उस्तै छ धरतीको रंग
हजुरआमा १३ वर्षको उमेरमा एकल महिला हुनुभयो। उहाँले रातो कपडा लगाएको कहिल्यै देखिनँ। जहिले पनि उही फुस्रो कपडा अनि रङ उडेको अनुहार। चिचिला नाबालक तीन सन्तानको पालनपोषण र काम नै उहाँको जीवनको मार्गदर्शन बन्यो। उहाँले रंगीन जीवनको सपना कहिल्यै देख्न पाउनुभएन।
जीवनको अन्तिम समयसम्म शाहाकारी खाना खाएरै बिताउनुभयो। लोग्नेको निधन भएकाले माछामासुसम्म पनि खानु हुँदैन भन्ने परम्परामा गुज्रिनुभयो। समाजको कठोर परम्परा र संस्कारमा रुमलिँदा रुमलिँदै ६६ वर्षको उमेरमा उहाँले संसार छोडेर जानुभयो। उही रङबिनाकै कपडा रामनामी ओडाएर लगियो आर्यघाट पनि। ठूली हजुरआमा पनि बाल्यकालमै श्रीमान्बिनाकै जिन्दगी बिताउन बाध्य हुनुभयो । असी वर्षमा उहाँले पनि संसार छोड्नुभयो। अन्तिम बिदाइ उहाँको पनि उस्तै।
त्यसपछि उमेर नै नपुगी काकाहरू र बुबाको पनि मृत्यु भयो। आमाहरूका मीठा सपना र रंगहरू बुबाहरूसँगै धुवाँमा त्यति बेलै उडेका थिए, समयका चपेटामा रंग र यौवनलाई कुनाको सन्दुकमा बन्द गरेर। परम्परा संस्कार र कर्तव्यमा दौडिएका थिए आमाहरूका पाइला पनि। उमेर नपुग्दै रहरहरू खुम्च्याएका थिए उनीहरूले। लालीगुराँसजस्ता राता र यौवनले भरिएका मेरी आमाहरूले कयौं आफ्ना रंगहरूलाई बेरंग बनाए। संस्कार र परम्परामा रुमलिए। श्रीमान्ले लगाइदिएका राता रंगहरू श्रीमान्सँगै चितामा जलाइदिएर।
भनिन्छ, बुबा आकाश अनि आमा धरती। बरु आकाशले रंग बदल्छ तर टेक्ने धरती जहिले पनि उस्तै। कैयौंले थिचेको त्यही बाँझो धरतीलाई आमाले बनाइरहिन् उर्वर। धरती भएरै सायद मेरी आमाले सहिरहिन् धरतीझैं निरन्तर निरन्तर। गुणहरूकी खानी आमा सायद धरती बनेकै कारण रंग उड्दा पनि रंगीन भइरहिन्।
रातो ठूलो गोलो टीका र रातै धोती फरिया मन पराउने मेरी आमाले त्यस्ता टीका र धोती लगाउन छोड्नुभयो। बुबा बितेपछि आज पनि तस्बिरमा देखेर सम्झन्छु, शिवरात्रिमा पशुपति गएको बेला आमा रहरले पुलकित हुँदै राता टीका र चुराहरू निकै किन्नुहुन्थो। सेतो अनुहारमा रातो मखमलको टीका वास्तवमै चम्किलो देखिन्थ्यो। तर त्यो टीका आमाको निधारमा छोटो समय मात्र रह्यो। जीवनको उतारचढाव निकै देखेकी मेरी आमाले जीवनमा खुसी खासै पाइनन्। वेदनाका चोटहरूले उनलाई बारम्बार ठेस दिइरह्यो। समाजले अनि एक्लोपनले पनि।
