नागरिक समाजको प्रदर्शनमा भएको सरकारी दमनप्रति कांग्रेस नेता खाणको आपत्ति
काठमाडौं : नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नागरिक समाजको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी प्रशासनले गरेको बल प्रयोगप्रति आपत्ति जनाएका छन् । सोमबार बालुवाटार नजिकै बृहत नागरिक आन्दोलनको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दै धरपकड गरेको थियो ।
विघटित प्रतिनिधिसभामा कांग्रेसकातर्फबाट प्रमुख सचेतक रहेका नेता खाणले सरकारको असंवैधानिक कदमविरुद्ध जारी शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग नगर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
'सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरूद्धमा नागरिक समाजले गरेको विरोध कार्यक्रममा सरकारको बर्बर दमन र प्रहार निन्दनीय छ,’ नेता खाणले भने, ‘नागरिक समाजलाई सम्मान प्रकट गर्दै सरकारलाई दमन रोक्न ध्यानाकर्षण गराउछु।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशतातर्फको कदम नेपाली जनताले स्वीकार नगर्नेसमेत बताए । प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक विवादलाई देखाएर पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । कांग्रेसले प्रधानमन्त्रीको कदमको विरोध गर्दै सडक आन्दोलन गर्दै आएको छ । साथै अन्य राजनीतिक दल र नागरिक समाज पनि निरन्तर आन्दोलित छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।