मौखिक निर्णय गरेर उठ्यो मध्यपुर थिमिको कार्यपालिका बैठक

मौखिक निर्णय गरेर उठ्यो मध्यपुर थिमिको कार्यपालिका बैठक

भक्तपुर : करिब ४ महिनापछि आइतबार बसेको भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको कार्यपालिका बैठक मौखिक निर्णय गरेर सकिएको छ । विविधसहित ७ वटा एजेन्डा तोकिएर बोलाइएको बैठकको निर्णय माइन्युटमै उतार्न नपाउँदै सबै सदस्य उठेका हुन् ।

‘बैठकको एजेन्डाअनुसार मौखिक निर्णयमा सहमति गरेका छौं’, नपाका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष राम थापामगरले भने, ‘लिखित रुपमा माइन्युटिङ गरौं र सबैले हस्ताक्षर गरौं भन्ने सुनुवाइ भएन ।’

उनले पछि निर्णय फेरिएर आउन सक्ने भएकाले अहिल्यै माइन्युटमा निर्णय लेखेर हस्ताक्षर गरेरमात्रै बैठकबाट उठौं भन्दा पनि सुनुवाइ नभएको सुनाए ।

‘मौखिक सहमतिअनुसार लिखित निर्णय नआए हामी नोट अफ डिसेन्ट लेख्छौं भनेका छौं’, उनले थपे, ‘प्रमुख प्रशासकीय अधिकृतले त्यस्तो हुँदैन भनेका छन् । भएर आए राम्रो हुँदैन भनेका छौं ।’

बैठक आइतबार बिहान ८ः४५ बजे नगरपालिकाको सभाकक्षमा बोलाइएको थियो तर सारेर दिउँसो ३ः३० बजेमात्रै बैठक बसेको थियो । बैठकमा पहिलो एजेन्डामै नगर प्रमुख मदनसुन्दर श्रेष्ठ र कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुबीच चर्काचर्की भएको थियो । बैठकको पहिलो एजेन्डा ‘योजनाहरुको भुक्तानीबारे’ भन्ने थियो । मेयर श्रेष्ठले मनोमानी रुपमा आफ्नो मान्छे राखेर खडा गरिएको नक्कली उपभोक्ता समितिलाई भुक्तानी दिने भनी निर्णय गराउन खोजेका थिए तर कांग्रेसका वडा अध्यक्षहरुले हिजो यसै विषयमा विवाद हुँदा नपाले ४ महिनासम्म गतिरोध झेल्नुपरेको भन्दै ती नक्कली उपभोक्ता समितिलाई सीधै भुक्तानी दिन नसकिने अडान लिएको प्रवक्ता थापामगरले जानकारी दिए ।

उनका अनुसार कांग्रेसतर्फका कार्यपालिका सदस्यहरुले प्राविधिकसहितको समिति बनाउने र उक्त समितिले दिने प्रतिवेदनको आधारमा भुक्तानी दिने भन्ने निर्णय गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

जुन प्रस्ताव कांग्रेसको तर्फबाट निर्वाचित उपमेयर, ६ जना वडा अध्यक्ष र ८ जना कार्यपालिका सदस्यहरुको बैठकले तय गरेको थियो । पहिले बैठकमै दुई समूहमा विभाजित भएर प्रस्तुत हुने कांग्रेसका जनप्रतिनिधिहरु आइतबार एकैस्वरमा प्रस्तुत भएको बताइन्छ ।

‘तर मेयरले हाम्रो प्रस्तावमा सहमति जनाएनन्’, वडा नं ३ का अध्यक्ष प्रेम कुटुले भने, ‘हामीले हाम्रो प्रस्तावमा अडान लिएपछि मेयरले अर्को बैठकमा नपासँग सम्झौता नभएका योजनाहरुको विवरण प्रस्तुत गर्ने भनेपछि त्यसमा हामीले सहमति जनायौं ।’

उनका अनुसार बैठकमा मेयर श्रेष्ठले नपाको नगरसभाबाट पास गरिएको बजेटमै उल्लेख नगरिएका योजनासमेत सम्पन्न भएको भनी विवरण पेस गरेका थिए ।

