र्‍यालीका सहभागी भन्छन् , 'साइकल संस्कृतिको विकास गर्दैछ अन्‍नपूर्ण'

र्‍यालीका सहभागी भन्छन् ,  'साइकल संस्कृतिको विकास गर्दैछ अन्‍नपूर्ण'

सातौं संस्करणको अन्नपूर्ण पोस्ट् ‘राइड फर लाइफ’ साइकल र्‍यालीमा उत्साहजनक सहभागिता रहेको छ । र्‍यालीमा पाँचदेखि ७९ वर्षसम्मका एक हजार पाँच सयभन्दा बढी साइकलयात्री सहभागी भएका थिए । 

साइकल चलाउँदा वातावरण स्वच्छ हुन्छ
–सुयोगमानसिंह बस्नेत

म विगत पाँच वर्षदेखि साइकल र्‍यालीमा सहभागी भइरहेको छु। साइकल चलाउँदा हाम्रो स्वास्थ्य राम्रो हुनुका साथै वातावरण पनि स्वच्छ हुन्छ। अन्नपूर्ण पोस्ट्ले हरेक वर्ष क्यान्सरविरुद्ध सचेतना जगाउन साइकल र्‍याली आयोजना गरिरहेको छ, जुन अहिलेको समयमा अति महत्वपूर्ण हो। म कक्षा ६ मा पढ्छु। मेरो बुवा पनि साइकल चलाउनु हुन्छ। उहाँबाटै मैले साइकल चलाउन सिकेको हुँ। साइकल चलाएर म सिन्धुली र जनकपुरसम्म पुगेको छु।

साइकल मेरो नसा हो
– भुमराज तिवारी 
साइकलमा यात्रा गर्नु मेरो नसाजस्तै हो। केही दिनअघि साइकलमै चितवन पुगेर फर्किएको थिएँ। साइकल यात्राकै क्रममा लुम्बिनी, पनौती, सिन्धुलीगढीलगायतका ठाउँमा पुगेको छु। अन्नपूर्ण साइकल र्‍यालीमा पहिलो पटक सहभागी भएको हुँ। साइकल चलाउँदा शारीरिक व्यायाम, खुसी र स्वतन्त्रता अनुभव गर्न पाइन्छ। आर्थिक रूपमा पनि सस्तो सवारीका रूपमा साइकललाई लिन सकिन्छ। साइकल चलाउँदा शरीरमा थेरापीको काम गर्छ। सहरका सडक साइकलमैत्री छैनन्। त्यसैले हाइवे छाडेर अफरोडमा कुदाउन रमाइलो हुन्छ। 

निरोगी बन्न सहयोग पुग्छ
उमेश श्रेष्ठ
हरेक दिन साइकल चलाउँदा सुगर, प्रेसरजस्ता विभिन्न रोगबाट बच्न सकिन्छ। अर्थात् निरोगी बन्न सहयोग पुर्‍याउँछ। साइकलमा सवारी मानसिक स्वास्थ्यका लागि पनि उत्तम मानिन्छ। 

साइकल चलाउँदा आनन्द छुट्टै छ
–महेश्वरलाल श्रेष्ठ
साइकल चलाउन थालेको डेढ दशक हुन थाल्यो। अन्य युवालाई साइकल यात्रामा उत्प्रेरणा जगाउन पनि म यो र्‍यालीमा सहभागी भएको हुँ। साइकलमै नेपालका धेरै जिल्ला घुमेको छु। पोखरा, नेपालगन्जलगायत काठमाडौंवरिपरिका धेरै ठाउँ पुगेको छु। म प्रायः शरीर स्वस्थ राख्न साइकल चलाउने गर्छु। साइकल चलाउँदा हुने आनन्द व्याख्या गर्न सक्दिनँ। प्रायः हरेक दिन बिहान २०/२५ किमि साइकलमै घुम्ने गर्छु।

र्‍यालीमा सहभागी हुँदा विभिन्न जानकारी पाइन्छ
–सुस्मृति तामाङ
साइक्लिङ गर्नु मेरो रहर हो। म एक एनजीओमा काम गर्छु। हरेक दिन अफिस जाँदा आउँदा साइकल नै चलाउने गर्छु। अन्नपूर्ण साइकल र्‍यालीमा म दोस्रो पटक सहभागी भएकी हुँ। सन्देशमूलक र्‍यालीमा सहभागी हुँदा रमाइलोसँगै विभिन्न जानकारी पनि पाइन्छ। सधंै चलाइराख्ने भएकाले र्‍यालीमा खासै गाह्रो भएन। साइकलमा बानी भएपछि अन्य साधन चलाउन मन लाग्दैन। 

साइकलमा सहर घुम्ने गर्छु
–सूर्यान्स थापा
म ७ कक्षामा पढ्छु। बाबासँगै म पनि गत वर्षदेखि अन्नपूर्ण पोस्ट्ले आयोजना गरेको साइकल र्‍यालीमा सहभागी हुन थालेको हुँ। बेलाबेला साइकल लिएर सहर घुम्ने गर्छु। साइकल चलाउँदा शारीरिक व्यायाम पनि हुने भएकाले मलाई निकै रमाइलो लाग्छ।
साइकल चलाउँदा फाइदै फाइदा
– शिव गुरुङ
र्‍यालीमा सहभागी हुन पोखराबाट लुम्बिनी हुँदै साइकलमै काठमाडौं आएको हुँ। साइकलसँगको मेरो संगत ६० वर्षभन्दा पुरानो हो। साइकल राइडिङलाई प्रमोट गरौं भन्ने उद्देश्यले संस्थागत रूपमै सक्रिय छु। साइकल चलाउँदा फाइदै फाइदा छ। वातावरण र सांस्कृतिक सम्पदा संरक्षण गरौं भनेर साइकल संस्कृतिको विकास गर्न काम गरिरहेको छु। हरेक दिन ३० देखि ४० किलोमिटरसम्म साइकल कुदाउने गरेको छु। काठमाडौंबाट एकै दिनमा पोखरा निकै पटक पुगेको छु। 

साइकल स्वास्थ्यका लागि उपयोगी सवारी
–देवेन्द्र बस्नेत
आरुबारीमा हुर्किएको हुँ। बच्चादेखि नै साइकल कुदाउँथे। क्यान्सर रोगबारे सचेतना फैलाउन आयोजना गरिएको यो साइकल र्‍याली उपयोगी छ। क्यान्सर रोगसँग जुध्नुभएकाहरूलाई रोगसँग लड्ने आत्मविश्वास बढोस् भनेर नै म पनि सहभागी भएको हुँ। शारीरिक स्वास्थ्यसँगै साइकललाई पर्यटन, खेल र मनोरञ्जनका लागि पनि प्रयोग गर्न सकिन्छ। समय–समयमा हामीले विभिन्न कार्यक्रम पनि आयोजना गर्दै आएका छौं। साइकल स्वास्थ्यका लागि उपयोगी सवारी साधन हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.