जनताबाट नवीकरण हुन डराउनेले निर्वाचन हुन नदिने षडयन्त्र गर्दैछन् : उपप्रधानमन्त्री पोखरेल
नुवाकोट : देशमा ताजा जनादेशमा गएर जनताबाट अनुमोदन हुनु नै अग्रगमन रहेको सरकारका उपप्रधानमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य इश्वर पोखरेलले बताएका छन्। ताजा जनादेशमा जानु कुनै अपराध नभएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले जनताबाट नवीकरण हुन डराउनेहरुले देशमा निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाएका छन्।
नुवाकोटको विदुरमा सोमबार नेकपाको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले अर्काको मेहनतबाट फल खान खप्पिस भएकाहरुले देशमा चुनाव हुँदैन भनेर अपवाह फैलाइरहेको बताए। उनले जनतासामु ताजा जनादेशमा जानु नै अहिले उत्तम विकल्प भएको उल्लेख गर्दै देशमा स्थायी शान्ति र सम्वृद्धिका लागि नयाँ निर्वाचन हुनै पर्ने बताए।
उपप्रधानमन्त्री पोखरेलले देशमा प्रतिगमनका नारा रटान गरिरहेका र निर्वाचन नचाहने पक्षले निर्वाचन आयोगलाई निर्वाचन नगर्न धम्की दिइरहेको बताएका छन्। उपप्रधानमन्त्री पोखरेलले निर्वाचित प्रधानमन्त्रिलाई घेराबन्दीमा पारेर अर्काको मृत्युमा आफ्नो खुसी देख्नेहरुले गम्भीर आरोप लगाएपछि देशमा निर्वाचन मिति तोक्नु परेको धारणा राखे।
पोखरेलले तोकिएको समयमा नै प्रतिनिधिसभा निर्वाचन हुने दावी गरे। उनले भने, ‘तोकिएको समयमा निर्वाचन नहोस् भन्ने पक्षले चलाएको हल्लाको पछि लाग्नु हुँदैन। दल दर्ता, निर्वाचन कार्यक्रम सञ्चालन नगर भनिरहेका छन्। तर, देशमा निर्वाचन भएरै छाड्छ। निर्वाचनसँग डराउनेहरुको गलत दबाव र धम्कीले निर्वाचन रोकिँदैन।’
मुलुकलाई अस्थिरता र प्रतिक्रान्तितिर लैजाने षड्यन्त्र रोकेर मुलुकलाई स्थायित्व दिनका लागि निर्वाचन गर्न लागिएको स्पष्ट पार्दै नेकपा सचिवालय सदस्य पोखरेलले अदालतले गरेको निर्णयलाई स्वीकारिने बताए।
देश विकासको पुर्वाधारको तयार, स्थायी शान्ति, संविधानको कार्यान्वयन नेकपा अध्यक्ष तथा प्रधानमन्त्रि केपी शर्माओलीको नेतृत्वमना रहेको सरकारले गरेको पोखरेलले दावी गरे। उनले सडकमा नाराजुलुस नगरी नयाँ निर्वाचनमा गएर विजयी हुन आन्दोलनरत पक्षलाई चेतावनी दिए।
पुष्पकमल दाहाल 'प्रचण्ड'बाट देश, सरकार तथा नेकपाले धोका पाएका कारण देश चुनावमा जानुपर्ने स्थितिमा पुगेको उनको ठहर छ। विविध वखेडा र बहाना झिकेर प्रचण्डले देशमा अस्थिरता निम्त्याउने काम मात्रै गरेको र उनको गलत गतिविधिमा नेकपाकै केहि वरिष्ठ नेताहरुले साथ दिएको पोखरेलको आरोप छ।
नेकपाका नेताहरु प्रचण्डको मोहरामात्रै भएको दावी गर्दै पोखरेलले आधार, विधि तथा विधान विपरितका गतिविधि गर्दैमा नेकपाको साख नगिर्ने र अब केपी शर्मा ओलीले नेतृत्व गरेको दल नै आधिकारिक हुने र सोही दलले चुनाव चिन्ह सुर्य प्राप्त गर्ने पोखरेलले वताए। उनले भने,'देशमा स्थायी शान्ति, विकास तथा सुशासन पहिलो प्राथमिकता रहेको कारण यस अभियानमा सरकार नेकपालाई साथ दिन बाटो बिराएकाहरुलाई आव्हान गर्दछु।'
