बलात्कारका घटनाले त्रसित एक आमाको प्रधानमन्त्रीलाई पत्र !
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,
म आराम छु। तर, मेरो मनमा चैन छैन। तपाईं त आरामै हुनुहुन्छ भन्ने देखिराखेकी छु। तपाईंका रसिला र हँसिला भाषण सुनेर तपाईंको सन्चो बिसन्चो थाहा पाउँछु। मेरो पीडा तपाईंको भाषणमा नसुनेपछि यो पत्र लेख्दै छु।
म दश वर्षकी चुलबुले छोरीकी आमा हुँ। मसँग छोरी छ भन्न पाउँदा मलाई निकै गर्व महशुस हुन्छ। छोरी जन्माएर आजसम्म मैले कुनै एक पल पनि पश्चाताप गर्नुपरेको छैन। जब आमा बन्दै गरेको सूचना पाएकी थिएँ छोरीको कल्पनाले निकै खुशी छाएको थियो मनमा। अझ भनौ छोरी मेरो जिन्दगीको सार, जिम्मेवारीको बाटो र खुसीको कारण पनि हो।
उसले मलाई हरपल हसाइरहन्छे। खुसीका फूल छरिरहन्छे घरमा। सायद मलाई जस्तै हुँदो हो हरेक छोरीका आमालाई। छोरी जन्माएका प्रत्येक आमाको अनुहारमा आत्मसन्तुष्टिको रौनक देख्ने गर्छु म।
हुन त छोरी पाएर गर्व महशुस गर्ने समाज बनिसकेको छैन तपाइँको देशमा। अंश र वंश धान्नको लागि छोरा नै चाहिन्छ भनेर हरेक घरघरमा दबाब दिने गरिन्छ। गर्भमा छोरी रहेको थाहा पाउनासाथ गर्भ फाल्नको लागि बाध्य पारिन्छन् आमाहरु।
छोराकै आशमा धेरै छोरी जन्माउन विवश छन् महिलाहरु। छोरालाई बढी महत्व दिने सामाजिक परिवेश सँगसँगै हामीले मान्दै आएको संविधान तथा कानुनमा पनि असमान अधिकार लेखिएको छ। हामीले निर्माण गरेको कानुनमा पैतृक सम्पत्ति र नागरिकताको विषयमा छोरालाई जस्तै समान अधिकार दिन सकेका छैनौं।
कक्षा १२ मा पढ्ने उनी कलेजबाट फर्कदा फर्कँदै बाटोमै अपराधीको शिकार बन्न पुगिन् । दुई महिनाअघि श्रीमान गुमाएकी भागरथीको आमालाई सम्झेर यतिबेला म बेलाबेला भक्कानिन्छु । मैले जस्तै माया गरेर हुर्काएकी प्यारी छोरीलाई त्यो हालतमा देख्दा उनी कसरी सम्हालीएकी होलिन् ?
कानुनले पनि लिखित रुपमै विभेदमा पारेको छ हामी छोरीलाई। बेलाबेलामा तपाइँले पनि महिलाका मुद्दालाई एनजीओको टयाउ ट्याउ मात्रै हो भनेर पन्छाइदिने गर्नुभएको समाचार सुरक्षित नै छ।
प्रधानमन्त्री निवासमा मानवसेवा आश्रमले गरेको एक कार्यक्रमको शिलशीलामा तपाइँलाई नजिकबाट सुन्ने मौका पाएकी थिएँ। मलाई राम्रोसँग याद छ त्यो बेला तपाइँले बाध्यताले सडकमा बस्न बाध्य भएका मानवप्रति निकै करुणाका शब्द खर्चनुभएको थियो। तपाइँले भन्नुभएको थियो, ‘मेरा आफ्नै सन्तान त छैनन्। सन्तानको माया कस्तो हुन्छ थाहा छैन। मेरा आफ्नै सन्तान भएको भए पनि उनीहरुको भन्दा बढी माया म सडकमा बस्ने मानिसलाई गर्थेँ होला।’
आफ्ना देशका बेसहारा नागरिकमाथि तपाइँले देखाउनुभएको त्यो सदासयता सुनेर खुसीले पुलकीत भएकी थिए। लागेको थियो तपाइँले नेतृत्व गरेको देशमा मेरो छोरी निस्फिक्री बाँच्न पाउछे। कुना कन्दरा एक्लै डुल्न पाउछे। मेरो छोरी जहाँ रहे पनि सुरक्षित हुनेछ।
तर, मैले गरेको यो विश्वासले धोका खायो। पछिल्लो दुई वर्षमा बालिका बलात्कार तथा हत्याको घटनाको संख्या उकालो ग्राफमा उक्लिरहेको छ।
प्रधानमन्त्री ज्यू,
बलात्कारपछि हत्या गरेर जंगलमा फालिएकी बैतडी दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया युवती भागरथी भट्टको हत्यारा अझै फेला परेका छैनन्। गृहमन्त्री र प्रहरी अधिकारी स्वयंले हत्यारालाई सजाय दिन्छौ भनेर भाषण गरिरहँदा अपराधी पक्राउ गर्न सकिएको छैन।
कक्षा १२ मा पढ्ने उनी कलेजबाट फर्कदा फर्कँदै बाटोमै अपराधीको शिकार बन्न पुगिन्। दुई महिनाअघि श्रीमान गुमाएकी भागरथीको आमालाई सम्झेर यतिबेला म बेलाबेला भक्कानिन्छु। मैले जस्तै माया गरेर हुर्काएकी प्यारी छोरीलाई त्यो हालतमा देख्दा उनी कसरी सम्हालीएकी होलिन् ?
