कोरोनामाथि विजयको आशा
नेपाल सरकारले गत बुधबारदेखि देशभर एकैसाथ कोरोना उपचारमा खटिएका फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई कोरोनाविरुद्धका खोप ‘कोभिडसिल्ड’ दिन सुरु गरेको छ। यसै सन्दर्भमा वरिष्ठ मानसिक रोगविशेषज्ञ डा. नवराज कोइराला आफ्नो फेसबुक वालमा लेख्छन्, ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छो बाउको अनुहार भनेकै यो कोभिडसिल्ड भ्याक्सिन हो कि क्या हो ? साह्रै द्विविधामा परियो लगाऊँ कि नलगाऊँ ?’ धेरै स्वास्थ्यकर्मीलाई यस्तो द्विविधा भएको थियो। फ्रन्टलाइनमा काम गरेर कोरोना संक्रमण भई निको भइसकेका स्वास्थ्यकर्मीलाई पनि कोभिडसिल्ड लगाऊँ कि नलगाऊँ भयो। यस्तो डर र द्विविधामा पनि बेलायतको अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा भारतको सेरम इन्स्टिच्युट्स अफ इन्डियाले उत्पादन गरेको कोभिडसिल्ड पहिलो दिनमै नौ हजार ८४ स्वास्थ्यकर्मीले लगाएका छन्।
औषधिको विकास र प्रयोग हुन थालेपछि छोटो समयमा संसारलाई त्रासित र पीडित बनाएको कोरोनामाथि विजय पाइन्छ कि भन्ने आशा जागेको छ।
खोप उत्पादनका लागि निकै समय खर्चिनुपर्छ। इतिहासमै सम्भवतः सबैभन्दा चाँडो अर्थात् करिब एक वर्षमै कोरोनाको विरुद्धमा विभिन्न खोप उत्पादन भएका छन्। कोरोनाविरुद्धका खोपहरूमध्ये कोभिडसिल्ड सबैभन्दा सस्तो र सामान्य फ्रिजमै भण्डारण गर्न सकिने खोप हो। त्यसैले यो कम आय भएका मुलुकमा बढी प्रयोगमा आउने विश्वास लिइएको छ। सस्तो भए पनि यो ६२ देखि ९० (औसतमा ७०) प्रतिशत प्रभावकारी रहेको छ। सबैभन्दा महँगो फाइजर तथा मोडर्ना कम्पनीका खोप भने ९५ प्रतिशत रहे पनि सो भण्डारण गर्न माइनस ७० डिग्री सेन्टिग्रेट चाहिने भएकाले हाम्रोजस्तो मुलुकमा भण्डारदेखि नै अप्ठ्यारो हुने अनुमान गरिएको छ।
कुनै पनि खोपले हाम्रो शरीरको सो रोगविरुद्धको प्रतिरोधात्मक शक्तिको विकास गर्ने हुन्छ र फलतः सो रोगले संक्रमण गर्न नसक्ने हुन्छ। खोपमा सम्बन्धित रोगकै जीवाणु वा जीवाणुका कण सीमित मात्रामा प्रयोग गरिएको हुन्छ, जसले मानिसको सो रोगविरुद्धमा एन्टिबडी बनाउन मद्दत गर्छ तर संक्रमण गर्न सक्दैन। त्यसैले यो खोप लगाए कोरोनाको संक्रमण वा अझ खतरा संक्रमण हुन्छ भन्ने त्रास रहेको थियो। कोरोनाका खोप नयाँ रहेको तथा यस खोपको अध्ययनको एक वर्ष पनि भइनसकेकाले खोप लगाउन धेरैलाई डर हुनु स्वाभाविक थियो। कतिले त नेपाललाई भारतले फ्रीमा दिएको परीक्षणका लागि होला भन्ने पनि अनुमान गरेका थिए। तर धेरैलाई यसमा विश्वास रहेको देखियो।