आफ्ना भन्नेहरू बाबाको लास जमिनमा लडिरहँदा पनि कोही थिएनन्। न नन्द न आमाजू। न देउरानी न जेठानी। जुन बेला जो आमाको ढाडस बन्नुपथ्र्यो, अहँ त्यो बेला तिनीहरू भएनन्। पुस महिनाको चिसो रातमा बुबाको मृत्युमा आमाको शरीर मात्र होइन, मन पनि कठ्यांग्रिएको थियो। तर पनि आमाले हातमा लगाएका चुरा र पोते बुबाको लासमा फुटाउनुभयो। लगनको पोतेलाई लासमा फ्याँकिदिनुभयो। नाकको फूली बुबाको मुखमा हालिदिनुभयो बिना कसैको सहारा। बिहानीपख चार बजिसकेको थियो, आमाले लगाइरहेको रातो कुर्था फुकालेर फालिदिनुभयो। आफन्तले ल्याइदिएको एकसरो सेतो फरिया बेर्नुभयो। हेर्दाहेदै आमाको रूप सबै फेरियो। आमाको जीवनको नयाँ दौड फेरि सुरु भयो। नुन खान नहुने पुस महिनामा दिनहुँ नुहाउनुपर्ने अनि घेरिनुभयो बार्नुपर्ने थुप्रै संस्कार र परम्परामा।
म र भाइ आमाको काँधमा निर्भर थियौं। छोरालाई विदेश पठाउने र छोरीको बिहेबारीको तयारीमा जुटिरहेकी उनै आमा डिप्रेसनको औषधि खान थाल्नुभयो। आफू मनमनै रोएर पनि हामी सन्तानलाई खुसी राख्न सक्दो पहल र प्रयासमा देख्थ्यौं हामी। असहज जिन्दगी बाँचेर पनि हाम्रो जिन्दगीलाई सहज बनाउन खोज्ने आमा देखेर आजित हुन्थ्यौं। आश्रित हामीबाट आमाले कुनै चाहना राख्नु भएन। लाग्छ, लिनु होइन दिनु आमाहरूको विशेषता हो।
समयले यसरी कोल्टे फे¥यो कि मानौं आमाका कुनै सपना छैनन्। न लगाउने रहर न त मीठोमसिनो खाने मन। अनि अचम्म हामीभित्रै लुकिरह्यो, व्यस्तताको दौडधुपमा आफैंलाई हराउने हामीले आमालाई कहीँ खोजेनौं। श्रवणकुमार बन्न सकेनौं हामी तर आमा सीता बनिन्, बनिरहिन्। भनिन्छ, बुबा आकाश अनि आमा धरती। बरु आकाशले रंग बदल्छ तर टेक्ने धरती जहिले पनि उस्तै। कैयौंले थिचेको त्यही बाँझो धरतीमा आमाले बनाइरहिन् उर्वर। धरती भएरै सायद मेरी आमाले सहिरहिन् धरतीझैं निरन्तर निरन्तर। गुणहरूकी खानी आमा सायद धरती बनेकै कारण रंग उड्दा पनि रंगीन भइरहिन्।
बुबा बितेपछि धैरैले भने, रोगी लोग्नेलाई कति हेर्नु मरेकै ठीक भयो। कतिले भने, चित्त नदुखाऊ यो बिरामी लोग्ने बाँचेको भए पनि के काम ? तिमीलाई सुखै भो। श्रीमान्सँगको रंगीन जीवनमा हरियाली बनेर स्वर्गमा रमाइरहेकालाई के थाहा ? एउटी श्रीमतीका लागि असल श्रीमान्भन्दा स्वर्ग अरू के हुन्छ भनेर। मनमनै समाजका आमाहरू तुलना गर्न थालें। हिजोसम्म कमजोर लाग्ने आमा आज सबैभन्दा बलियो देखिरहेछु। किड्नीले लछारपछार पारेको वर्षौंदेखि बिरामी बुबालाई डाइलासिसको सहारामा बचाउन के र कति मात्र प्रयत्न गरिनन् आमाले ?
