रेलमार्ग सर्वेको भ्रम : ज्यान मार्ने धम्की दिए, कुरै नबुझी गाडी जलाए
‘३६० डिग्रिबाट फोटो खिच्दै थियौं। हामीलाई पिछा गरेको थाहा भएन। एक्कासि पाँच जना आएर घेरे,’ ती प्राविधिकले भने, ‘हामीले रेलमार्गको सर्वे होइन भनेर अनेक बिन्ति गर्दा पनि गाडीभित्रै राखेर मार्दिम भने। प्रहरी आएर हामी जोगियौं तर गाडी चलाइदिए।’
चितवन : गुगल म्याप अपडेटका लागि गाडीमाथि क्यामेरा राखेर भित्रबाट डिभाइसको माध्यबाट क्यामेरा चलाउँदै २१ वर्षीय अजित बस्नेत। उनी बिहान ७ बजे विभिन्न स्थानको फोटो खिच्दै थिए। गुगल एप निर्माणका लागि सक्रिय टोली मध्याह्न १२ बजे फोटो खिच्दै कृष्णपुरको नगर प्लटिङमा पुग्यो।
गाडीभित्र चालक र रोड सर्भे गर्ने नेभिगेटर थिए। रोकिएको स्थानमा रुखको छेल पारेर बसेका पाँच जनाको समूह आक्रोसितले रेलमार्गको सर्वे ठानेर धम्काउन थाले। त्यतिकैमा अर्को टोली गाडीलाई चल्नै नमिल्ने गरी गाडीको अगाडि पछाडि दुइटा मोटरसाइकल र एउटा स्कुटर ल्याएर रोके। केही फोटो खिच्दै थिए केहीले भिडियो बनाउन थाले।
प्राविधिक उनीहरूलाई रेलमार्ग होइन भनेर कुरा बुझाउन खोज्दा भीड बढ्दै गयो। पूर्व–पश्चिम रेलमार्गको सर्भे गर्न आएको भन्दै भीडले कुरै नबुझी गाडी जलाइदियो। गुगल म्यापका लागि रोड सर्भे गर्न आरएस इन्जिनियरिङ सोलुसन प्रालि काठमाडौंबाट आएका टोलीलाई ज्यान मार्ने धम्की दिएका थिए। रेलमार्ग सर्वे भन्दै एकोहोरो खनिएका थिए।
चारैतिरबाट घेरिएको प्राविधिकको टोलीले पटक–पटक कुरा बुझाउन कोसिस गर्दा पनि कुरै नबुझी आगजनी गरे। रेलमार्गको सर्वे गर्न आएको भ्रमले गाडी जलाएका हुन्। ‘किन फोटो खिचेको ? हामीलाई रेल चाहिएको छैन भन्दै गाडीभित्र रहेका एक प्राविधिक र चालकलाई धम्काउन सुरु गरे। उनीहरू गुगल म्याप बनाउन भन्दै अनुनय गर्दै थिए। त्यतिकैमा विस्तारै भीड बढ्यो।
‘३६० डिग्रिबाट फोटो खिच्दै थियौं। हामीलाई पिछा गरेको थाहा भएन। एक्कासि पाँच जना आएर घेरे,’ ती प्राविधिकले भने, ‘हामीले रेलमार्गको सर्वे होइन भनेर अनेक बिन्ति गर्दा पनि गाडीभित्रै राखेर मार्दिम भने। प्रहरी आएर हामी जोगियौं तर गाडी चलाइदिए।’ उनले आफ्नो नाम नखुलाउन आग्रह गरेका छन्।
सुरुमा चाबी खोसेर गाडी नियन्त्रणमा लिए। रेलमार्गकै सर्वे भन्ने हल्लाले भीड बढ्दै गएको थियो। गाडी अघि बढ्नै नदिएर नाराबाजी गरेका थिए। त्यसको एक घण्टापछि गाडी जलाएका थिए। स्थिति सम्हाल्न प्रहरीलाई हम्मे परेको थियो। रेलमार्गको सर्वे भन्ने गलत बुझाइले बागमती प्रदेश ०१–०३० च ७१९० नम्बरको गाडी जलेर क्षति पुगेको छ।
आरएस इञ्जिनियर्स करिब २० वर्षदेखि क्रियासिल छ। देशभर १५ भन्दा बढी गाडी विभिन्न जिल्लामा गुगल एपको गर्दैछन्। गाडीमा मोबाइल, ट्याप, क्यामेरा दिएर खटाइन्छ। यसले ३६० डिग्रिमा तस्बिर कैद गर्छन्। वाईफाईको सहायताबाट क्यामेरासँग ट्याब र मोबाइलको सम्पर्क जोडेर गाडी भित्रबाट अपडेट गरिन्छ।
बारा, पर्सा, सर्लाही, सिराहा, महोत्तरी, धनुषा, बाँके, कास्कीसहित अहिले २१ जिल्लामा काम भइरहेको छ। चितवनमा ८ दिनदेखि सक्रिय छन्। माडी र पश्चिम चितवनमा सकेर भरतपुरको ८ र ७ मा खिच्दै थिए। एउटा गाडीमा चालक र नेगिभेटर हुन्छन्। यो प्रविधिले गुगलमा हेर्न खोजिएको गन्तव्यको सडकको दायाँबायाँ प्रष्ट देखाउँछ। ‘हामीले गल्ली–गल्लीको फोटो खिच्दै हिँड्छौं,’ आरएस इन्जिनियर्सका अर्का प्राविधिले भने, ‘यो रेलमार्गसँग केही सम्बन्धै छैन। होइनभन्दा भन्दै आक्रमण गरिएको छ। गाडी त जल्यो हाम्रा साथीलाई गाडीभित्रै जलाउँछौंभन्दा हाम्रा साथी तर्सिएका छन्।’
घटनामा संलग्न व्यक्तिलाई आगजनी ऐनअन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले आगजनी गर्ने समूहको खोजी भइरहेको बताए।
भरतपुरको ७, ८, ४ मा रेलमार्ग निर्माणका विरोध भएको थियो। बस्तीबाट रेलमार्ग लैजान नदिने भन्दै संघर्ष समिति नै बनाएर आन्दोलन गरेका थिए।
प्रतिक्रिया दिनुहोस !