प्रचण्डले शिल्यानास गरेको पुल ओलीले उद्घाटन गरे
दाङ: लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीस्थित राप्ती नदीमा बनेको देशकै दोस्रो लामो पुलको प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।
जिल्लाका राप्ती र गढवा गाउँपालिका जोड्ने उक्त पुल सोमबार एक विशेष समारोह बीच उद्घाटन गरिएको हो । राप्ती नदीमा एक वर्षअघि निर्माण पूरा भएको उक्त पुलको शिल्यानास भने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७३ मंसिर २२ गते गरेका थिए ।
राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने उक्त पुल करिब एक अर्ब रुपैयाँको लागतमा पुल विभाग सेक्टर नेपालगञ्जले निर्माण गरेको हो । पुलको लम्बाई ८६० मिटर छ भने चौडाइ साढे १० मिटर रहेको पुलको एएनके लुम्बिनी वाइपी जेभी कम्पनीले जनाएको छ।
निर्माण समय भन्दा चार महिना पहिले नै पुलको निर्माण पूरा गरेको कम्पनीले बताएको छ । सोही कम्पनीले यसअघि नेपालकै सबैभन्दा लामो एक हजार १५ मिटरको पुल निर्माण गरेको थियो । जुन बर्दियामा पर्ने गेरुवाको पुल हो ।
पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश अघि बढिसकेको र अब त्यो गतिलाई कसैले पनि रोक्न नसक्ने बताए । उद्घाटनपछि संक्षिप्त मन्तव्यको क्रममा प्रधानमन्त्री ओलीले देशलाई प्रक्रिया र प्रणालीमा लैजान खोज्दा समस्या भएको पनि गुनासो गरे । उनले सुशासन र विकासको प्रत्याभूति दिलाउने गरी सरकारले विकास निर्माणका काम गरिरहेको पनि बताएका छन् ।