शिव र अञ्जु उत्कृष्ट
काठमाडौं : सातौं नेसनल क्यापिटल अवार्ड– २०७७ मा गायक शिव परियार र गायिका अञ्जु पन्तले उत्कृष्ट गायकगायिकाको अवार्ड जितेका छन्। गायक परियारले मेरो भागको खुसी गीतबाट अवार्ड चुमेका थिए भने पन्तले थोपाथोपा आँसुबाट उत्कृष्ट गायिकाको अवार्ड चुमेकी हुन्। त्यसैगरी यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड गीतकार उन्नति शीला बोहोरालाई अर्पण गरियो।
क्यापिटल इन्टरटेनमेन्ट र शुभकामना मिडियाको सहकार्यमा भएको अवार्ड कार्यक्रममा शान्तिप्रियलाई पत्रकारिता रजत सम्मानबाट सम्मानित गरियो भने गीतकार युवराज अधिकारीलाई स्रष्टा सम्मान अर्पण गरियो। गायक छिरिङ भुटियालाई राष्ट्रिय संगीत सम्मान, संगीतकार सन्तोष श्रेष्ठलाई दशकको संगीत सम्मान, च्याङ्बा लामालाई राष्ट्रिय फोटोग्राफी सम्मान, घनश्याम राजकर्णिकारलाई साहित्य सम्मान, पत्रकार दिनेश थापालाई पत्रकारिता पुरस्कार प्रदान गरियो। सर्वोत्कृष्ट भाका लोकदोहोरीतर्फ रामु खड्का (सोझोपन) ले पुरस्कार पाए भने सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक सुगम संगीततर्फ देवेन्द्र पाण्डेले (चट्ट बसम देउरालीमा) अवार्ड पाए।
त्यस्तै लोकदोहोरीतर्फ गायक सञ्जय गुरुङ र गायिका सीता केसीले उत्कृष्ट गायकगायिका लोकदोहोरीतर्फको अवार्ड चुम्न सफल भए। गायक गुरुङले लुकीलुकी गीतबाट अवार्ड चुमे भने गायिका केसीले भाग्यले नि ढाँट्यो गीतबाट अवार्ड चुम्न सफल भइन्। उत्कृष्ट लोकदोहोरी निर्देशक दीप गुरुङ बन्न सफल भए भने उत्कृष्ट कोरियोग्राफर कजिस श्रेष्ठ बन्न सफल भए। उत्कृष्ट लोकदोहोरी शब्द अमृत खातीले चुमे। सुगम संगीततर्फ उत्कृष्ट संगीतकार विकास चौधरी भए भने गीतकारतर्फ हरि उप्रेती उत्कृष्ट बन्न सफल भए। उनीहरूले वल्ली होइन पल्ली गीतबाट अवार्ड चुमेका हुन्। गौतम खाती र श्रेया दुलाल उत्कृष्ट म्युजिक भिडियो मोडल सुगम संगीतर्फको अवार्ड चुम्न सफल भए भने एसके दाहाल र सोनाम गुरुङले उत्कृष्ट मोडल लोकदोहोरीतर्फको अवार्ड चुम्न सफल भए।
राष्ट्रिय भावको गीतर्फ गायक नवीन पौडेलले लेऊ खुकुरी लेउ गीतबाट अवार्ड चुम्न सफल भइन् भने उत्कृष्ट गीतकार रमेश दाहालले ए झन्डा बोलको गीतबाट चुम्न सफल भए ।