रामेछापमा ३७६ जनाले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौं : रामेछापमा कोरोना भाइरस संक्रमणविरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने ३७६ जनाले खोप लगाएका छन्। बुधबार स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्ण र जिल्ला अस्पताल रामेछापका प्रमुख डा.रोशन ग्वाछाले संयुक्त रुपमा खोप लगाएर पहिलो चरणको खोप अभियान अगाडि बढाएका थिए।
स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार पहिलो दिन ३९ जना, दोस्रो दिन ९० जना, तेस्रो दिन शुक्रबार १२० जना र चौथो दिन शनिबार १२७ जनाले कोरोना भाइरस संक्रमणविरुद्धको खोप लगाएका हुन्।
रामेछापमा उनीहरुको लागि जिल्ला अस्पताल रामेछाप र स्वास्थ्य कार्यालय रामेछाप खोप केन्द्र निर्धारण गरिएको छ। खोप लगाएकामध्ये कसैलाई पनि नकरात्मक प्रभाव नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
रामेछापमा पहिलो चरणमा कोरोनाविरुद्धको खोप १ हजार ४ सय ७७ जनालाई लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका अनुसार बुधबारदेखि शुक्रबारसम्म मन्थली नगरपालिका र रामेछाप नगरपालिकाकामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, सरसफाइकर्मी र एम्बुलेन्स चालकलाई लगाइएको हो। माघ १७ गतेदेखि १९ गतेसम्म खाँडादेवी गाउँपालिका, सुनापति गाउँपालिका र दोरम्बा गाउँपालिका र माघ २० गतेदेखि २२ गतेसम्म उमाकुण्ड, गोकुलगंगा र लिखु तामाकोशी गाँउपालिकाका स्थास्थ्यकर्मी महिला, स्वास्थ्य स्वंयमसेविका र अन्य लक्षितवर्गलाई निशुल्क खोप लगाइने छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म रामेछाप स्थायी ठेगाना भइ जिल्ला भित्र र बाहिर बसोबास गर्ने ५६८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।