आमाहरूले परीक्षा नदिएको समय कहिले होला ? समय–समयमा आमाहरूले अग्निपरीक्षा दिइरहेका हुन्छन्। जति योग्य काम गरे पनि, सहकार्य गरे पनि आखिर नारीलाई लाञ्छना लगाइरह्यो समाजले। विवाह नगरी बस्यो भने यही समाज भन्छ— कठै जवानी यसै खेर फाली त्यसले। विवाह गरी भने त्यही समाजले भन्न थाल्छ— उत्ताउली ! पोइबिना बाँच्नै नसक्ने। दुईधारे समाजलाई कसरी परिभाषित गर्नु ? प्रश्न अनुत्तरित नै छ।
समाजमा नारी उत्थानका धैरै कुरा छन्। समयअनुसार नारी चरित्रमा थुप्रै लाञ्छना लाग्ने गरेका छन्। छोरो बित्दा बुहारी बेरंग बस्नुपर्ने तर बुहारी बित्दा त्यही समाज फरक दृष्टिकोण तेस्र्याउँछ, अचम्मको तर्क गर्छ र भन्छ, मर्दले १० वटी पनि भित्र्याउँछ नि। अनि चिचिलाको बिचल्ली हुने गरी भित्र्याउन बाध्य पार्छ सौतेनी आमा। समाज बाध्य पार्छ, एक जनाको झिनो खुसीका लागि सन्तानका कैयौं खुसी लुट्न। आमाहरू बितेपछि किन बाबाहरू आमा बन्न सक्दैनन् ? सक्छन् त आमाहरू बाबु बन्न।
एउटी देउरानी पर्नेकी आमा केही समयअघि बित्नुभयो। उनका बाबाले छोराको विवाहको छ महिनाअघि नै अर्की भित्र्याए। ६० वर्षको उमेरमा ३८ वर्षे कन्या। सहारा खोज्नु राम्रो कुरा हो। बुबाले खोजे पनि आमाले खोजे पनि आखिर सहारा नै हो तर किन विभेद गर्छ समाज ? उमेरले ५० काटेको भए छुट्टै हो तर २५÷३० मै जीवनसाथी गुमाउने आमाहरूलाई अन्माउन किन हिचकिचाउँछ नेपाली समाज ? के फुस्रो अनुहार नै सही लाग्छ समाजलाई ?
कहिले छोराको चाहना त कहिले छोरीको। यसैमा अल्मलियो आमाको जीवन। १४ वर्षमा भएको थियो आमाको विवाह। उति बेला घरबाट शृंगार गरेर निस्कँदा घरमा राख्न र धान्न नसिकने आरोपहरू आमाले कति खेपिन् उनैलाई थाहा छ। त्यही शृंगार मेरी आमाका लागि अभिसाप बनेको थियो। जवानीमा सुन्दर आमालाई बाध्यताका रोगहरूले उमेरै नपुगी चाउरिन बाध्य बनाइदियो। त्यति बेलाको समयमा हजुरबुबाको साटो हजुरआमा पहिले बितेको भए सायद हजुरबुबाले एक महिनामै अर्को विवाह गर्नुहुन्थो सायद। हाम्रो समाजमा एउटा पुरुषले तुरुन्तै विवाह गर्ने र बहुविवाह गर्ने चलन थियो र छ। यही चलन उति बेला आइमाईलाई पनि भइदिएको भए मेरा आमाहरू कलिलो उमेरमा सहाराविहीन बन्न पर्दैनथ्यो।
समय परिवर्तन भएको छ। कम उमेरमा श्रीमान्बाट एक्लिनु परेकाहरूले पनि पञ्चेबाजा बजाएर विवाह गर्न थालेका छन्। आज यस्ता उदाहरण थुप्रै छन्। परिवर्तन भएकोमा खुसी लाग्छ तर चाहिनेभन्दा बढी देखावटी र तडकभडक छ। दोस्रो विवाहमा पनि देखाउने चलनको विस्तार क्रमशः बढ्दो छ। परिवर्तनको नाममा चाहिनेभन्दा परिवर्तन र देखावटीचाहिँ समाजकै लागि खराब हुन नसक्ला भन्न सकिँदैन। परिवर्तन यसरी हुनुपर्छ कि आफू पनि बाँच्नुपर्छ र अरूलाई पनि बचाउनुपर्छ। अरूलाई मारेर आफू खुसी हुने अधिकार कसैलाई छैन।
घरमा आमा छिन् र म ढुक्क छु भन्नेहरू धैरै छन्। आमाका पनि इच्छा, चाहना, आवश्यकता र सपना छन् भनेर देख्न छोडेका छौं। मेरी आमाको हेराइ र बुझाइ धैरै फरक छ। एक दिन आमालाई सुनाएँ, सन्तान पाउन र हुर्काउन धेरै गाह्रो हुँदो रहेछ। आमाले हाँसेर जवाफ दिनुभयो, ‘हो।’ जवाफ सुन्दर र मीठो थियो।