भागरथीको लाशको फोेटो हेर्दै गर्दा मैले त्यहाँ मेरो आफ्नै छोरी, बैनी र स्वमं मेरो असुरक्षित भविष्य देखिरहेकी छु। त्रसित बनेकी छु। मलाई छोरी जन्माएको भएर पश्चाताप लाग्न थालेको छ। कतै मैले मेरो छोरीलाई सुरक्षित जिन्दगी दिन नसक्ने त हैन ?
निर्मला पन्त, अंगुरा पासी, पुजा यादव, सरस्वती हरिजन, रुमती दास, सम्झना विक जस्तै तमाम बालिकाको भीडमा मेरो छोरीको नाम पनि पर्ने त होइन। उसको सुनौला सपना यसैगरी निमोठिने त होइनन ?
जब जब बालिका बलात्कार र हत्या हिंसाको घटना सुन्छु मुटु थर्थराउने गर्छ मेरो। बिहान उठ्नासाथ सामाजिक सञ्जाल स्क्रोल गर्न डर लाग्छ। फेरि अर्को बालिका मारिएको घटना सुन्न नपरोस् भनेर मनमनै प्रार्थना गरिरहन्छु। बिहान गेटैमा आइपुग्ने पत्रिकाको हेडलाइन हेर्न डर लाग्छ। सोच्छु, ‘कतै कुनै बालिका बलात्कार अनि हत्या भएको समाचार र तस्बिर प्रकाशित त भएको छैन ? गरिबीकै कारणले कुनै महिलाले छोराछोरीलाई नदीमा धकेलेर आत्महत्या गरेको खबर त छैन ? वा नसालु पदार्थ खुवाएर रातभर सामूहिक बलात्कारपछि सडकमा अचेत बनाएर फालिएकी बालिकाको समाचार पो छ की ?
मलाई यस्ता सूचना, खबर र घटना सुन्नै मन लाग्दैन। हेर्नै मन लाग्दैन। तर म विवश छु तपाइँको राज्यमा।
प्रधानमन्त्रीज्यू,
हामीले यति ठूलो राजनीतीक परिवर्तन गर्यौं। देशमा राणाशासन, पञ्चायतको अन्त्य गर्दै बहुदल र लोकतन्त्र हुँदै गणतन्त्रको स्थापनासमेत गर्यौं। अहिले तपाइँ संघीय गणतान्त्रिक मुलुकको प्रमुख हुनुहुन्छ। धेरै कुरामा अग्रगामी छलाङ मारेका हामीले आफ्नै समाजलाई भने परिस्कृत बनाउन सकेनौ। के हामीले आपराधिक प्रवृति मिसिएको समाजको परिकल्पना गरेका थियौ त ? हैन भने किन बालिका बलात्कारका घट्नाहरु बढ्दैछन् ?
किन रोकिन्न जघन्य अपराध। सोच्दा पनि कहाली लागेर आउँछ, जन्मदिने बाबुले आफ्नै छोरीलाई गोली हानेर किन मार्छ ? हुर्कदै गरेका हाम्रा छोरीमाथि छिमेकी अंकलको गलत नजर किन पर्छ ? कुन हिम्मतले उठाउँछ अपराधीले यस्तो कुर्कमको बाटो ? अझ बलात्कार भएको प्रमाण माग्ने तपाइँको कानुनले हामीलाई न्याय दिन्छ भनेर कसरी विश्वास गर्ने ? के जन्मदा एक थान योनी लिएर आएकै भरमा हामी महिलाहरु आजन्म असुरक्षित भैरहनुपर्ने हो ?
जसले जहाँ भेट्यो, मनलाग्दी गर्न, अचेत बनाएर फाल्न, हत्या गर्नको लागि कसरी उत्साहित हुन्छ एक अपराधी पुरुष मानसिकता तपाइँको राज्यमा। हैन भने किन बन्दैन हाम्रा लागि सुरक्षित तपाइँको राज्य ?
