नेकपा फुटेको होइन : ओली

नेकपा फुटेको होइन : ओली

चितवन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको बताएका छन्। केही नेताले छाडेर जाँदा त्यसले पार्टीलाई शुद्धीकरण गरेको प्रधानमन्त्री ओलीको भनाइ छ। ओलीले नेपालको कम्युनिस्ट आन्दोलनका सम्पूर्ण धार एकै ठाउँमा आएर मिसिएको पार्टी नै आफू नेतृत्वको नेकपा रहेको दाबी गरेका छन्।

‘तीन पूर्वप्रधानमन्त्री बुढेसकालमा लौरो टेकेर लाइन लागेर लुखुरलुखुर देशभरि हिँड्नुभएको छ। उहाँहरूको उद्देश्य राम्रो भइदिए हुन्थ्यो, स्वागत गर्न मिल्थ्यो’, ओलीले भने, ‘पार्टी ध्वस्त पार्ने, आन्दोलन सखाप पार्ने र देश बर्बाद पार्ने मनसाय उहाँहरूको छ।’

ओलीले पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले पार्टी ध्वस्त बनाउन लागेको आरोप लगाए। सरकारलाई काम गर्न नदिएपछि निर्वाचनमा जानुको विकल्प नभएको उनको भनाइ थियो। ‘गीतमा भनिएको छः पिलो निचोर्दैमा वजन घटेको हुँदैन’, जीवन शर्माले गाएको गीतको प्रसंग निकाल्दै दाहाल–नेपाल समूहलाई लक्ष्य गरी उनले भने, ‘हामीले होइन, आफैँ निचोरिएर फुत्त निस्केको हो।’

उनले भाषणका क्रममा पटक–पटक दाहाललाई प्रहार गरे। ‘जसका लागि भोट मागेँ, उही नै मणि होइन कुहएिको आलुजस्तो निस्केपछि कहाँबाट मणि बनाउनु ?’, उनले भने, ‘विरोध गर्र्दै खुट्टा तान्दै ठीक भो अनि कहाँबाट मणि बन्छ।’
उनले भगवान् रामको जन्मभूमि नेपाल भन्न नसक्नेहरूले राष्ट्रवादको अभिनय गरेको टिप्पणी गरे। उनले आफू नेतृत्वको सरकारले विकासको काम गर्दा पार्टीको अर्को समूह छटपटाएको आरोप लगाए। उनले तोकिएको समयमा निर्वाचन गराएरै छाड्ने बताए। निर्वाचन हुँदैन कि भनेर शंका नगर्न उनले आग्रह गरे।

उनले भरतपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै पहिलो चरणको वैशाख १७ र दोस्रो चरणको २७ गते नै निर्वाचन हुनेमा विश्वस्त हुन आग्रह गरे। ‘निर्वाचनको घोषणा अलमल्याउनका लागि भनेर कतिपयले भ्रम फिँजाएका छन्। तिनीहरू अलमलिँदै गरुन्। निर्वाचन भनेकै मितिमा हुन्छ। तपाईंहरू ढुक्क हुनुहोस्’, उनले भने। उनले आफूले कुनै गल्ती नगरेको उल्लेख गर्दै घुँडा नटेक्ने स्पष्ट पारे। सरकारले विकासको रफ्तार तीव्र पारेको पनि उनको भनाइ थियो।

गृहमन्त्री रामबहादुर थापाले आत्मालोचना गरेर फर्कन अर्को समूहलाई आग्रह गरे। थापाले माओवादी धारको राजनीतिक शक्तिबाट बाहिर गएर गद्दारी गरेको दाहालको आरोपको खण्डन गर्दै दाहाललाई अवसरवादी नेताको संज्ञा दिए। दाहालले आफू प्रधानमन्त्री हुँदा जनयुद्धका पीडितका लागि केही गर्न नसकेको उनको गुनासो थियो।  ‘अवसरवादीहरूले हामीमाथि आरोप लगाए’, उनले भने, ‘पार्टीमा  फुट गराउने दुस्साहस गर्नुभएको छ, त्यसबाट पछि हट्नुस् र पार्टीमा फेरि फर्किनुस्।’

उनले गल्ती गरी आत्मालोचनासहित पार्टीमा फर्किन आग्रह गरे। भने, ‘आफ्ना कमजोरी स्विकारेर पार्टीमा फर्कनुहोस्, जनता एकता चाहन्छन्।’ उनले दाहाल–नेपाल समूहले अस्थिरता ल्याउन चाहेका बेला त्यसबाट जोगाउन प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए। सहरी विकासमन्त्री प्रभु साहले पार्टीभित्र विखण्डन ल्याउने तत्वहरू बाहिर गएको आरोप लगाए।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले चितवनमा सरकारले ठूला योजना धेरै निर्माण गरिरहेको जानकारी दिएका थिए। प्रधानमन्त्री ओलीले भरतपुरमा निर्माण गर्न लागिएको भरतपुर महानगर सिटी हल र पुल्चोक नारायणगढ ६ लेनको सडक शिलान्यास गरेका थिए। चार बिघा चार कठ्ठामा हल निर्माण गर्न लागिएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने भरतपुरको पुल्चोक–गोन्द्राङ सडकलाई विस्तार गरी ६ लेन बनाउन लागिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.