एकता चाहन्थे नेता कुँवर

एकता चाहन्थे नेता कुँवर

चितवन : नेकपाको एक खेमाका अध्यक्ष पुष्पकमल दाहाललाई मंगलबार बिहान सम्हालिन गाह्रो भयो। राजनीतिक गुरु मान्दै आएका वामपन्थी नेता खम्बासिंह कुँवरको निधनपछि चितवन आएका दाहाल भावविह्वल थिए। आफ्ना राजनीतिक गुरुलाई श्रद्धाञ्जली दिँदा दाहालका आँखामा आँसु थामिएको थिएन। उनी अवाक् थिए।

कम्युनिस्ट पार्टी एक बनाउन झकझकाउने नेता कुँवरको निधनसँगै अभिभावक गुमाएको भन्दै दाहालले दुःख व्यक्त गरे। ‘कम्युनिस्ट आन्दोलनमा धक्का लागेका बेला उहाँको अवसान निकै पीडादायी भएको छ’, दाहालले भने, ‘शोकलाई शक्तिमा बदल्नुपर्छ भनेझैं लोकतान्त्रिक आन्दोलनका लागि भएको प्रतिगमनको घातक प्रवृत्तिविरुद्ध लड्ने प्रेरणा मिल्छ भन्ने लागेको छ।’ 

नेकपाका केन्द्रीय सल्लाहकार कुँवरको ९४ वर्षको उमेरमा मंगलबार बिहान भरतपुर अस्पतालमा निधन भएको हो। उनलाई मधुमेह, रक्तचाप, प्रोस्टेटको समस्या थियो। उनको मंगलबारै देवघाटमा दाहसंस्कार गरिएको छ। 

खम्बासिंह कुँवर

उनी कम्युनिस्ट राजनीतिमा ‘काजीबा’का नामले परिचित थिए। २०११ सालदेखि कम्युनिस्ट पार्टीमा आबद्ध उनी २०१८ देखि पूर्णकालीन कार्यकर्ता बने। उनले २०२२ सालमा चितवनमा प्रगतिशील पार्टीको सुरुवात गरेका थिए। उनी जीवनको अन्तिम घडीसम्म पनि कम्युनिस्ट पार्टीबीच एकताको पक्षमा उभिए। कम्युनिस्टलाई एक बनाउने उनको सपना थियो।

अन्तरद्वन्द्वले फुटको सिकार बनेको नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक घटनाक्रमका साक्षीसमेत थिए कुँवर। २०३१ सालमा भारतको गोरखपुरमा भएको चौथो महाधिवेशन नेकपा (चौम)मा नौ जना पूर्ण र चार जना वैकल्पिक केन्द्रीय सदस्य चयन भएका थिए। उक्त महाधिवेशनबाट बनेको पाँच सदस्यीय पोलिटब्युरोमा उनी केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य थिए। उनले साबिक नारायणी, गण्डकी र लुम्बिनी अञ्चलको जिम्मेवारीसमेत सम्हालेका थिए।

सशस्त्र द्वन्द्वका बेला कुँवर दाहालका राजनीतिक तथा रणनीतिक सल्लाहकार थिए। दाहालले राजनीतिक उतारचढावमा उनै नेतालाई सम्झिने गर्थे। 

चितवन आउँदा गुरुसँग नभेटी दाहाल फर्किंदैनथे। दाहाल २०३३ सालमा गोरखाको आरुघाटमा पढाउँथे। उनले त्यही बेला मार्क्सवादसम्बन्धी प्रशिक्षण लिएका थिए। नेकपा (चौम)को प्रशिक्षण कार्यक्रममा प्रशिक्षक रहेका तत्कालीन गण्डकी अञ्चल इन्चार्ज कुँवरले दाहाललाई पार्टीको सदस्यता दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.