हुर्कदै गरेका हाम्रा छोरीमाथि छिमेकी अंकलको गलत नजर किन पर्छ ? कुन हिम्मतले उठाउँछ अपराधीले यस्तो कुर्कमको बाटो ? अझ बलात्कार भएको प्रमाण माग्ने तपाइँको कानुनले हामीलाई न्याय दिन्छ भनेर कसरी विश्वास गर्ने ? के जन्मदा एक थान योनी लिएर आएकै भरमा हामी महिलाहरु आजन्म असुरक्षित भैरहनुपर्ने हो ?
मेरो छोरी ठूली हुँदैछ उसले हरेक कुरा बुझ्न खोजिरहन्छे। ब्याड टच र गुड टचको बारेमा थाहा पाउन थालेकी छ। एक दिन पत्रिकाको पाना देखाउदै सोधेकी थिई, ‘मामु बलात्कार भनेको के हो ? किन गर्छन् ? किन मार्छन्। धेरै दिनसम्म नाजवाफ भए म। स्कुल, कलेज, बाटो घाटो, पार्क, अस्पताल, घर, बजार हरेक ठाउँमा अपराध भैरहेपछि म उसलाई कुन ठाउँमा पठाउँ ? कहाँ जाँदा सुरक्षित हुन्छ भनेर बताउँ ? भर्खर बढ्दै गरेकी मेरी छोरीलाई उसका साथीहरु पनि अपराधी हुन सक्छन भोली भनेर कसरी भनुँ।
समाचारमा सुनिरहेकी हुन्छु, अदालतले बलात्कार भएको प्रमाण माग्यो रे ? अनुसन्धानमा सक्रिय पुलीसले पैसा खाएर घटना मिलायो रे। राजनीतीक पहुँचका आधारमा अपराधी गाउँघरमा डुलिहिँडेको छ रे ? अब भन्नुस हाम्रा छोरीलाई के सिकाउने ? के बताउने ? कहाँ लगेर जोगाउने ? साँच्चै हाम्रा लागि निस्फिक्री हिँड्न पाउने समाज कहिले बन्छ ?
दिनप्रतिदिन बढ्दो बलात्कार अनि त्यसपछि हत्याको पछाडि कारण के छ भनेर हामीले कहिल्यै खोतल्ने प्रयाससमेत गरेनौं। देशका कुना कन्दरामा भइरहेका घट्नाहरुलाई किन हामीले सूक्ष्म अनुसन्धान र अध्ययन गर्न सक्दैनौं। राज्य संयन्त्र गाउँ गाउँसम्म फैलिएको छ। अहिले त झन् स्थानीय तह सक्रिय छन्। वडा वडासम्म स्थानीय सरकारका जनप्रतिनिधि निर्वाचित भएको अवस्था छ तर, पनि हामीले किन हाम्रो समाजमा भइरहने यस्ता घट्नामा गम्भीर हुन सकेका छैनौं ? हामी कहानेर कसरी चुक्यौ ?
प्रधानमन्त्रीज्यू,
तपाइँलाई थाहा होला कति ठाउँमा जनप्रतिनिधि नै बलात्कारका घटनामा मिलापत्र गराउँदै हिँड्ने गरेको सुनिन्छ। बझाङमा बालिकाको बलात्कारपछि हत्या गर्ने घट्नामा संलग्न भनिएका युवकले केही समयअघि नै एक अर्की किशोरीको बलात्कार गरेको र जनप्रतिनिधिकै संलग्नतामा मिलापत्र गराएको पुष्टि भएको थियो। तराईमा पनि केहीसमय अघि यस्तै एउटा घटना सार्वजनिक भयो। यी सबै तथ्यले के देखाउँछ भने हामी कस्तो शासन व्यवस्था र समाजको परिकल्पना गरेर हिँडिरहेका छौं।
जहाँ देश र जनताको सेवा गर्न भन्दै राजनीतिमा होमिएर निर्वाचित भएका जनप्रतिनिधिको यी घट्नामा संलग्नता पाइनु कतिको उचित छ ? के तपाइँलाई यहाँ केही गलत भैरहेजस्तो लाग्दैन ?
हुन त केहीसमय अघि बलात्कार र एसिड आक्रमण सम्बन्धी अध्यादेश नै ल्याएर कानुनमा केही परिमार्जन भएको छ। हेर्दा र पढ्दा फुलबुट्टे कानुनका बुँदाले मेरी छोरीको रक्षा गर्न सक्दैन भने त्यो कानुनको के काम ? कडा भनिएको अध्यादेशको के अर्थ ? कार्यान्वयनको पाटो गतिलो हुन सकेन भने त्यसले प्रभावकारी नतिजा त दिन पनि त सक्दैन।
स्कुलबाट फर्कदा फर्कँदै बलात्कार भएर बाटोमै विभत्स मृत्युवरण गर्न बाध्य हाम्रा छोरीको लाश देख्दा तपाइँको मन दुख्छ ? यदि दुख्छ भने आफ्नै अगाडि सडकमा लडिरहेका नाबालक छोरीको नाङ्गो लाश हेर्न विवस आमाको नियती कहिले बन्द हुन्छ ?
