भारतबाट बिरुवा ल्याएर हाइब्रीड ड्रागन फ्रुट खेती
झापा: ‘नेपालमा पहिलो पटक’ हाइब्रीड जातको ड्रागन फ्रुटको खेती झापाको मेचीनगरमा सुरु भएको छ । मेचीनगर १० स्थित नागडुब्बामा करिब १५ कट्ठा जग्गामा स्थानीय भावना अधिकारीले हाइब्रीड जातको ड्रागन फुडको खेती सुरु गरेकी छन् ।
अहिलेसम्म नेपालमा लोकल जातको ड्रागन फुड मात्र लगाइँदै आएको थियो । भारतको हैदराबादबाट हाइब्रीड जातको विरुवा ल्याएर भावनाले खेती गरेकी हुन् ।
भावनाले अन्नपूर्णसँग भनिन्, ‘यो विरुवा भारतको हैदराबादस्थित डेकन एक्जोटिक्सले उत्पादन गरेको सी भेराइटीको उन्नत जातको ड्रागन फ्रुटको बिरुवा हो ।’
नेपालमा उन्नत जातको ड्रागन फुड पहिलोपटक आफूले नै नलगाएको उनले दाबी गरिन् । तीन बिघा जग्गा ड्रागन फुड खेतीका लागि छुट्ट्याएकी छन् उनले । भावनाले पहिलो चरणमा १५ कठ्ठामा ३ हजार विरुवाबाट खेती सुरु गरेकी हुन् ।
‘एकै पटक तीन बिघा क्षेत्रफलमा ड्रागन फुडको खेती गर्ने सोच थियो तर उन्नत जातको बिरुवा पाउनै मुस्किल रहेछ । निकै दुख गरेर बिरुवा ल्यायौँ,’ अधिकारीले भनिन्, ‘भारतमा आसामको २ ठाउँमा यो जातको बिरुवा लगाइएको छ । नेपालमा हामीले ३ हजार बिरुवा पायौँ ।’
न्यूनतम २ डिग्री तथा अधिकतम ५५ डिग्री सेल्सीयस तापक्रम हुने स्थानमा लगाउन सकिने उन्नत जातको ड्रागन फुड नेपालको मध्य पहाडी जिल्लाहरुमा सम्भावना रहेको भावनाका पति तथा नेपाल प्रहरीका प्रहरी उपरीक्षकसमेत रहेका दीपक पोख्रेलले जानकारी दिए ।
हैदरावादबाट नेपालसम्म ल्याउन प्रतिविरुवा करिब तीन सय रुपैयाँ परेको उनले सुनाए । ‘बिरुवा खरिदमा मात्र ९ लाख लगानी भयो’, पोख्रेलले भने, ‘अन्य खेती लगाउँदा भन्दा केही खर्चिलो हुन्छ । नेपालको हावा पानीलाई सुहाउने भएको हुनाले नेपाली कृषकहरुको यसमा भविष्य देखिन्छ ।’
ड्रागन फुडका लागि सिमेन्टको पिलर अनिवार्य जस्तै भएकाले पिलर र जमिन तयार गर्दा उनीहरुले केही खर्च गरेका छन् । यसका लागि उनीहरुले विरुवा र लगाउँदासम्म करिब २५ लाख रुपैयाँ खर्च गरेका छन् । भावनाले भनिन्, ‘जग्गा आफ्नै हो त्यसैले जग्गाको भाडा परेन । नेपाली बजारलाई पुग्ने ड्रागन फुड नेपालमै उत्पादन गर्न सुरु गरौँ भनेर पहिलो पहल गरेका हौं ।’
उन्नत जातको बिरुवा छिटो बढ्ने, राम्रो फल दिने र रोग प्रतिरोधात्मक क्षमता पनि बढी हुने भएकोले नेपाली हावा पानीमा ठीक मानिन्छ । उन्नत जातको ड्रागन फुड बिरुवा लगाएको ८ महिनादेखि फल लाग्न सुरु हुन्छ । भावनाका अनुसार जेठ महिनामा फल लाग्न सुरु हुने र कात्तिकसम्म फल लाग्ने भएकाले यो वर्ष कोरोना कहरका कारण समयमा लगाउन नसक्दा सिजनको अन्त्यतिर मात्रै फल लाग्ने सम्भावना छ ।
फल लाग्न सुरु भएको २० देखि २५ वर्षसम्म फलिरहने ड्रागन फुड हरेक वर्षको जेठदेखि कात्तिकसम्म फल्ने गर्छ ।
अन्तर्राष्ट्रिय रुपमा निकै लोकप्रिय उन्नत जातको ड्रागन फुड नेपाली बजारमा पनि पछिल्लो समय खोजी खोजी किन्न थालिएको भावनाले सुनाइन् । त्यसो त नेपाली बजारमा उन्नत जातको ड्रागन फुडको मूल्य प्रति केजी ७ सय रुपैयाँ छ । स्थानीय जातको ड्रागन फुडको मुल्य प्रति केजी ४ सय छ ।
भावनाले भनिन्, ‘नेपालमा धमाधम उत्पादन हुन थालेपछि यसको मूल्यमा पनि कमी आउँछ । अहिले विदेशबाट आएको हुनाले यसको महँगो भएको हो ।’
झापाको मेचिनगर नगरपालिका वडा नम्बर १० मा पाराडाइस एग्रो फार्म चलाएर बसेकी अधिकारीले आफ्नो फार्ममा १० जना युवाहरुलाई रोजगारी पनि दिएकी छन् ।