारका हरेक कुरालाई आआफ्नै ढंगले हेर्ने र आआफ्नै ढंगले व्याख्या गर्ने स्वतन्त्रता सबैलाई छ । तर त्यस्तो स्वतन्त्रताले अरू कसैलाई हानि भने पुर्याउन हुँदैन ।
सन्दर्भ नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी रक्षामन्त्री राजनाथ सिंहसँगको भेटमा झुकेर नमस्कार गर्दैगर्दाको एउटा तस्बिरको हो । यो तस्बिरलाई लिएर विशेषगरी सामाजिक सञ्जालमा अनेकौं टीकाटिप्पणी भइरहेका छन् । नेपालको शिर झुकाएको र भारतसामु आत्मसमर्पण गरेको भन्दै मन्त्री ज्ञवालीप्रति गालीगलौज गर्ने र लाञ्छना लगाउने काम पनि भइरहेका छन् । यद्यपि सभ्यता र संस्कृति के हो भन्ने बुझेका केही बुझ्झकीहरूले भने त्यसलाई नेपालीको सनातन सभ्यता र संस्कारको एउटा नमुनाका रूपमा सकारात्मकरूपमा व्याख्या गरेका छन् ।
उपर्युक्त तस्बिर हेरेर सकारात्मक व्याख्या गर्नेमध्येका एक हुन् ‘महारानी’ उपन्यासका लागि २०७६ सालको मदन पुरस्कार विजेता लेखक चन्द्रप्रकाश बानियाँ । उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘मोदीसँगको भेटमा हाम्रा प्रधानमन्त्रीले देखाएको अशिष्टताको प्रशंसा गर्ने, ओलीको ठाडो शिरमा गौरव गर्ने नेपाली मानसिकतामा यसपटक प्रदीप ज्ञवालीको झुकेको शिर अपमानको प्रतीकजस्तो देखिनु वा बन्नु स्वाभाविक थियो ।’ उनले थप लेखेका छन्, ‘ओहोदाको मात्र होइन, उमेरको पनि मर्यादा हुन्छ । आफूभन्दा पाको मानिससमक्ष विनम्र भाव प्रदर्शन गर्नु प्रशंसनीय हो । यस अर्थमा ज्ञवालीको चेष्टा सराहनीय छ । भारत सरकारको नेपाललाई हेर्ने दृष्टिकोण हेपाहा छ । तर सिंह उमेरका हिसाबले मात्र होइन; राजनीतिक अग्रताका हिसाबले ज्ञवालीभन्दा पाका हुन् । पाका मानिसका अगाडि झुक्नु स्वाभाविक शिष्ट संस्कार हो । ओहोदाको हिसाबले ज्ञवाली सिंहका समकक्षी भए पनि सिंहप्रति आदार भाव प्रदर्शन गर्नु कुनै अर्थमा पनि नराम्रो भन्न मिल्दैन । म त त्यो शिष्टाचार, सभ्यता र विनम्रता प्रदर्शन गरेकोमा ज्ञवालीजीलाई क्याबात भन्न मन पराउँछु । साधुवाद भन्छु ।’
मान्छेहरू कति हतारमा प्रतिक्रिया दिन्छन् र कति आवेशमा दिन्छन् भन्ने पछिल्लो उदाहरण बनेको ज्ञवाली–सिंहबीचको भेटको एउटा तस्बिर । यस्तै विनम्रता परराष्ट्रमन्त्री ज्ञवालीले अरू नै देशको समकक्षीसामु देखाएको भए सायद त्यो त्यति आलोच्य बन्ने थिएन । भारतको नेपालप्रतिको दृष्टिकोण र व्यवहार नै हेपाहा प्रवृत्तिको भएकाले त्यसबाट आजित नेपाली नागरिकबाट हतार र आवेशमा त्यस्तो प्रतिक्रिया आएको मान्न सकिन्छ ।
यसो त कुनै एक सन्दर्भमा नेपालका पृथ्वी सुब्बा गुरुङसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले झुकेर उपहार ग्रहण गरेको तस्बिर पनि सार्वजनिक भएको छ । यसलाई कुन अर्थमा व्याख्या गर्ने त ? के भारत नेपालसँग झुकेको वा भारतले नेपालसामु लम्पसार परेको भनेर व्याख्या गर्ने ? यस्तो सोच्नु वा यसरी बुझ्नु सरासर गलत हो । सभ्य मानिसलाई उसको संस्कारले डोर्याउँछ । जो असल सभ्यता र असल संस्कारले डोरिएको हुन्छ, ऊ सधैं र सबैसँग शिष्ट र विनम्र हुन्छ र शिष्ट र विनम्र भएरै प्रस्तुत हुन्छ । फलेको हाँगो झुकेकै हुन्छ । यो सत्यलाई हामीले कहिल्यै भुल्नु हुँदैन । सभ्यता र संस्कार भुलेको मान्छे असभ्य हुन्छ, असंस्कारी र अहंकारी हुन्छ ।
नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्ना समकक्षी भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई झुकेर अभिभावदन गर्दाको तस्बिरलाई नेपालीले दुई कित्तामा बाँडिएर व्याख्या गरिरहेका छन् । एउटा कित्ता सरकारपक्षीय भएर र अर्को कित्ता प्रतिपक्षी भएर । यसो त सरकार पक्षलाई सरकारले गरेका हरेक कामकुरा सकारात्मक नै लाग्छन् भने प्रतिपक्षीलाई नकारात्मक । यो तस्बिरको सवालमा पनि यही कुरा लागू हुन्छ । एउटा तस्बिरलाई हेरेर राजनीतिक कित्तामा बाँडिएर एउटाले सम्मान र अर्काले समर्पणको अर्थमा व्याख्या गर्नु उचित हुन सक्दैन । दोहोरो अभिभादनका क्रममा शिष्टता र विनम्रताले शिर झुकाइएको एउटा तस्बिरलाई लिएर अति राजनीतीकरण गर्दा त्यो प्रत्युत्पादक पनि बन्न सक्छ । राजनीतिक पार्टीप्रतिको आस्था बिर्सेर एउटा सभ्य र सुसंस्कृत नागरिकको हैसियतमा त्यो तस्बिर हेर्ने र त्यसलाई व्याख्या गर्ने हो भने त्यहाँ समर्पण वा लम्पसारवाद होइन; हाम्रो सभ्यता र संस्कारको प्रतीकको रूपमा पाउनेछौं ।
उपर्युक्त तस्बिर हेरेर राजनीतिक आस्थाका आधारमा पनि व्याख्या गर्ने गरिएको छ । आमसर्वसाधारण मान्छेको दृष्टिकोणबाट यो तस्बिरको कमै व्याख्या भएको छ । आमसर्वसाधारण मान्छेका आँखाले हेर्दा यसलाई शिष्टता, विनम्रता र सम्मानको प्रतीकका रूपमा देख्नेछन् र बुझ्नेछन् । यसो त माथि नै भनिसकियो– आआफ्नै ढंगले हेर्ने र व्याख्या गर्ने स्वतन्त्रता सबैलाई छ । तर त्यो स्वतन्त्रता अरू कसैका लागि हानिकारकचाहिँ बन्नु हुँदैन ।