पूर्वलडाकुका सपना अधुरै

पूर्वलडाकुका सपना अधुरै

चितवन  : गरिब र सोझा जनताको लागि शासन आउँछ भनेर रोल्पाका करन आग्री तत्कालीन नेकपा माओवादीको सशस्त्र युद्धमा होमिए। आठ वर्षको भूमिगत समयमा उनले २७ वटा लडाइँको सामना गरे। 

माओवादी द्वन्द्वको ठूला आक्रमणका साक्षी हुन् उनी। लडाइँमा सँगै भएका साथीहरूले ज्यान गुमाए। आफ्नै साथी आँखा अगाडि लडाइँमा ढलेपछि आग्रीसँगै सुतेका साथीलाई पनि छोड्न बाध्य भए। उनकै गाउँका ९ जनाले ज्यान गुमाए। अहिले साधारण जीवन बिताइरहेका आग्री पुराना दिन सम्झेर निरास हुन्छन्। 

जनयुद्धमा होमिने बेला उनले सोचेका सपना अधुरा छन्। ‘हामीले नलडेको भए गणतन्त्र आउँदैनथ्यो तर जति सोचेका थियौ त्यो पूरा भएन’, उनले भने, ‘गरिबीको अन्त्य, सर्वहारा वर्गको मुक्ति दिलाउने कुरा पुरा भएनन्।’ फेरिएको शासन व्यवस्था र नफेरिएको शैली उनलाई पटक्कै चित्त बुझ्दैन। नेताहरूको कार्यशैली र सत्ता सञ्चालनको खिचातानीले आग्री दिक्क छन्। शान्ति सम्झौताको १४ वर्ष पूरा भए पनि उनी पछिल्लो राजनैतिक अवस्थाप्रति असन्तुष्ट छन्। 

कांग्रेस पृष्ठभूमिको परिवारमा हुर्किएका आग्री आफ्ना मामाको कारण माओवादीमा लागे। साम्यवाद शासन, गरिबीको अन्त्य, सर्वहारा वर्गको मुक्ति हुने आश्वासन पाएपछि उनी लडाइँमा होमिए। तर आफूले गरेको त्याग र बलिदानको मूल्यांकन नभएको आग्रीको गुनासो छ। ‘हिजो परिवर्तनका लागि लडेकाहरूलाई कसले संरक्षण गर्ने ?’ उनले भने ‘यसमा नेताहरू चुके।’ उनको शरीरमा बमका छर्रा छन्। यसले उनलाई शारीरिक समस्या दिन्छ। चिसो मौसममा उनलाई बढी गाह्रो बनाउँछ। 

त्योभन्दा बढी मुलुकको राजनैतिक अवस्थाले आग्रीलाई चिन्ता थलेको छ। १५ वर्षको उमेरमा उनी भूमिगत भए। अहिले जीवन गुजारामै समस्या छ। उनका कतिपय साथीहरूले घाइते जीवन बिताइरहेका छन्, कतिपय बिरामी छन्। उनीहरूको बेवास्ता भएको आग्रीले दुःखेसो गरे। शान्ति सम्झौतापछिको सेना समायोजन हुनुअघि उनी तेस्रो डिभिजनमा बटालियन कमान्डर थिए। 

स्वेच्छिक अवकाशपछि पाएको रकमले चितवनको कालिका नगरपालिका–६ मा जग्गा किनेर घर बनाएका छन्। अरू जग्गा भाडामा लिएर तरकारी लगाएका छन्। अहिले जीवन गुजारामै समस्या भएकाले ज्याला मजदुरी गर्छन्। श्रीमती एक छोराछोरीसहितको परिवार छ। आग्रीकी श्रीमती अस्मिता नगरकोटी पनि पूर्वलडाकु हुन्। उनी पनि थोरै समयमा धेरै लडाइँमा होमिनेमा पर्छिन्। ‘हिजोको लडाइँ सम्झिँदा आफैंलाई कहानी लाग्छ, अहिले घर न घाटको भइयो’, नगरकोटीले भनिन्, ‘संसार फेर्ने भनेर हिँडेको केही बदलिएन। नेतालाई भयो जनतालाई केही भएन।’ 

माओवादी सशस्त्र युद्धको क्रममा कैयांै यातना भोगेका जुटपानीका पीताम्बर पौडेल अहिलेको शासन शैलीप्रति आक्रोशित छन्। जीवनभर राजनीतिमा लाग्न हिँडेका उनी अहिले अटो चलाएर बस्छन्। नेताहरूबाट धोका भएको पौडेलले बताए। उनले करिब चार वर्ष जेल जीवन बिताए। ‘त्यसबेलाको यातना सम्झिँदा आङ सिरिङ्ग हुने बताउँदै पौडेल भन्छन्, ‘देश र जनताको परिवर्तनका लागि धेरैले रगतको बलिदान गरे तर आंशिक मात्रै पूरा भयो’, ‘जे सोचेर जनयुद्ध लडियो त्यसलाई अपूर्ण बनाएर नेताहरूले धोका दिए। कागजी गणतन्त्र त आयो, तर जनताको व्यवस्था आएन।’  

इच्छाकामना¬–७ भालुमाराका गुणराज चेपाङ पनि विगतको आफ्नो लडाइँ खेर गएको दुःखेसो गर्छन्। युद्धमा होमिएर गरेको त्यागको मूल्यांकन नभएको उनको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.