कुरा घुमाएर कुरो कोट्याएँ, देउरानीको बुबाले पत्नीको निधन भएको तीन महिना नपुग्दै विवाह गरेछन् नि तपाईंले किन नगरेको ? जवाफ झनै सरल र सहज थियो, ‘तिमीहरूको सुखका लागि नि। मैले दोस्रो विवाह गरेको भए तिमीहरूको कति बिजोग हुन्थो। आज कहाँ हुन्थ्यौ ?’ सोचें, आमा पहिले बित्नुभएको भए सायद हाम्रो संंसार अन्धकारमा जाकिन सक्थ्यो। आमा आफ्ना सपना पछाडि धकेलेर हाम्रा सपनालाई अगाडि सार्नुहुन्थ्यो।
एक जना गाउँले काकीले भन्नुहुन्थ्यो, ‘विवाह भएको दुई वर्षमै काका बित्नुभयो। सानै उमेरमा म एक्लिएँ। सानी नानीको अनुहार हेरेर बसेकी छु। आज ११ वर्ष भइसक्यो।’ म अवाक् भएँ। उनको अनुहार र कुरा दुवैले। उनले भनेको अर्को कुराले भने आजसम्म रन्थनिइरहेकी छु, ‘घरकी सासूले भन्नुहुन्छ, घर धानेर बसेस्। माइतीले भन्छ, आफ्नो इज्जत नफालेस्।’ ती काकीका पखेटा छन्, उड्ने क्षमता छ तर त्यो स्वतन्त्रता छैन। क्षमतालाई पिँजडामा थुनेकी छन्।
आमाहरू महान् छन्। जीवनका उदाहरण हुन्, बाँझो धरतीमा फूल फुलाउने हैसियत राख्छन् आमाहरू। यतिखेर गुणरत्नमालामा पण्डित जगनाथले लेख्नुभएको कविताको हरफ याद आउँछ :
जिब्रो पढ्न र मन्त्र पढ्न बन्यो
न स्वादको खातिर यो चोला उपकार गर्न बन्यो
शृंगारमा के छ र ?
यस्तै छन् महिलाका जिन्दगीहरू। अरूकै उपकार गर्न नै समय खर्चिरहेछन्। कहिले श्रीमान्लाई खुसी बनाउने त कहिले सन्तानका लागि मरिहत्ते गर्ने। हो, हाम्रा आमाहरू महान् छन्। आमा पूजापाठ गर्नुहुन्छ। उहाँको दुःख र गुनासो पोख्ने ठाउँ सायद पूजाकोठा नै हुनुपर्छ नत्र किन कहीँकतै कसैलाई आफ्ना दुःख सुनाउनुहुन्न ? स्वस्थानीको कथा सुनेर पार्वतीसँग छुट्टिएर अलापविलाप गर्दै शिव बौलाए। ७० वर्षको उमेरमा ७ वर्षकी केटी विवाह गरे। पार्वतीसँग दुःख सहन सक्ने क्षमता थियो, त्यसैले सायद उनी हिलोमा कमलको फूल बनेर सजिइन्। राम जसले श्रीमती सीताको अग्निपरीक्षा लिए। एक्लै वनमा छोडे। दुई बच्चाका साथ जीवन बिताइन् तर पनि अग्निपरीक्षा दिएर आफूलाई जमिनमा बिलाइन्। यसैले भनिएको होला नारीलाई धरती।
वर्षौंपछि घर फर्किएका श्रीमान्लाई कुनै पनि श्रीमतीले अग्निपरीक्षा लिएका छन् त ? तर पनि यस्ता पुरुषलाई पूजा गर्छौं। पुरुषलाई बढी प्राथमिकता दिन्छौं। रातदिन कोठी र रक्सीमा मस्त हुने कठोर मन भएका दुशासनजस्ता लोग्ने छन्। यस्तालाई पूजा गरेर समाजलाई उजागर गर्ने सोच बनाउँछौं। राम जसले समाजको पर्वाह नगरी पत्नीको हात थामेको भए सायद सीताले अकालमा मृत्युवरण गर्नुपर्ने थिएन। लालाबालाले आमाविहीन बन्नु पर्दैनथ्यो। त्याग नारीको छ तर पूजा पुरुषको भइरहेछ। अचम्म लाग्छ, घटना र सन्दर्भ जे भए पनि नाम पहिले रामकै आउँछ।
नारीलाई अपमान गरेर पनि उही पुरुष अघि छ। पितृसत्तात्मक सोचले नेपाली समाजमा अझै जरो गाडेकै छ। पित्तृसत्तात्मक सोचलाई परिवर्तन गर्नु छ। अब आमाहरूले पनि सपना देख्न पाउनुपर्छ।
अब समय आइसक्यो यथास्थितिमा बाँचेको समाजको परिवर्तन।
अब धरतीले पनि ऊर्जा भरेर रंग फेर्न पाउनुपर्छ।
हो, अब आमाहरूले पनि सपना देख्न पाउनुपर्छ।