त्यस्तै बैठकको पहिलो एजेन्डा भएकाले पहिल्यै त्यस्ता योजनाहरुको विवरण तयार गरिनुपर्नेमा नगरिएको भन्दै कार्यपालिका सदस्यहरुले मेयर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीको आलोचना गरेका थिए ।
मेयर श्रेष्ठले गएको कार्तिक ६ गते बोलाएको कार्यपालिका बैठकमै काम सम्पन्न भएर पनि पूर्वप्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालले भुक्तानी नदिएको भनी ६ वटा योजनाहरु सार्वजनिक गरेका थिए ।

यसरी सार्वजनिक गरिएका योजनाहरुमा वडा नम्बर ५ स्थित ९९ लाख ९१ हजार रुपैयाँको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको तला थप सबैभन्दा बढी बजेटको रहेको छ । रामकाजी श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी नपासँग योजना सञ्चालन सम्झौता नै नगरी उक्त योजना अघि बढाइएको थियो ।
त्यस्तै लुमन श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी ७४ लाख ९० हजार रुपैयाँ बजेटमा वडा नम्बर ८ स्थित बोडे लाय्कु दरबार पुनर्निर्माण योजना रहेको छ । वडा नम्बर ४ मा ६९ लाख ७० हजार रुपैयाँ बजेटको कयाकुता हिटी फल्चा तथा पुखु पुनर्निर्माण, ६२ लाख ४९ हजार रुपैयाँ बजेटको कोरियन अस्पताल अगाडिको सडक सुधार, ४९ लाख २५ हजार रुपैयाँको विष्णुवीर मन्दिर फल्चा पुनर्निर्माण र २५ लाख ८८ हजार रुपैयाँ बजेटको शंखधर पार्कमा रिटेनिङ वाल निर्माण योजना रहेका छन् ।

यी योजनाको उपभोक्ता समितिको अध्यक्षहरुमा क्रमशः कृष्णसुन्दर श्रेष्ठ, विशाल श्रेष्ठ, सुरोज खिमु श्रेष्ठ र रोमन श्रेष्ठ रहेका छन् । तर आइतबारको बैठकमा मेयर श्रेष्ठले यी योजनाको विवरणसमेत अघि नसारेको प्रवक्ता थापामगरले जानकारी दिए ।

‘मेयरज्यूले काम सम्पन्न भएर पनि पहिलेका प्रमुख प्रशासकीय अधिकृतले भुक्तानी रोकेका यी यी योजना हुन भनी सार्वजनिक गरेकै थिए’, उनले भने, ‘तर आइतबारको बैठकमा ती योजनासमेत अघि सारेनन् ।’

उनका अनुसार रिजालले नपासँग सम्झौता नभएका नक्कली उपभोक्ता समिति भनी भुक्तानी रोकेका ६ वटा योजनाको फाइल नयाँ प्रमुख प्रशासकीय अधिकृत पन्थीसामु अघि सारिसकेका छन् । पन्थीले पनि रिजालले जस्तै कार्यपालिका बैठकबाट निर्णय गराएमात्रै आफूले भुक्तानी दिन सकिने भनेपछि मेयर श्रेष्ठले आइतबार ४ महिनापछि कार्यपालिका बैठक बोलाउन लगाएका थिए ।

मेयर श्रेष्ठले कार्यपालिका बैठकबाट सजिलै आफ्ना खल्तीका मान्छेको नक्कली उपभोक्ता समितिलाई भुक्तानी दिने निर्णय गराउन खोजेको तर असफल भएको एक कार्यपालिका सदस्यले सुनाए ।

‘हामीले आइतबारकै मितिमा नपासँग सम्झौता नभए पनि, नपाको बजेटमा उल्लेख नभए पनि ती सबै योजनालाई भुक्तानी दिने बाटो खोल्न प्राविधिकसहितको छानबिन समिति बनाएर जाऔं भन्दा मेयर श्रेष्ठ उल्टै पछि हटे’, ती सदस्यले भने, ‘आजै समिति बनेको भए ती नक्कली उपभोक्ता समितिले छिटोभन्दा छिटो भुक्तानी पाउँथ्यो तर अब अर्को बैठक कहिले हुने टुंगो छैन । मेयरकै कारण ती समितिले ढिलो भुक्तानी पाउने भयो ।’

