कृषकका लागि खाद्य बैंक
![कृषकका लागि खाद्य बैंक](https://annapurnapost.prixacdn.net/media/albums/Khaddya-Bank-2_20210210053829_uVbkSN3hPE.jpg)
गुलरिया : गुलरिया नगरपालिका–३ खैरीगाउँका कृषक विष्णुप्रसाद गौतम वडामै राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना भएपछि निकै खुसी छन्। सरकारले पोषिलो आहारका लागि दिगो कृषि उत्पादनको अभियानमार्फत यस्तो सुविधा सञ्चालन भएपछि गौतमसहितका कृषक उत्साहित छन्।
गुणस्तरीय बिउ, मलजल, प्राविधिक र आफ्नो उत्पादनले चित्तबुझ्दो बजारभाउ नपाउँदा गौतम कृषि पेसा नगर्ने तयारीमा थिए। आवश्यक ज्ञान, सीप, बीउ, बिजन, मलजल, दक्ष जनशक्तिलगायत कृषि विज्ञको सहभागितामा खाद्य बैंकले जैविक खाद्यान्न उत्पादन गर्ने भएपछि बर्दियाका ग्रामीण भेगका कृषकमा खुसीयाली छाएको हो।
अब बैंकसँग मिलेर धानखेती अन्य उत्पादन विस्तार गर्ने खैरीकी अगुवा कृषक विष्णुकुमारी शर्मा भुसालले बताइन्। ‘बैंकसँगै मिलेर नमुना उत्पादन गर्छौं। कृषि क्षेत्र विस्तार गर्दै विषादीरहित उत्पादनमार्फत रसायनको प्रयोगलाई विस्थापित गर्ने हाम्रो मनशाय छ’, उनले भनिन्।
लुम्बिनी प्रदेशस्तरीय राष्ट्रिय खाद्य बैंकको पहिलो शाखा बर्दियाको गुलरिया नगरपालिकास्थित खैरीगाउँमा स्थापना भएको छ। काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको यो बैंकले सातवटै प्रदेशमा कार्यालय स्थापना गरेर ७७ वटै जिल्लामा खाद्य बैंक सञ्चालन गर्ने तयारी गरेको छ। ‘आवश्यकताअनुसार प्रत्येक जिल्लाका स्थानीय तहमा कार्यालय स्थापना गरी काम अघि बढाउँछौं’, बैंकका कार्यकारी अध्यक्ष शंकर उप्रेतीले भने।
सरकारले दुई अर्ब रुपैयाँ लगानी गरेर बैंकमार्फत उत्पादन र व्यापारमूलक कार्य सुरु गरेको छ। कृषि, खाद्य र पर्यटन क्षेत्रलाई लक्षित गर्दै समृद्ध नेपाल बनाउने योजना बनाउने बैंकको योजना छ।
तत्कालका लागि बर्दियामा दुई सय बिघा जग्गा भाडामा लिने बैंकको लक्ष्य छ। खैरीगाउँमा २५ बिघा क्षेत्रफलमा गहुँखेती सुरु भइसकेको छ। ‘हामीले स्थानीय किसानका उपकरण पनि भाडामै प्रयोग गर्छौ। मजदुरी पनि स्थानीयलाई नै दिछौँ। हाम्रा प्राविधिक र विज्ञहरूले खेती गर्छन्’, उप्रेतीले भने, ‘उत्पादित खाद्यान्न प्रशोधन, भण्डारण तथा प्याकेजिङ गर्दै बजारमा हामी नै पुर्याउँछौ।’
बजारमा पुगेको उत्पादन सुरक्षित भण्डार गरेर सेल्स डिपो र होम डेलिभरीमार्फत बिक्री वितरण गरिने उनले बताए। बैंकले उत्पादन गरेको खाद्यान्नमा रसायन र विषादीको प्रयोग हुँदैन।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)