पर्यटन प्रवर्द्धन गर्न साइक्लिङ च्यालेञ्ज
झापा : झापामा पहिलोपल्ट आन्तरिक पर्यटन प्रवद्र्घन गर्ने उद्देश्यका साथ साइक्लिङ च्यालेञ्ज प्रतियोगिता हुने भएको छ । साइकल चलाऔँ, स्वस्थ रहौँ, पर्यावरण जोगाऔँ, आन्तरिक पर्यटन प्रवर्द्धन गरौँ, भन्ने नाराका साथ जेनियम युवा क्लब धुलाबारीले यहि फागुन १५ गते ‘जेनियम साइक्लिङ च्यालेञ्ज २०२१' प्रतियोगिता गर्ने भएको हो । क्लबले बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
मेचीनगर नगरपालिकास्थित धुलाबारीबाट सुरु हुने प्रतियोगिता शान्तिनगर, बहुवन, तेलपानी, बौद्धमोड, बाहुनडाँगी, काँकडभिट्टा, इँटाभट्टा हुँदै पुनः धुलाबारीमा आएर टुंगिने आयोजकले जनाएको छ ।
साइक्लिङको दुरी ४० किलोमिटरको हुने र दूरी पूरा गर्न कम्तीमा ७० देखि ९० मिनेट लाग्ने क्लबका अध्यक्ष धनराज थापाले जानकारी दिए । प्रतियोगितामा झापा, इलाम, पाँचथर र ताप्लेजुङबाट महिला र पुरुष दुवैले भाग लिने आयोजकले जनाएको छ ।
क्लबका अध्यक्ष थापाका अनुसार स्थानीय युवाहरूको सक्रियतामा हुन गइरहेको प्रतियोगितामा २ सय भन्दा बढी प्रतियोगीले भाग लिनेछन् । प्रतियोगिताको विजेताले नगद ३५ हजार र गिफ्ट ह्याम्पर, दोस्रो हुनेले ३० हजार, र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्ने क्लबका सचिव रोजेश प्रसाईंले पत्रकार भेटघाटमा बताए । त्यस्तै, चौथोलाई ३ हजार, पाँचौँलाई २ हजार र छैठौँदेखि दसौँसम्मलाई जनही १ हजार नगदसहित ट्रफी र आकर्षक पुरस्कार प्रदान गरिनेछ ।
निःशुल्क आवेदन दिन सकिने प्रतियोगितामा भाग लिने प्रतियोगीले हेलमेट, सन ग्लास, स्पोट सुज, साइक्लिङ ड्रेस लगाउनु पर्ने र प्रतियोगीले नै साइकलन ल्याउने पर्ने क्लबका कोषाध्यक्ष सञ्जय खड्काले जानकारी दिए ।
कार्यक्रम सम्पन्न गर्न ५ लाख नौ हजार खर्च हुने अनुमान आयोजकले गरेको छ । झापामा मात्र ५ सयको हाराहारीमा साइक्लिस्टहरु रहेको बताउँदै क्लबका सहयागी बुद्ध तामाङले प्रतियोगिताका लागि मेचीनगर नगरपालिका वडा नम्बर ९ र १० मुख्य प्रायोजक तथा सहप्रायोजकको रुपमा टावर टेम्पल इङलिस बोर्डिङ हाइस्कुल बिर्तामोड र विर्ता आई हस्पिटल बिर्तामोड रहेको जानकारी दिए ।
कार्यक्रम सञ्चालन समेत गरेका तामाङका अनुसार प्रतियोगिता सफल बनाउन बर्दु भ्याली, जोइनर जुस, यमी अनलाइन फुड डेलिभरीलगायतका व्यावसायिक प्रतिष्ठानले सघाउने छन् ।