कार्यक्रममा नेकपाका नेता तथा वाणिज्य, उद्योग तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टी नेतृत्वलाई प्रतिक्रान्तिबाट बचाउनका लागि नै नयाँ जनादेश प्राप्त गर्न निर्वाचनमा जानुपरेको बताए। उनले प्रचण्डलाई धोकेवाजको संज्ञा दिदै ४० वर्ष साथ दिएको प्रचण्डले पछिल्लो समय गलत बाटो हिडेका कारण सँगै हिड्न नसकेको खुलासा गरे।
लामो समय मैले अध्यक्ष प्रचण्डको जायज नाजायज सबै कार्यमा साथ र समर्थन दिए, अहिले उहाँले पार्टी र देशलाई अस्थिरतातर्फ लैजाने कार्य गरेपछि साथ दिन छाडेको तर्क गरे। साथ छाडेपछि गोप्यता खुल्ने त्रासमा उनले आफुमाथि अनेक आरोप तथा षडयन्त्रहरु लगाउन थालेको पनि मन्त्रि भट्टले बताए।
निर्वाचनको तयारीमा जुट्न कर्मचारीलाई निर्देशन
नुवाकोटको विदुरमा कर्मचारीहरुलाई निर्देशन दिँदै सरकारका उपप्रधानमन्त्री इश्वर पोखरेलले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्। सरकारले ताजा जनादेशमा जानका लागि घोषित मितिमै निर्वाचन गर्ने तयारी गरेको कारण निर्वाचनको विशेष तयारी थाल्न पोखरेलले जिल्ला प्रशासन कार्यालय विदुरमा आयोजित कर्मचारीसँगको अन्र्तक्रियामा कार्यालयका प्रमुख तथा कर्मचारीहरुलाई निर्देशन दिए।
उपप्रधानमन्त्री पोखरेलले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक काम गर्न कर्मचारीहरुलाई विशेष निर्देशन दिए। निर्वाचनवाटै देशमा नयां सरकारको मार्ग प्रशस्त हुने भएका कारण निर्वाचन अपरिहार्य रहेको उपप्रधानमन्त्रि पोखरेलले वताए।
कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जिल्लाको वस्तुस्थिति र समस्याका बारेमा जानकारी गराएका थिए। उनले निर्वाचनको तयारीमा जुट्न कार्यालयका प्रमुख तथा कर्मचारीहरुलाई सचेत गराए।
मन्त्रीलाई कालोझण्डा प्रदर्शन
नुवाकोटमा पुगेका उपप्रधानमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य पोखरेलसहितको टोलीलाई वट्टारबजारमा कालोझण्डा देखाइएको छ। सोही क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ।
मन्त्रीको बाटो छेकेर कालोझण्डा देखाएर सकडमै आएपछि प्रहरीले लाठीचार्जसमेत गरेको छ। प्रदर्शनकारीको प्रहारबाट एउटा सरकारी गाडीमा तोडफोड भएको छ।
झडपको स्थिति सिर्जना भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गर्नु परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। वट्टारस्थित नुवाकोट आदर्श बहुमुखि कयाम्पस अगाडि उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्रि लेखराज भट्टका स्वकिय सचिव मीनवहादुर सिहं चढेको बा१ञ २१३७ नम्बरको गाडीको पछाडिको भागको सिसा फोडिदिएका छन्।
कालोझण्डा देखाउने क्रममा नुवाकोटमा नेकपा ओली समूह र ‘प्रचण्ड’–माधव कुमार नेपाल समूहबीच झडपसमेत भएको हो। झडपलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नु परेको नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक तुलहवादुर कार्कीले जानकारी दिए।
प्रदर्शनीकारीमध्ये ५ जना कार्यकर्ता सामान्य घाइते भएका छन्। नेकपाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न उपप्रधानमन्त्री इश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, प्रधानमन्त्रीका सल्लाहकार बिष्णु रिमाललगायतका नेता नुवाकोट पुगेपछि प्रदलर्शनकारीले कालोझण्डा देखाउनुका साथै गाडीमाथि ढुंगा प्रहार गरेका हुन्।