गृहजिल्लामै प्रधानमन्त्री ओलीविरुद्ध पत्रकारको प्रदर्शन
झापा: प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाका सञ्चारकर्मीहरु प्रधानमन्त्रीको कदमको विरोध गर्दै सडकमा उत्रिएका छन् ।
प्रधानमन्त्रीले असंवैधानिक र अलोकतान्त्रिक निर्णय तुरुन्त फिर्ता लिएर संविधानको रक्षा गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।
नेपाल प्रेस युनियन झापा र प्रेस संगठन नेपाल झापाको संयुक्त आयोजनामा मंगलबार विरोध र्यालीको आयोजना गरिएको थियो । उक्त विरोध र्यालीलाई आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), नारी सञ्चार गृह, आदिवासी पत्रकार संघसहित जिल्लाका विभिन्न सञ्चार सँग आवद्ध संघसंगठनले ऐक्यवद्धता जनाएका थिए ।
विरोध र्यालीमा सञ्चारकर्मीहरुले निधारमा कालोपट्टी र हातमा प्ले कार्ड बोकेर प्रधानमन्त्री ओली र उनको प्रतिगमनको कदम विरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
पत्रकारहरूले प्रेस विरोधी कानुन फिर्ता गर, संविधानको रक्षा गर, प्रतिगमन मुर्दावाद लगायत नारा लगाएका थिए । बिर्तामोडको मुक्तिचोक बाट सञ्चारकर्मीहरुले निकालेको विरोध र्याली इलाका प्रहरी कार्यालय अनारमनि अगाडिबाट अदुवा पुलसम्म परिक्रमा गर्दै पुनः मुक्ति चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभा बोल्दै नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाले प्रधानमन्त्री ओलीका असंवैधानिक कदमले लोकतान्त्रिक संविधानसँगै प्रेस स्वतन्त्रता नै धरापमा परेकाले आफुहरु संयुक्त आन्दोलनमा उत्रिएको बताए । सापकोटाले भने, ‘आफ्नै जिल्लाका प्रधानमन्त्रीलाई औँला ठड्याउने दिन आयो । प्रधानमन्त्रीले जसो भने पनि जे गरे पनि आफ्नो जिल्लामा जय जयकार गर्ने मान्छे मात्र छन् भन्ने सोच्नु नै गलत हो ।’
विरोध सभामा प्रेस संगठन नेपाल प्रदेश नम्बर १ का अध्यक्ष राजन केडी, पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष कृष्ण हुमागाई, प्रेस युनियन झापाकी अध्यक्ष इन्दु पूर्वेली लगायतले संविधान र प्रेस स्वतन्त्रता रक्षाका लागि यो विरोध र्याली सुरुवात भएको बताए ।