सरकारको ब्यहोरा पञ्चायती शासकजस्तैः झलनाथ खनाल
झापा: नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नेपालको इतिहासमा पञ्चायती शासकको जस्तो ब्यहोरा देखाएर डंका बजाएको आरोप लगाएका छन् ।
उनले पञ्चायती शासकले मात्र सत्तामा बसेको बेला सडकमा प्रदर्शन गरेको दाबी गरे । अहिलेको सरकारले आफैं सरकारमा भएको बेला २०४६ साल अघिको सरकार जस्तै जनप्रर्दशन सडकमा देखाएको बताए ।
प्रेस संगठन झापाले शुक्रबार विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले भने, ‘खड्गप्रसाद ओली सडकमा जनसभा गर्दै हुनुहुन्छ, सरकारले कसकोविरुद्ध आन्दोलन गर्ने ?’
सरकार समर्थक दलको शुक्रबार काठमाडौंमा भएको प्रदर्शनलाई लक्षित गर्दै खनालले आगामी २८ गते नेकपाको आयोजनामा हुने प्रदर्शनको लागि तयार रहन आग्रह पनि गरे । उनले भने, ‘ओली प्रतिगमनविरुद्ध सम्पूर्ण दलको एैक्यबद्धता आन्दोलन अहिलेको आवश्यकता हो ।’
पार्टीका सिद्धान्त र कार्यदिशामा प्रधानमन्त्री ओली नचल्नु नै पार्टी विभाजनको प्रमुख कारक भएको स्पष्ट पार्दै खनालले कानुनी र राजनीतिक लडाईँबाट ओलीलाई वास्तविक साइजमा ल्याएरै छोड्ने जिकिर गरे ।