यूकेमा बनेको एस्ट्राजेनिका खोप दिन ईयूको माग
युरोपेली संघ ईयूले औषधी कम्पनी एस्ट्राजेनिकालाई यूकेमा रहेको उत्पादन केन्द्रबाट आफूहरूलाई कोरोना खोपको थप मात्रा उपलब्ध गराउन माग गरेको छ ।
एस्ट्राजेनिकाले यो वर्षको पहिलो त्रैमासिकमा यसअघि आफूले बाचा गरेको मात्राको केही अंश मात्र आपूर्ति गर्न सक्ने भन्ने निर्णयले ईयू नेताहरूलाई क्रुद्ध पारेको थियो ।
कम्पनीले युरोपमा रहेका आफ्ना प्लान्टमा समस्या आउनुलाई कारण बताएको छ । तर ईयूले त्यस्तो अभावलाई अन्यत्रको उत्पादनले नै भए पनि पूर्ति गर्नुपर्ने जनाएको छ । खोप दिने काममा भइरहेको ढिलासुस्तीका लागि ईयूभित्रै उक्त क्षेत्रिय सङ्गठनको समेत आलोचना भइरहेको छ ।
ईयू र एस्ट्राजेनिकाबिचको सम्झौता गोप्य राखिनुपर्ने बिषय भनिएतापनि ईयूले एस्ट्राजेनिकाले त्यो सार्वजनिक गर्न सक्ने जनाएको छ ।
विवरणअनुसार सन् २०२१ को ज्यानवरी(मार्च महिनाका लागि ईयूले यसअघि सम्झौता गरेभन्दा ६० प्रतिसत कम डोज खोप पाउने बताइएको थियो । द नेदरल्याण्ड्स र बेल्जियमका उत्पादन केन्द्रमा समस्या आएको भन्दै उक्त कम्पनीले आफूहरू ’दुई महिना ढिलो’ हुने जनाएको हो ।
एस्ट्राजेनिकाको खोपलाई अझै ईयूले मान्यता दिइसकेको छैन तर शुक्रवार इयूको औषधी नियामकले त्यसको लागि बाटो खोलिदिने अपेक्षा गरिएको छ ।
ईयूकी स्वास्थ्य आयुक्त स्टेला किरियाकिअसले एउटा ट्विट गर्दै आपूर्तीको समयसीमामा निरन्तर भइरहेको स्पष्टताको अभावप्रति आफूहरूको खेद रहेको बताएकी हुन् ।