हामीले समाजमा घटिरहेका घटनामा पीडकलाई कानुनी दायरामा कति ल्याउन सक्यौं त्यो पनि महत्वपूर्ण पाटो होला। कानुन छ त कार्यान्वयन गतिलो हिसाबले नभइदिने हो भने त अपराध गर्ने मानिसको मनोवृति झन झन बलियो हुने गरेको त देखिरहेकै छौं। नत्र बझाङकी सम्झना विकलाई बलात्कार गरी हत्या गर्ने आरोपी पहिलो अपराधमा किन उन्मुक्ति पाउथ्यो ?
हामीले परिकल्पना गरेको समाजमा किन पुरुष यति हिंस्रक बन्न सकेको होला। नेपालमा घट्ने बलात्कारका घटनामा संलग्न हुने एकै समूहका मात्रै छैनन्। अझ भन्नुपर्दा परिवार, छरछिमेक र साथीभाइ नै संलग्न हुने गरेको पाइन्छ। युवादेखि उमेर पुगेका र बृद्ध उमेरसम्मबाट बलात्कार भएको घट्ना सुन्न पाइन्छ। के यो व्यक्तिभित्रको मनोदशाले मात्रै काम गरेको हो वा हामीले समाजलाई नै त्यही दिशाबाट अघि बढाएर लगिरहेका छौं। या पश्चिममा संस्कृतिको प्रभाव भनौं के भन्ने ठम्याउन नसकिने अवस्था सिर्जना भएको छ।
फेरि तपाइँ भन्नुहोला हिजो जसरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणपछि घटना त बाहिर देशमा पनि घटेका छन्। हत्यारा पत्ता लगाउन १२ वर्षसम्म पनि लाग्न सक्छ भनेर। प्रधानमन्त्रीज्यू राज्य सञ्चालन गर्ने प्रमुख व्यक्ति अझ राज्यका महत्वपूर्ण निकायमा बसेका मानिसबाट यस्ता खालका अभिव्यक्ति आउनु पनि एउटा कारण होइन र बलात्कारको ? यसले आम जनसमुदाय अझ भन्नुपर्दा त्यसभित्र बस्ने अपराधिक मानसिकताको मानिसमा त यस्ता विषयले हौसला नै प्रदान गर्ने होइन र ?
किन हामी समाजमा हुने घटनामा पीडितलाई न्यायको अनुभूति दिन सक्दैनौं। प्रहरी प्रशासन र राज्य संयन्त्रका मानिसहरुबाट किन आम जनता विश्वस्त हुन सक्दैनन्। तपाइँ हेर्न सक्नुहुन्छ हिजो आज घटना भए लगत्तै किन पीडित परिवार र त्यो समाजका मानिस दोषीलाई कारबाही र न्यायका लागि भन्दै संघर्षका कार्यक्रम गर्न बाध्य छन् ? राज्यप्रति आम नागरिकको भरोसा कम भएर हो ?
विगतका घटनामा प्रभावकारी अनुसन्धान, पीडितलाई न्याय र पीडकलाई कानुनी कठघरामा उभ्याउन राज्य संयन्त्रले प्रभावकारी रुपमा काम गरेको भए सायद हिजोआज घट्ने घटनामा नागरिकले आन्दोलन गरिरहन पर्ने थिएन् होला। आज हरेक घरका छोरीहरु देशमा घटिरहेका यस्ता घटनाले त्रसित बनेका छन्। कोहीप्रति भरोसा गर्न सक्ने वातावरण बनिरहेको छैन। यस्तो अवस्थामा तपाइँ सरकारको प्रमुख भएको नाताले कसरी आम समुदायलाई आश्वस्त पार्न सक्नुहुन्छ ?
प्रधानमन्त्रीज्यू
भनिदिनुस् न अब हरेक छोरीचेलीले ढुक्क भएर हिँड्ने वातावरण कहिले बन्छ ? स्कुलबाट फर्कदा फर्कँदै बलात्कार भएर बाटोमै विभत्स मृत्युवरण गर्न बाध्य हाम्रा छोरीको लाश देख्दा तपाइँको मन दुख्छ ? यदि दुख्छ भने आफ्नै अगाडि सडकमा लडिरहेका नाबालक छोरीको नाङ्गो लाश हेर्न विवस आमाको नियती कहिले बन्द हुन्छ ?
अजवी पौड्याल, काठमाडौं
२०७७ माघ ३० गते।