शीतलहर सकस : घुर बालेर जोगिने प्रयास
विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका–३ का फेकनी ऋषिदेवको घरका सबै जना मुटु नै कमाउने ठन्डीबाट जोगिन दिनभरि घुर बालेर जीउ तताउँछन्। यतिबेला पूर्वी तराईमा शीतलहर चलेको छ। त्यसमाथि उनको झुप्रो नहरको डिलमा छ। ५५ वर्षीया फेकनीसहित परिवारका ७ जना बिहान ४ बजे नै घुर बालेर बेलुकीसम्मै तापेर बस्छन्। शीतलहरको कठ्यांग्रिने चिसोबाट बच्न न्याना लुगाहरू नभएकाले आफ्नो परिवार घुरकै तातोले मात्र बाँचेको उनी बताउँछिन्।
नहर आसपासको ऐलानी जग्गामा बसेका करिब डेढ सय घरका सुकुम्बासी ऋषिदेवहरूको शीतलहर सुरु भएयताको नियमित दिनचर्या बनेको छ– घुर ताप्नु। कोरोनाकै कारण छोराहरू यस वर्ष भारतमा काम गर्न जान नपाएकाले जाडोबाट जोगिन चाहिने कपडाको अभाव भएको गुनासो उनले गरिन्। छोराहरू कसैले पनि कमाइ गर्न नसकेकाले नहरको डिलमा घुर बालेर जाडो काट्न बाध्य भएको उनको भनाइ छ। त्यही घुर बाल्न चाहिने पराल र भुस पनि उनीहरूसँग छैन। उनका अनुसार पराल र भुस पनि साहुसँग मागेर ल्याउनु परेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार विराटनगरको न्यूनतम तापक्रम १२ दशमलव ४ डिग्री सेल्सियस छ। गएको बिहीबार विराटनगरको न्यूनतम तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियसमा झरेको थियो। शीतलहर सुरू हुनासाथ विराटनगरको तापक्रम झर्न थालेको विभागले जानकारी दिएको छ।
'स–साना नातिनी छन्, घुर नबाले कठ्यांग्रिएरै मर्छन्,' उनले भनिन्, 'खै कसैले हेर्छ र हामीलाई ? कसैले हाम्रो पीरमर्का सुन्दैन।' उनकै छेऊमा बसेका ५० बर्से हरिनारायण ऋषिदेवले भने, 'दुई/तीन परिवार मिलेर घुरमा बसेरै दिन कटाउने गरेका छौं। काम पनि छैन, खान त रिन नै लिनुपर्ने अवस्थामा कहाँ जाने र के गर्ने अन्योलमा छौं हामी।' वडा नम्बर ४ का ६८ वर्षका शान्ति चौधरीले गरिबको दुःख कसैले नहेर्ने गुनासो गरे। 'न्यानो लुगा मात्र दिए पनि हुन्थ्यो,' उनले भने, 'काम गरेर पेट फाल्न नै धौ धौ भएकाले जीउ ढाक्ने ताता लुगा कसरी किन्ने ?'
लखन्तरी चौधरीले पराल जोगाएर राखेकाले चिसोबाट जोगिएको सुनाइन्। मालिक र साहूलाई जति गुहारे पनि लुगा किन्न पैसा नदिएको बताउँदै उनले भनिन्, 'आगो बाल्न पराल दिनसमेत आलटाल गर्छन्। कम्तीमा दाउराको व्यवस्था मिलाइदिए चिसोबाट जोगिन्थ्यौं।'
केही दिनदेखिको हुस्सु र स्याँठले जनजीवन औधी प्रभावित भएको छ । यसबाट सुकुम्बासीलगायत विपन्न वर्ग सबैभन्दा बढी प्रभावित भएका छन् । विराटनगरका विपन्न परिवार जाडो बढेसँगै समस्यामा परेका छन् । जीउ ढाक्ने न्याना कपडा नहुँदा अधिकांश शिशु, बालबालिका र वृद्धवृद्धा शीतलहरको बढी मारमा छन् ।
शीतलहरले बालबच्चा र वृद्धवृद्धालाई सबैभन्दा धेरै गाह्रो भएको विराटनगर रामपुरकी सरु पहरीले बताइन्। छिमेकीसँगै पराल बालेर तापिरहेकी उनले भनिन्, ‘जाडोले धेरै समस्या भएको छ। न्याना कपडा नहुँदा जाडो कसरी कटाउने पिरलो भएको छ।’ उनका अनुसार मुसहर बस्तीका बालबालिकामा सबैभन्दा बढी असर परेको छ । 'आङ तताउने कपडा नहुँदा मुसहर बस्तीका अधिकांशलाई जाडो छल्न कठिन भएको छ,' उनले भनिन्, 'राज्यले राहतको व्यवस्था मिलाउनुपर्ने हो। तर अहिलेसम्म सरकारको ध्यान विपन्नलाई राहत दिनेतर्फ गएको छैन।’
कतिपयले प्लास्टिकजस्ता कुरा बालेर रात कटाउने गरेका छन्। कतिपयले परालको ओछ्यान बनाएर अनि छेऊमा परालै बालेर ज्यानै जोखिममा पारेर रात कटाइरहेका छन्।
