भागरथी हत्या प्रकरण : विद्यार्थी त्रासमा

भागरथी हत्या प्रकरण : विद्यार्थी त्रासमा

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–७ भाडिपुछडकी चाँदनी भट्ट साथी भागरथीको हत्यापछि धेरै दिन विद्यालय गइनन्। उनी, भागरथीले पढ्ने सनातन धर्म माविको कक्षा १२ की छात्रा हुन्। भागरथीले व्यवस्थापन विषयकी छात्रा थिइन्। चाँदनीले स्वास्थ्य विषय लिएकी छिन्। ‘अनिवार्य भएकाले अंग्रेजी बाहेकको कक्षामा भेट हुन्थेन, स्कुल लाग्नु र छुट्ने बेला मात्रै भेट हुन्थ्यो’, चाँदनीले भनिन्, ‘त्यो दिन (भागरथीको हत्या भएको दिन) बिहान स्कुलमा हेलोहाय मात्रै भयो।’ एउटै विद्यालयकी छात्रा भागरथीको हत्या भएपछि चाँदनी जस्तै अन्य छात्रा विद्यालय गएका छैनन्। 

सो घटनापछि धेरै छात्रा त्रासमा छन्। दोगडा केदार गाउँपालिका–७ इस्लेककी पूजा भट्टले भनिन्, ‘विद्यालयबाट घर आउने बाटोमै त्यस्तो बीभत्स घटना देखियो, अहिले पनि डर लागिरहेको छ।’ उनी पनि सोही विद्यालयको कक्षा १२ की छात्रा हुन्। सनातन धर्म मावि दोगडाकेदार गाउँपालिका–३ खोचलेकमा पर्छ। 

सो विद्यालय जान चडेपानी गाउँबाट एक घण्टाभन्दा बढी लाग्छ। चडेपानी ठूलो गाउँ हो। त्यहाँ स–साना बस्ती छन्। पोडाडा, पासिमबाटा, तल्लो र मल्लो बर्तोली, तल्लो र मल्लो कोडा, इस्लेक, कतोला, बगौरा, पौडा, कटौजाडी चडेपानी भित्रका स–साना बस्ती हुन्। यी बस्तीका बालबालिका चडेपानीको भूमिराज माविमा कक्षा १० सम्म पढेर माथिल्लो कक्षाका लागि सनातन धर्म माविमा जाने गर्छन्। 

चडेपानीका १२ जना सनातन धर्म माविमा अध्ययनरत छन्। तीमध्ये ५ जना छात्रा छन्। ‘घर नजिकै मेलापात गर्ने वनमा यस्तो घटना भएपछि, अझ त्रास भएको छ’, चाँदनीले भनिन्। भागरथीको हत्या भएको स्थान चाँदनीको घरबाट करिब पाँच सय मिटरको दूरीमा छ। त्यो क्षेत्र पूजा र भागरथीले बाख्रा चराउन, घाँसपात काट्ने र दाउरा ल्याउने वन हो। ‘यसअघि यस्तो घटना भएको थिएन। एक्लै पनि विद्यालय जाने र आउने गरिन्थ्यो। तर अहिले एक्लै जान डर लाग्छ’, पूजाले भनिन्, ‘वनमा पनि वस्तुभाउ चराउन गइन्थ्यो, अहिले त्यो घटनाले निकै डर लागेको छ।’ शुक्रबार लोसार र शनिबार सार्वजनिक बिदा भएपछि सनातन मावि आइतबार खुल्यो। चडेपानीका सबै विद्यार्थी पासिमबाटामा भेला भएर मात्रै विद्यालय पुगे। ‘विद्यालय जानुअघि हामी सबै भेला भयौं, अझ दोगडाकेदार गाउँपालिकाका कृषि जेटीए भानदेव भट्टलाई पनि पर्खियौं, अनि समूहमा विद्यालय गयौं र समूहमै घर पनि फर्कियौं’, चाँदनीले भनिन्। 

सनातन धर्म माविबाट पाँच मिनेट हिँडेपछि, खोचलेक बजार आउँछ। खोचलेक बजारको केही तल दोगडाकेदार गाउँपालिकाको केन्द्र पनि छ। बैंक तथा वित्तीय संस्था भएकाले बजारमा चहलपहल हुने गर्छ। त्यसपछि भीरकट्या भन्ने डाँडो भएर सिल्ल गाउँ हुँदै लवलेक वनमा पुगिन्छ। खोचलेक बजारबाट लवलेक वनको दूरी झन्डै एक किलोमिटर छ। करिब दुई किलोमिटरको वन क्षेत्र सकिनेबित्तिकै पासिमबाटा भन्ने गाउँ सुरु हुन्छ। 

पासिमबाटा भन्ने स्थानबाट चार सय मिटरको दूरीमा भागरथीको हत्या भएको हो। सुरुका दिनमा डरत्रासले गर्दा छोराछोरीलाई विद्यालय नपठाइएको चाँदनीका बुवा नवराज भट्टले बताए। आफ्नै गाउँमा कक्षा १० सम्म मात्रै पढाइ हुने भएकाले छोराछोरीलाई टाढाको विद्यालय पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ। विद्यालय जान जंगलको बाटो हिँड्नुपर्ने भएकाले धेरै अभिभावकले कक्षा १० पास गएपछि छोरीको बिहे गरिदिन्छन्। चडेपानी गाउँको भूमिराज विद्यालय २०३९ मा कक्षा ३ सम्म मात्रै पठनपाठन हुन्थ्यो। त्यहाँ २०५० मा कक्षा ५ सम्म, २०५१ सालमा निमावि र २०६४ सालदेखि ९ कक्षाको पढाइ हुन थालेको हो। २०७० पछि मात्रै बालिका खोचलेकको विद्यालय जान थालेका हुन्। भूमिराज विद्यालयका शिक्षक महेशशरण भट्टका अनुसार कक्षा ९ र १० को पढाइ दुई जना राहत शिक्षकले धानेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.