कौडामा सन्तुसँग सिन्धु
काठमाडौं : विभिन्न विधाका गीतमा आफूलाई अब्बल साबित गरेका गायक सन्तु थापाले गायनको क्षेत्रमा आफूलाई स्थापित गराएकी गायिका सिन्धु मल्लसँग कौडा गीतमा जुगबन्दी गरेका छन्। स्थानीय भाकाहरूलाई टपक्क टिपेर जस्ताको त्यस्तै पस्कने सन्तु र सिन्धुले ‘सुपारी काँचो’ बोलको कौडा गीत तयार पारेका हुन्।
आकर्षक म्युजिक भिडियोसहित श्रोतामाझ आउन लागेको यो गीतमा शब्द तथा संगीत सुरेश रानामगरको छ भने भिडियोको निर्देशन दीप कोके गुरुङले गर्दै छन्। सन्तुले भर्खरै मात्र ‘लाहुरे दाइ’ बोलको पञ्चेबाजा गीत भिडियोसहित श्रोता–दर्शकमाझ ल्याएका छन्। आफ्नै युट्युब च्यानलमार्फत रिलिज गरिएको गीतमा उनलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छन्।
अनिश दवाडीको शब्दमा खेम सेञ्चुरीले संगीत भरेको भिडियोको निर्देशन गायक स्वयंले गरेका हुन्। पञ्चैबाजालाई विश्वसामु चिनाउन यो मौलिक भिडियो निर्माण गरेको सन्तुले बताए।
लोकदोहोरी, आधुनिक, पप, तीज गीतलगायतका दर्जनौं गीतका सर्जक सन्तु गुल्मी तम्घासका स्थायी बासिन्दा हुन्। सानैदेखि गीत–संगीतमा लागेका उनी २०६८ सालबाट व्यावसायिक गायनमा लागेका हुन्। गायनमार्फत स्टेज तताउन सिपालु उनले यूके, अस्ट्रेलिया, बेल्जियम, फ्रान्स, स्पेन, इटाली, लक्जम्बर्ग, पोल्यान्ड, मलेसिया, दुबई, भारतलगायतका देशमा नेपाली गीत–संगीत प्रस्तुत गरिसकेका छन्।