धेरै चिकित्सकले खोप लगाउन पाएकोमा भाग्यमानी महसुस गरेको सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका छन्। वरिष्ठ चिकित्सकहरूले खोप लगाएका तस्बिर सामाजिक सञ्जालमा देखिन थाले। कति स्वास्थ्यकर्मी यिनै खोप लगाएका तस्बिरबाट पनि प्रभावित भए। आफ्नो तस्बिर सामाजिक सञ्जालमा राख्नाले दोस्रो दिनदेखि खोप लगाउनेको संख्यामा उल्लेखनीय वृद्धि भएको देखिन्छ। कोशी कोभिड अस्पतालमा रहेको खोप केन्द्रमा पहिलो दिन एक सय १० जनाले मात्र खोप लगाएका थिए भने तेस्रो दिन खोप लगाउनेको संख्या तीन सय ८० पुगेको विषयले यो कुराको पुष्टि गर्छ।
सामान्यतः जुनसुकै खोपले पनि हाम्रो रोगप्रतिरोधात्मक प्रणालीमा काम गर्ने भएकाले तत्कालै केही असर देखा पर्छ। बच्चालाई पनि खोप दिँदा ज्वरो आएको, धेरै रोएको, सुई दिएको ठाउँ रातो डल्लो परेको देखेका छौं। त्यस्तै कोभिडसिल्ड लगाएपछि पनि केही असर देखिनु स्वाभाविक हो। यो खोप लगाएपछि करिब १० प्रतिशतलाई हात, टाउको दुख्ने, जाडो भएर ज्वरो आउने, जीउ दुख्ने, आलस्य हुने लक्षण देखिन सक्छ भन्ने थियो।
मोरङ स्वास्थ्य कार्यालय प्रमुख सुरेश मेहताले तीन दिनमा मोरङमा मात्र दुई हजारभन्दा बढीले यो खोप लगाए पनि कसैलाई गाह्रो भएको जानकारी नरहेको बताए। ‘केहीलाई सामान्य असर पारेको छ, तर सिभियर रियाक्सन भएको छैन’ मेहताले बताए। खोप लगाएको ९–१० घन्टापछि बेस्कन टाउको र जीउ दुखेर गाह्रो बनाएको केही चिकित्सकले बताएका छन्। कति चिकित्सकले यस्तो हुन सक्ने अनुमान रहेकाले पहिल्यै पारासिटामोल औषधि सेवन गरेको र अरूलाई पनि त्यसो गर्न सामाजिक सञ्जालमै सुझाव दिएका छन्। खोप उत्पादक सेरम इन्डियाले केहीलाई पेट दुख्न सक्ने, पसिना आउने, भोक नलाग्नेजस्ता असर पनि देखिन सक्ने भने पनि त्यस्तो अहिलेसम्म नेपालमा कसैमा देखिएको छैन।
खोपको असर सामान्य रहे पनि गर्भवती, बच्चा, दूध खुवाउँदै गरेकी आमा र १८ वर्ष पार नगरेकालाई यो खोप लगाइएको छैन। कोभिडसिल्डले गर्भवती वा बच्चालाई असर गर्छ भनेर नलगाएको चाहिँ होइन। यस कोभिडसिल्ड खोपको अध्ययन गर्भवती तथा बालबालिकामा नगरिएकाले उनीहरूमा लगाउने अनुमति नपाएको हो। त्यसैले गर्भको योजनामा रहेका महिलाले यो लगाउन कुनै वाधा नहुने विश्वास गरिएको छ। त्यस्तै कोरोना संक्रमण भएको बेला यो खोप लगाउन मिल्दैन। यस्ता संक्रमितले पीसीआर नेगेटिभ भएको दुई महिनापछि मात्र खोप लगाउन मिल्छ। त्यस्तै कुनै किसिमका रगतका ‘बिलिडिङ डिस्अडर’ का बिमारीले कोभिडसिल्ड खोप लगाउन मिल्दैन। तर अन्य दीर्घरोगी जस्तै– मुटु, मधुमेह, मिर्गौला रोगी तथा एचआईभी संक्रमितले समेत कोभिडसिल्ड खोप लगाउन मिल्ने बताएको छ।
औषधिको विकास र प्रयोग हुन थालेपछि छोटो समयमा संसारलाई त्रासित र पीडित बनाएको कोरोनामाथि विजय पाइन्छ कि भन्ने आशा जागेको छ। यसको उत्पादनको तीव्र रहेकाले सबैलाई खोप लगाउन सकिने र चाडै कोभिडपूर्वको संसारमा फर्किने कल्पना धेरैले गर्न थालेका छन्। कोभिडसिल्ड सबै द्विविधा चिर्न सफल देखिएको छ।