उपभोक्ता समितिबारे बैठकमा चर्काचर्की भएपछि प्रमुख प्रशासकीय अधिकृत पन्थीले आफूले सम्झौता गरेका उपभोक्ता समितिको योजना र बजेटबारे समेत कार्यपालिका बैठकबाट निर्णय गर्न प्रस्ताव गरेको प्रवक्ता थापामगरले जानकारी दिए ।

हनुमन्ते कोरिडोर निर्माण तत्काल रोक्न माग
बैठकले स्थानीय सरकारको स्वीकृतिविनै अघि बढाइएको हनुमन्ते कोरिडोर निर्माण तत्काल रोक्न माग गरेको छ । प्रहरीप्रशासनको बलमा हनुमन्ते खोला फर्काएर निर्माण अघि बढाएको कोरिडोर सडक तत्काल रोक्न सम्बन्धित निकायमा पत्राचार गर्ने बैठकले निर्णय गरेको हो ।

प्रवक्ता थापामगरले हनुमन्ते खोला जग्गा एकीकरण आयोजनको डीपीआर पास गरी जनताको अधिकारको सुनिश्चिततापश्चात मात्र हनुमन्ते खोला करिडोर निर्माण कार्य गर्न र नगरेसम्म निर्माण कार्य तत्काल रोक्का गर्ने भनी बैठकले निर्णय गरेको जानकारी दिए ।

त्यस्तै बहाखाबजार र निकोसेरा क्षेत्रको सडक विस्तार पनि तुरून्त रोक्का गरी स्थानीय सरकारसँग समन्वय गरी आवश्यक मुआब्जा र क्षतिपूर्तिविना कार्य अगाडि नबढाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरिएको उनको भनाइ छ ।

निकोसेरा बहाखाबजार क्षेत्रमा सडक विस्तारको नाउँमा ठेकेदारले स्थानीयको घरमा डोजर चलाउन थालेपछि अहिले पीडित स्थानीय आन्दोलित भएका छन् । त्यस्तै जबरजस्ती हनुमन्ते खोला फर्काएर कोरिडोर निर्माण गरिएपछि सयौं स्थानीयको जग्गा खोसिएको भन्दै उनीहरु पनि आन्दोलित छन् । सडक विस्तार र हनुमन्ते कोरिडोर निर्माणमा मेयर श्रेष्ठको स्वीकृति भएको भन्दै स्थानीयको नेतृत्व गर्दै नेपाली कांग्रेस मध्यपुर नगर समितिले प्रमुख जिल्ला अधिकारीलाई माघ १४ गते ज्ञापनपत्रसमेत बुझाएको थियो । त्यसको असरस्वरुप आइतबार बसेको कार्यपालिका बैठकले ती दुइटै योजना रोक्न बैठकले माग गर्ने निर्णय गरिएको हो ।

बैठकले नगरपालिकाको बस्ती विकास तथा जग्गा एकीकरण ऐन २०७७ अनुसार गठन भएको समितिमा ४ जना सदस्य मनोनयन गर्ने निर्णय गरेको छ । जसअनुसार उक्त समितिमा नगर कार्यपालिका सदस्य अरूणा कारञ्जित, नगर सभा सदस्य रत्न कुमाल र रामकेशरी श्रेष्ठ तथा स्थानीय क्षेत्रको विकास निर्माणमा योगदान पु¥याउने समाजसेवीको तर्फबाट गणेशमान चक्रधरलाई सदस्य मनोनयन गरिएको छ । चक्रधर नेपाली कांग्रेस भक्तपुरका पूर्वजिल्ला सभापति हुन् । त्यस्तै प्रदेशसभा सदस्य निर्वाचनमा उनी मध्यपुर क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवारसमेत हुन् । उनलाई पराजित गर्दै नेकपाका राजेन्द्रमान श्रेष्ठ प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

बैठकले कोरोना भाइरस संक्रमण तथा व्यवस्थापनका क्रममा मध्यपुर थिमि क्षेत्रमा नवदुर्गा नाच सञ्चालन रोकिन गएकाले क्षमापूज गर्ने निर्णय गरेको छ । उक्त पूजाको लागि एक लाख २५ हजार रुपैयाँ बजेट छुट्याउने मौखिक सहमति भएको प्रवक्ता थापामगरले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.