ठन्डीले जीवनयापन कष्टकर भइरहेकाले बिहान–बेलुकाको छाक कसरी टार्ने भनेर पिरोलिने गरेको उनीहरूले सुनाए। चुनावमा भोट माग्दा 'यो गर्दिन्छौं, त्यो गर्दिन्छौं' भनेर अनेक बाचा गर्ने नेताले यस्तो समस्याका बेलामा समेत केही थाहै नपाएजस्तो गरेको गुनासो सुकुम्बासी र पिछडिएका समुदायले गरेका छन्।
तराईमा घुर
शीतलहरबाट जोगिने उपाय मात्र नभएर तराईमा घुर आपसमा सूचना आदानप्रदान गर्नेसँगै बुढाबुढीका अनुभव बाँड्ने थलोसमेत रहेको छ। युवा पुस्ता शीतलहरबाट जोगिन घुर ताप्छन्।
घुरको सुरुवात मंसिर शुक्लपक्षमा गरिने लवानदेखि नै गर्ने धार्मिक मान्यता छ। कार्तिक संक्रान्तिमा अविवाहित महिला (नवोदा कन्या)ले गाईको गोबरको चिपडी, घेरा (झिँगा)को फुलसहित आँगनमा गरिने पूजापश्चात् कुलदेवता समक्ष गरिने 'अगनी पूजा' कै दिनदेखि गोठ र दलान (पुरुष बस्ने बैठकी) मा समेत 'घुर' बाल्ने ठाउँमा खाल्टो खनिन्छ । लवानमा आगोमा चढाएपछि नयाँ अन्न ग्रहण गर्ने चलन मधेसमा छ। लवानको दिन गरिने अग्नी पूजाले रोग नलाग्ने र घरमा लक्ष्मीको बास हुने जनविश्वास रहेको पन्डित महेन्द्रनारायण ठाकुरले बताए ।
लवानको बेलुकापखदेखि नै दलानमा गुँइठा, परारको 'घुर' बालेर ताप्ने चलन छ। घुर ताप्नाले वातरस, साइटिका र नसासम्बन्धी रोग नलाग्ने आयुर्वेदमा वर्णन छ। परापूर्वकालमा लुगा (वस्त्र)को कमी रहेकाले घुरले शीतलहरबाट जोगाउने माध्यम समेत बनेको हो। मधेसमा मंसिर पूर्णिमादेखि घरमा चिसो पस्ने भनाइ रहेकाले घरमा गुँइठाको घुर लगाउने गरिन्छ। मिथिलाका विद्धानहरुले घुरमा नै कर्मकाण्ड, वेद, दशकर्म, ढाक वचन लगायतका शिक्षा दिने गरेको बताइन्छ।
घरका मूलीहरुले परिवारका सबैलाई घुर वरिपरि बसाएर खेतीपाती र घरेलु जानकारीका साथै ओखतीमुलोसम्बन्धी चर्चा परिचर्चा गर्थे । मधेसी समाजका अगुवा (जमिन्दार/मुखिया) ले स्थानीय सूचना संकलन गरेर गाउँ समाजमा अर्को दिनका लागि काम पनि घुरमा बसेरै तय गर्थे। घुरमा स्थानीय सबै बुद्धिजीवि, कामदार, गुमस्ता (कम्तिया) भद्रभलादमी बोलाए दिनभरिका कामकाजको समीक्षा र अर्को दिनका काम तथा तय गरिन्थ्यो। घुरमा अगुवाले चिया, बिडी, कंकड, गाँजाको व्यवस्था गरेर गफगाफसँगै हँसीमजाक गर्दै कुराकानी गर्दै आफ्नो स्वार्थ पूरा गर्ने थलोको रुपमा उपयोग गर्ने गरेका थिए। तर यो सबै चलन नयाँ पुस्ता आधुनिक हुँदै जाँदा हराउन थालेको छ। यसैगरि चैतमा पनि घुरको महत्व छ। चैतमा घुर तापे वर्षदिनसम्म वातरोग नलाग्ने जनविश्वास छ।
मिथिला संस्कृतिमा जाडोमा मानिस र गाईवस्तुको सुरक्षार्थ घुर लगाउने गरिन्छ। मधेसमा जीविकोपार्जन गर्ने उपाय कृषि भएकाले जताततै घुर बालेको देख्न सकिन्छ। किसानको घुर गोठमा हुने र फोहोरजन्य वस्तु नार–पुआर, निंहेश, (परालको विभिन्न रुप) गोबर–गुँइठा, सुकेका पात, घरायसी फोहोर बटुलेर घुर जलाउने गरिन्छ । यसले गाईवस्तुलाई समेत जाडोमा न्यानो हुन्छ। खरानी सहित अन्य सडे–गलेका फोहोर खेतमा हाल्दा प्राकृतिक मलको काम गर्ने घुर उपयोगी मानिन्छ। घुरको धुवाँले कीरा फट्यांग्रा, मच्छरलगायतको प्रभाव न्यून हुने भएकाले पनि प्रायः घरमा घुर लगाउने गरिन्छ।
मिथिलामा तिला–सक्रान्तिमा मकर स्नान गरेपछि बालेको घुरले जीउ तताउने प्रचलन छ । कहीँकहीँ वर्षौं तपस्यारत कुनै ऋषिको मनोकांक्षा पूरा नभएपछि उनले अग्निलाई साक्षीँ राखेर (घुर बालेर) तपस्या गर्दा मनोरथ पूरा भएको कथा समेत सुन्न पाइन्छ।
–रामपुरा पलाष्टीकजन्य वस्तुमा घुर ताप्दै स्थानीयहरु । तस्बिर : जितेन्द्र नारायण ठाकुर