हत्या आरोपमा २३ वर्षपछि कैद
राजविराज : काठको पटाहाको विषयमा भएको विवादमा हत्या भएको २३ वर्षपछि सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–५ बकधुवाका एक दम्पतिलाई कैद तोकिएको छ ।
सप्तरी जिल्ला अदालतले ४६ वर्षीया शान्तिदेवी यादवलाई १० वर्ष र उनका पति ५५ वर्षीय विसुनदेव यादवलाई साढे २ वर्ष कैद सजायको फैसला गरेको हो ।
घटना विवरण अनुसार सापटी दिएको काठको पटाहा फिर्ता माग्न यादव दम्पतिसहित ०५४ भदौ १४ गते ६५ वर्षीया शिवकुमारी यादवको घर गएका थिए । शिवकुमारीले घरमा पुरुष मानिस कोही नभएकाले उनीहरु आएपछि छलफल गर्नु भनिन् । शिवकुमारीका श्रीमान र छोरा विहानै काममा बाहिर निस्किएका थिए ।
आरोपितहरुले पीडितको घर प्रवेश गरी सुत्ने चौकीको काठको पटाहा उखेल्न सँगै ल्याएका मिस्त्रीलाई अह्राए । रोक्न गएकी जेष्ठ नागरिक शिवकुमारीलाई कुटपिट गरी घाँटी थिचेर धकेल्दा उनी ढलिन र घटनास्थलमै मृत्यु भयो । साँझ घर आएका मृतकका छोरा सूर्यनारायण यादवले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा ०५४ भदौ १५ गते उजुरी दिए । शवको पोस्टमार्टम सोही दिन राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भयो ।
आरोपितहरु घटनापछि भारत गएर बसेकाले प्रहरीले पक्राउ गर्न सकेको थिएन । हत्या घटनाको २० वर्ष पुगेकै दिन प्रहरी र सरकारी वकिल कार्यालयले ०७४ भदौ १४ गते जिल्ला अदालतमा अभियोगपत्र दायर गर्यो।
अदालतले ०७४ भदौ १४ गते वारेण्टसहितको म्यादी पूर्जी जारी गरेको एक वर्षपछि ०७५ भदौ ११ गते बिसुनदेब र शान्तिदेबी अदालतमा हाजिर भए । सोही दिन भएको अदालतको आदेशअनुसार बिसुनदेब पुर्पक्षका लागि राजविराज कारागार थुनामा छन् भने शान्तिदेबी ५० हजार रुपियाँ धरौटीमा रिहा भइन् ।
आरोपित विसुनदेबले जिल्ला अदालतको बेरितको आदेश बदर गरी साधारण तारेखमा रिहा गर्न माग गर्दै उच्च अदालत जनकपुर राजविराज इजलाशमा ०७५ असोज १६ गते निवेदन दिए । उच्च अदालतले ०७५ कात्तिक २९ गते जिल्ला अदालतको आदेशलाई नै सदर गर्दै बिसुनदेबको माग अस्विकार गर्यो ।
उता उच्च सरकारी वकिल कार्यालयले धरौटीमा शान्तिदेवीलाई रिहा गर्ने जिल्ला अदालतको आदेश बदर गरी शान्तिदेवीलाई समेत पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै ०७५ मङ्सिर २५ गते उच्च अदालत जनकपुर राजविराज इजलाशमा निवेदन दियो ।
यस निवेदनमा भने उच्च अदालतले ०७५ माघ १० गते शान्तिदेवीलाई समेत पुर्पक्षका लागि थुनामा राख्ने आदेश गर्यो । तर शान्तिदेवी हालसम्म पक्राउ परेकी छैनन् र हाजिर समेत भएकी छैनन् । जिल्ला अदालतले ०७७ पुस २१ गते फरार रहेका महेन्द्रको हकमा मुद्दा मुल्तबीमा राख्ने आदेश गर्नुका साथै बिसुनदेब र शान्तिदेबीका हकमा सजाय निर्धारणका लागि पेश गर्ने आदेश दियो ।
सोही आदेश बमोजिम जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको इजलाशले कारागारमा थुनामा रहेका विसुनदेबलाई साढे २ वर्ष कैद र फरार रहेकी शान्तिदेवीको हकमा १० वर्ष कैद सजायको फैसला गरेको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।