खोप लगाउने चिकित्कस भन्छन् : दुखाइ र साइड इफेक्ट भएन
परासी : पश्चिम नवलपरासीका चिकित्सकहरुले कोराना भाइरसविरुद्धको खोप लगाउँदा दुखाइ र साइड इफेक्टको महसुस नभएको बताएका छन्। खोप लगाएपछि प्रतिकृया दिंदै पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले खोप लगाउँदा कुनै प्रकारको दुखाइ नभएको र स्वास्थ्यमा समेत कुनै असर नभएको बताए।
उनले खोपप्रति शंका नगरी निर्धक्क भएर खोप लगाउन सुझाव दिए।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एंव सरकारका प्रवक्ता बैजनाथ चौधरीले अस्पताललाई खोपको भाइल दिएर अभियान सुरु गरेका हुन्। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. होदाले खोप लगाएर अभियान सञ्चालन गरेका थिए। पहिलो दिन जिल्ला अस्पतालका चिकित्सकहरुसहित १० जना स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मी र स्वयम् सेविकाहरुले खोप लिएका छन्।
जिल्लामा पहिलो चरणमा २३ सय ८० भाइल खोप आएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेलले बताए। ७ स्थानीय तह रहेको जिल्लामा ११ सय ५० जनालाई खोप लगाइने पोखरेलले जानकारी दिए। पालिकाअनुसार खोप लगाउनका लागि स्वास्थ्य कार्यालयले १० दिनको समय तोकेको छ।