मूर्ति बनाउने चटारो
विराटरनगर : विद्याकी देवी सरस्वतीको पूजा नजिकिंदै जाँदा कालिगढ (मूर्तिकार) व्यवसायीहरु मूर्ती बनाउन व्यस्त भएका छन्। सरस्वती पूजा नजिकिंदै गर्दा राम्रो आम्दानी लिन आकर्षक मूर्ति बनाउन उनीहरु व्यस्त भएका हुन्।
परम्परा अनुसार माता सरस्वतीको पूजा गर्न विद्यालयहरुमा मूर्तिको आवश्यक्ता पर्ने भएकाले विभिन्न ठाउँमा सरस्वती माताको मूर्ति बनाउन अहिले कालिगढहरु लागिपरेका छन्।
एउटा सरस्वतीको मूर्ति आकार हेरेर २ हजार देखि १४ हजारसम्ममा बिक्री हुने गर्दछ। सरस्वती पूजाको समयमा करिव ८० हजारसम्मको मूर्ति बिक्री हुने गरेको विराटनगर १३ का मूर्तिकार बाबुराम महतोले बताए। दुई जना सहयोगी कालिगढ राखेर मूर्ति बनाउन लागेको उनले बताए। परम्परागत पेशा नभए पनि बुवा विजयप्रसाद महतोले गर्दै आएको काममा लागेका हुन् उनी। कालिगढ बनेका उनले विगतमा जस्तो मूर्ति यसपालि बिक्री नभएको बताए। पहिला २ सयभन्दा बढी सरस्वतीको मूर्ति बिक्री हुने गरेको बताउँदै उनले भने, ‘अब सय वटा पनि बिक्री हुन समस्या हुने गरेको छ।' उनले वर्षभरि मूर्ति बेचेर वार्षिक तीन लाखसम्म आम्दानी गर्ने गरेको बताए।
मूर्ति खास गरी कुमालहे जातीले बनाउने गर्दछन्। तर केहि समय यता अन्य जातिले पनि बनाउँछन्। सुनसरीको गढी गाउँपालिका ३ निवासी इन्द्रजित चौधरीले विराटनगर १३ मा मूर्ति बनाउँदै आएका छन्। प्रत्येक वर्ष झै यस वर्ष पनि सरस्वतीको मूर्ति बनाएर बेच्न उनी बिहान ८ बजेदेखि राती ११ बजेसम्म काम गर्छन्। उनले आकर्षक मूर्ति नबनाए बिक्री नहुने भएकाले आकर्षक मूर्ति बनाउनुपर्ने बताए। आफूले बनाएको मूर्ति बथनाहा पुर्याउने गरेको उनको भनाइ छ। उनले मूर्ति बनाएर घरपरिवार चलाउन कुनै समस्या नहुने बताए।
अधिकांश निजी तथा सामुदायिक विद्यालयले सरस्वती पूजाको दिनमा विद्यालयमा माता सरस्वतीको मूर्तिको प्रतिमा प्रतिस्थापन गरेर पूजा गर्ने गरेका छन्। यस वर्ष सरस्वती फागुन ४ गते परेको छ।