सप्तरीमा चार हजारलाई खोप लगाउन सुरु
राजविराज : कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षपछि बुधबारबाट सप्तरीसहित देशभर कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै व्यानर पढेर अभियानको शुभारम्भ गरे।
उद्घाटनका क्रममा प्रदेश मन्त्री साहले खोप परीक्षण गरेर ल्याइएकोले सुरक्षित र प्रभावकारी भएको बताए। उनले भने, ‘अरू मुलुकले नपाउँदै हामीले खोप पाएका छौं, डर नमानी ढुक्क भएर खोप लगाउन सकिन्छ।’
सप्तरीमा राजविराजस्थित अस्पताल र रुपनी गाउँपालिकास्थित पूर्व क्षेत्रीय प्रहरी अस्पताल (ठाको देवी–जोगेन्द्र भगत) मा खोप लगाइने छ। पहिलो चरणमा स्वास्थ्यकर्मी र सफाइकर्मीलाई खोप लगाइने योजना छ।
सप्तरीका लागि आएको ८ सय ३३ भायल कोरोना भ्याक्सिनले ३ हजार ७ सय ५४ जनालाई खोप लगाउन सकिने स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए। खोप लगाउनेलाई खोप लगाएको प्रमाणका रूपमा परिचयपत्र वितरण गरिंदैछ। परिचयपत्रमा खोप लगाउने व्यक्तिको नाम, उमेर, ठेगाना, सम्पर्क नम्बर, खोप लगाएको मिति, खोपको नाम, खोपको ब्याच नम्बर तथा खोप लगाइदिने स्वास्थ्यकर्मीको नाम उल्लेख हुन्छ।
अस्पतालका अनुसार खोपको पहिलो डोज लगाएको चार सातापछि दोस्रो पटक लगाउनुपर्ने हुन्छ। दोस्रोपटक खोप लगाउँदा कार्ड अनिवार्य रूपमा पेस गर्नुपर्ने नियम बनाइएको छ।
गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजीतकुमार झाका अनुसार गर्भवती, सुत्केरी, स्तनपान गराइरहेका महिला, गम्भीर विरामी र १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई खोप अभियानमा सहभागी गराइने छैन।
खोप लगाउँदा कसै–कसैलाई जीउ दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, अल्छी लाग्ने, डाबर देखिने, कमजोरी महसुस हुने भए पनि खतरा नरहेको डा. झाले बताए। केही असर देखा परेर औषधि आवश्यक देखिए त्यसका लागि अस्पतालले टिम तयार राखेको छ।
स्वास्थ्यकर्मी, सफाइकर्मीलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारबाट भर्चुअल विधिबाट खोप अभियान सुरु गरेका हुन्। अभियान शुभारम्भ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश वाचन गरेर सुनाइएको थियो।
नेपालमा भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेर तेस्रो चरणको ट्रायलसमेत पार गरेपछि ल्याइएको कोभिशिल्ड खोप प्रयोग गर्न लागिएको हो। अनुदानमा उपलब्ध यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ। पहिलो चरणमा उपलब्ध १० लाख डोज मध्ये प्रदेश १ मा ९६ हजार, प्रदेश २ मा ३४ हजार, बागमतीमा ७६ हजार डोज खोप भण्डारण गरिएको छ। त्यस्तै गण्डकी प्रदेशमा ४० हजार, लुम्बिनीमा ८८ हजार, कर्णालीमा १२ हजार र सुदूरपश्चिममा १६ हजार खोप पुर्याइएको छ।