बीपीका चिकित्सक आन्दोलित

बीपीका चिकित्सक आन्दोलित

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भ्रष्टाचारको अखडा बनेपछि त्यसविरुद्ध यहाँका चिकित्सक आन्दोलित भएका छन्। उनीहरूले संस्थालाई तत्काल सुधार नगरे सामूहिक राजीनामा दिने चेतावनी दिँदै व्यवस्थापन पक्षसमक्ष दबाब बढाएका छन्।

चिकित्सकले शुक्रबारदेखि उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षअगाडि धर्ना दिन थालेका छन्। उनीहरूले शिक्षाध्यक्ष डा. गुरु खनालको कार्यकक्षमा तालाबन्दी गरी आफ्ना माग पूरा गर्न आइतबारसम्मको अल्टिमेटम दिएका छन्।

प्रतिष्ठानका उपकुलपति डा. गिरी, शिक्षाध्यक्ष डा. खनाल, रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहले प्रतिष्ठान सुधार गर्न पहल नगरेको गुनासो उनीहरूले गरेका छन्। यस्तै, नियमित कामकारबाहीसमेत स्थगन  गरी प्रतिष्ठानलाई धराशयी बनाएको भन्दै प्रतिष्ठानका चिकित्सक मेडिकल तथा डेन्टल फेकल्टी कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलको नेतृत्वमा आन्दोलनमा उत्रिएका हुन्। यी चिकित्सकले तत्काल प्रतिष्ठानलाई सुधार नगरिए आकस्मिकबाहेकका सेवा ठप्प पार्ने चेतावनीसमेत दिएका छन्।

समाजका अध्यक्ष डा. पोखरेलले प्रतिष्ठानको कमजोर व्यवस्थापनले गर्दा दैनिक आर्थिक अनियमितताका घटना वृद्धि भएको बताए। यस्तै, तीन वर्षदेखि चिकित्सकको बढुवा रोकिँदा विभिन्न विभाग सञ्चालनमा गम्भीर समस्या भएको, फोहोर व्यवस्थापन नहुँदा प्रतिष्ठानभित्रै दुर्गन्ध फैलिएकाले आन्दोलनमा उत्रिनुपरेको डा. पोखरेलको भनाइ छ।
चिकित्सकले प्रतिष्ठानमा भएको आर्थिक अनियमितताको छानबिन गरी दोषीउपर कारबाही गर्नुपर्ने मागसमेत गरेका छन्।

समाजका महासचिव एसपी रिमालले नयाँ पदाधिकारी नियुक्त भएर आए पनि सुधार नगरेका कारण प्रतिष्ठानको अवस्था कमजोर बन्दै गएको बताए। व्यवस्थापन पक्षले कोरोन महामारीका बेला ज्यान जोखिम राखेर काम गर्ने चिकित्सक, कर्मचारीलाई जोखिम भत्ता नदिएको, वृद्धि भएको तलबसमेत नदिएर श्रम शोषण गरेको आरोप महासचिव रिमालले लगाए।
यो संस्था १ अर्ब ७ करोड घाटामा पुग्दा पनि उपकुलपति डा. गिरीले नजिकका व्यक्तिलाई विभिन्न पदमा भर्ती गराई थप आर्थिक भार थोपरेका छन्। प्रतिष्ठानको कर्मचारी कल्याण समाजका कार्यवाहक अध्यक्ष उमेश थापाले डा. गिरीले गरेका सबै नियुक्ति खारेज गर्नुपर्ने माग गरे। प्रतिष्ठानका चारै जना पदाकिारीले अवैध रूपमा प्रयोग गरेको सेवा–सुविधाबराबरको रकम असुल हुनुपर्ने माग थापाले गरे।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपकुलपतिद्वय डा. बलभद्रदास, डा. आरके रौनियार, पूर्वरजिष्ट्रार तुलबहादुर श्रेष्ठ, पूर्वनिर्देशक अरविन्द सिन्हा, कर्मचारी अमित श्रीवास्तव, दिनेश दाहाल, रुपा अग्रवाल,  रमेश खतिवडालगायतलाई भ्रष्टाचार मुद्दा चलाएको छ। तर, नयाँ पदाधिकारी आउँदा पनि आर्थिक अनियमितता नरोकिएको भन्दै चिकित्सक कर्मचारी चिन्तित भएका छन्।

उपकुलपति डा. गिरीले प्रतिष्ठानको कोभिड अस्पतालमा आवश्यक औषधि उपकरण खरिद गर्दा अख्तियारले भ्रष्टाचार मुद्दा चलाएका धरानका व्यवसायी चेतन अग्रवाललाई बिनाटेन्डर स्वीकृति दिएका छन्। उपकुलपति गिरीले कालोसूचीमा राख्नुपर्ने ठेकेदार विज्ञान अर्याललाई अक्सिजन प्लान्टको सम्झौताविपरीत कामको भुक्तानी प्रक्रिया अगाडि बढाएको प्रतिष्ठान स्रोतले बताएको छ। प्रतिष्ठानमा उपकुलपति गिरी आउनुअघि ३२ करोड घाटा थियो। अहिले  एक अर्ब ७ करोड पुगेको छ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रतिष्ठान सुधार गर्न पदाकिारी सक्षम नदेखिएको बताए। मेयर राईले प्रतिष्ठानको स्वास्थ्य सेवा सुधार गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। योग्य र सक्षम व्यक्तिलाई पदाधिकारी नियुक्त गर्नुपर्नेमा ‘खराब व्यक्तिहरू’लाई राजनीतिक नियुक्ति दिने प्रवृत्तिले प्रतिष्ठानको अवस्था कमजोर बनेको उनको तर्क छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.