प्रदेश १ मा कोरोनाविरुद्धको खोप अभियान : दुई चिकित्सकले लगाए पहिलो डोज
विराटनगर : प्रदेश १ का १४ वटै जिल्लामा बुधबारदेखि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कार्यक्रम सुरु भएको छ।
संघीय सरकार प्रदेशमा खोप पठाएपछि खोप कार्यक्रम सुरु भएको हो । पहिलो दिन मोरङको कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दास र वरिष्ठ फिजिसियन डा.दिपक सिग्देलले ‘कोभिसिल्ड’ खोपको पहिलो डोज लगाए।
प्रदेश १ का १४ जिल्लाका २५ केन्द्रबाट सुरु भएको खोप कार्यक्रम अन्तरगत २८ हजार ५ सय ६ जना फ्रन्टलाइनरलाई खोप लगाइने जनाइको छ । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीका अनुसार स्वास्थ्यकर्मी, सफाईकर्मी, मृतक संक्रमितको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र एम्बुलेन्स चालकलाई प्राथमिकतामा राखेर खोप लगाइने छ ।
कोसी अस्पताल अन्तरगतकै कोभिड–१९ उपचार केन्द्रमा प्रदेश १ सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन र सामाजिक विकासमन्त्री हिक्मतकुमार कार्कीले खोप कार्यक्रम शुभारम्भ गरेका हुन्।
भारतमा उत्पादित ‘कोभिसिल्ड’ भ्याक्सिनको ९६ हजार डोज प्रदेश१ का लागि पठाएको छ । त्यसलाई प्रदेश १ का १४ र प्रदेश २ का दुई जिल्लाका लागि पठाइएको मन्त्रालयले जनाएको छ ।
खोप कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री कार्कीले प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट कम मानवीय क्षति भएको दाबी गरे । उनले कोरोना माहामारीमा जनताको जीउधन रक्षाका लागि सरकारले आवश्यक सबै प्रयास गरेको दाबी गरे ।
पहिलो खोप लगाएपछि प्रतिक्रिया दिंदै कोसी अस्पतालका मेसु दासले अन्य खोप जस्तै कोरोना भाइरसविरुद्धको खोप लगाउन सकिने अनुभव सुनाए । उनले अन्तर्राष्ट्रियस्तरमा खोप उपलब्ध भएको डेढ महिनाभित्रै आफुहरुले सुरक्षित रुपमा खोप लगाउन पाएकोमा खुशी भएको बताए । महामारीको अन्त्य नहुँदै खोप लगाउन पाएको बरिष्ठ फिजिसियन डा.दिपक सिग्देलले बताए ।
बुधबारदेखि सुरु भएको खोप कार्यक्रम अन्तरगत सुनसरीमा एम्बुलेन्स चालक नारायण मण्डललाई पहिलो खोप लगाएर अभियानको शुभारम्भ गरिएको छ । त्यसैगरी उदयपुरमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीलाई लगाइएको छ ।