लोकमार्गले फेरिए गाउँ
सिन्धुली : केही वर्ष अघिसम्म सिन्धुलीका ग्रामीण भेगबाट सदरमुकाम सिन्धुलीमाढी आउन निक्कै सास्ती थियो। मदन भण्डारी राजमार्ग निर्माण भएपछि दुधौली, डाकाह, भलुवाही, मरिण, हरिहरपुरगढीलगायतका क्षेत्रका स्थानीयले पैदल र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ।
लोकमार्गले स्थानीयको जीवनस्तरमा परिवर्तन ल्याएको छ। आम्दानीका नयाँनयाँ बाटा पनि खुल्न थालेका छन्। घर आँगनमा पक्की सडक निर्माण भएपछि ग्रामीण भेगमा सहरीकरण सुरु भएको छ। विगतमा उदयपुरको कटारीदेखि सिन्धुलीहुँदै मकवानपुरको हेटांैडासम्म पुरानो कच्ची सडकखण्डका नदी र खोलामा पक्की पुल नहुँदा करिब ६ महिनासम्म सदरमुकामसँग सम्पर्कविच्छेद हुन्थ्यो।
अहिले राजमार्ग बनेपछि त्यस्तो समस्या हटेको दुधौली नगरपालिका–२ हत्पतेका स्थानीय रेखराज दाहाल बताउँछन्। ‘पहिले सडक र कमला नदीमा पुल नहुँदा वर्षामा गाउँबाट कत्तै जान सकिन्न थियो, अहिले एक घण्टामा सिन्धुलीमाढी पुगिँदा ठूलै परिवर्तन भएको महसुस भएको छ’, उनले भने।
लामो समय पत्रकारितामा सक्रिय दाहाल गाउँमै उद्यम गरेर बस्न थालेका छन्। गाउँमा उत्पादन गरेका कृषि, फलफूल, खसी बाख्रा सहजै बजारसम्म पुर्याउन सकिने भएपछि उनीसहितका स्थानीयले कृषि व्यवसाय थालेका छन्। राजमार्ग क्षेत्रमा नयाँनयाँ बजार विस्तार हुने क्रम बढेपछि उद्योग, कलकारखाना, होटेललगायतका व्यवसाय सुरु भएको छ।
राजमार्गले आर्थिक क्रियाकलाप बढाएको दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले बताए। दुधौली नगरपालिका–२ भलुवाहीमा राजमार्गले छोएका जमिन भाडामा लिएर सामूहिक चक्लाबन्दी खेती गरेर किसानले राम्रो आम्दानी लिन थालेका छन्। पहिले बजारको अभावले गाउँमा कृषि उत्पादनले उचित मूल्य पाउन सकेको थिएन।
चुरे तथा भित्री मधेसको उपत्यका जोड्ने गरी निर्माण थालिएको १२ सय किलोमिटर लामो मदन भण्डारी राजमार्गले सिन्धुली सदरमुकाम सिन्धुलीमाढीबाट हेटौंडासम्मको १ सय १५ किलोमिटर पार गर्छ। यो राजमार्ग पूर्वपश्चिम राजमार्ग र मध्यपहाडी लोकमार्गको बीचबाट भित्री मधेसकालाई जोड्ने गरी निर्माण गरिएको छ। यो राजमार्गले सदरमुकाम सिन्धुलीमाढीसँगको दूरी छोट्ट्याउँदा सिन्धुली पश्चिमी क्षेत्रका बासिन्दाले सुविधा पाएका हरिहरपुरगढी गाउँपालिकाकी उपाध्यक्ष अनिताकुमारी राईले बताइन्। ‘राजमार्गको निर्माणसँगै सडक
आसपासको जग्गाको मूल्य पनि अकासिएको छ। पहिले प्रतिकठ्ठा दुई लाख पर्ने जग्गाको मूल्य राजमार्ग निर्माणपछि २० लाख पुगेको छ’, उनले भनिन्।
कमलामाई नगरपालिका— १ डाँडीका दीपक घिमिरेका अनुसार राजमार्गले छुने गाउँगाउँसम्म विद्युत् र खानेपानीसँगै स्वास्थ्यको पहुँच पनि पुगेको छ। ‘केही स्थानमा काम ढिला भए पनि बनेका सडकले धेरै कुरालाई नजिक बनायो,’ उनले भने, ‘दुर्गम भनेर जग्गा बेचेर सहर पस्नेलाई पनि अहिले यो राजमार्ग निर्माणले गाउँ फर्काएर उद्यमी बनाएको छ।’
राजमार्गको सिन्धुली खण्डमा मात्र १ सय १५ किलोमिटर सडक आयोजनामा ३३ वटा पुल, ५७ स्थानमा कजवे, ३ सय ९७ वटा ह्युमपाइप, १९ वटा बक्स कल्भर्ट, ४ वटा स्ल्याब कल्भर्ट निर्माण गरिएको छ। तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ९ सय करोड रुपैयाँभन्दा बढीमा २०७३ कात्तिक २२ गते ठेक्कासम्झौता भएको राजमार्ग निर्माणमा वर्षात्ले केही क्षेति पुर्याएको राजमार्ग निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर उज्ज्वल प्रसाईंले बताए।
राजमार्गका विभिन्न खोला नदी तथा खहरेमा पक्की पुल, कज्वे निर्माण गर्दा सयौं मिटर तटबन्धन गरिएको छ। यसले चुरेबाट बर्सेनि बगेर आउने खहरे रोक्न मद्दत गरेको कमलामाई नगरपालिका– १४ का स्थानीय शिक्षक शम्भु परियार बताउँछन्।