एचआइभी संक्रमित बालबालिकाका अगाडि ‘जब शिक्षामन्त्रीको गला अवरुद्ध भयो’
काठमाडौं : कीर्तिपुरको भत्केपाटीस्थित सफलता एचआइभी शिक्षा सदनमा सरस्वती पूजा मनाउन पुगेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ भावविह्वल बने। विद्यालयका संस्थापक अध्यक्ष राजकुमार पुनले बालबालिकालाई ‘मेरो छोराछोरी’भनेको सुन्दा आफुलाई मनैमा छोएको बताए। श्रेष्ठको बोल्दाबोल्दै गला अवरुद्ध भएको थियो। उति नै बेला उनले ‘सरी’ भने।
‘यी संक्रमित २७ बालबालिका तपाईका मात्रै छोराछोरी होइनन्। राज्यका छोराछोरी हुन्’ श्रेष्ठले भने ‘यीनिहरुको सेवा गर्नु भनेको ज्युँदो भगवानको सेवा गर्नु सरह हो।’
उनले थपे, ‘पैसा भएर मात्रै पनि यस्तो काम गर्न सक्दैन। सामान्य मान्छेले पनि यो काम गर्न सक्दैन। मान्छेको मनमा देवत्व प्रकट हुनुपर्छ।’
विगत एघार वर्षदेखि बालबालिकाहरुको हेरचाह संस्थापक पुन र उमा गुरुङले गरिरहेका छन् व्यक्तिगत पहलमा। संक्रमित भएकै कारण विचल्लीमा परेको खबर प्रकाशित भएपछि पुन र गुरुङले उनीहरुलाई विभिन्न जिल्लाबाट उद्धार गरे। आफ्नै सन्तानको रुपमा लालनपालन र शिक्षाका जिम्मा लिएका उनीहरुलाई विद्यालय भर्ना गराउन चुनौती भयो। काठमाडौंका धेरै विद्यालयमा गुहार माग्दा कसैले भर्ना गर्न रुचाएनन्। त्यसपछि एचआइभी शिक्षा सदनको स्थापना भएको थियो। हाल उक्त विद्यालयले कक्षा १० सम्म संचालनको लागि अनुमति पाइसकेको छ।
तिनै अपहेलित बालबालिकाहरुलाई प्रत्यक्ष रुपमा भेटिरहेका मन्त्रीले आफ्नो केही प्रतिबद्धता पनि जाहेर गरेका छन्। उनले अबको मितिबाट यस विद्यालय नयाँ रुपान्तरणमा जाने बताए। सरकार आफैँले यस विद्यालयको अभिभावकत्व ग्रहण गरेर व्यवस्थित गर्दै लैजाने जनाए।
घोषित रुपमा संक्रमित भनेको थाहा पाएपछि विद्यालयको गेट नखुलेकोमा दुख मान्दै बालबालिकाको उच्च शिक्षाको लागि जिम्मेवारी लिने बचन दिए। संक्रमित अध्ययनका लागि खुलेको यो विद्यालय सबैभन्दा पहिलो र एकमात्रै हो। एचआइभी शिक्षा सदन कुनै व्यक्तिको पहलमा स्थापना भएपनि यसले सरकारलाई टेवा पुगेको बताए। ‘संक्रमितहरुको शिक्षा सरकारले गम्भीरतापुर्वक लिने विषय हो। सातै प्रदेशमा आधुनिक तरिकाले व्यवस्थापन गर्न सक्यो भने बालबालिका झापा, कन्चनपुरदेखि यहाँ आउन परेन।’
उनले सम्पुर्ण प्रदेशमा संक्रमितको शिक्षाको विषयलाई औपचारिक छलफलमा लैजाने बताए। बालबालिकाहरु समाजमा नबुझेर, थाहा नपाएर, तथा चेतनाको कमीले अपमानित, उपेक्षित, अपहेलित भइरहेको बताए। तर बालबालिकाको अपहेलना किमार्थ स्वीकार्य नहुने र उनीहरुको इज्जत, सम्मान र समाजमा कदर हुनुपर्ने बताए।
श्रेष्ठका अनुसार संक्रमित भएको कुरालाई लुकाएर तथा प्रकट भएर पनि राख्नु हुँदैन। पहिचानसहित अगाडि समाधानको निकासतिर जानुपर्छ। सम्मानजनक ढंगले समाधानको बाटो खोज्ने र बालबालिकाले भोगिरहेका समस्याका बारेमा छलफल गर्दै जाने बताए। अपहेलित, उपेक्षित हुने वातावरणबाट बाहिर आउन विज्ञहरुसँग सल्लाह माग्ने जनाएकाछन्।
हालको स्थिति हेर्दा शिक्षामा नयाँ खालको संरचनाको खाँचो देखेको र व्यवस्थित कार्यदल नै बनाउन आवश्यक रहेको जनाए। यस विद्यलायलाई रेकर्डमा ल्याएर राज्यको तर्फबाट नीति कार्यक्रममा घोषित गर्न पहल गर्ने, नियमित बजेट मिलाउने प्रतिबद्धता जनाए।
सम्मानित ढंगबाट बाँच्न पाउने भोलिका दिनमा बालबालिका समाजबाट अपहेलित भएर बाच्नुपर्ने स्थिति तोडेर सम्मानित भएर बाँच्न पाउने वातावरणको सृजना गर्न उनको भुमिका रहने बताए। बालबालिकालाई अपहेलित महशुस नगर्न सुझाएका छन्। उनले भने ‘२७ बालबालिका हुनु भनेको सिंगो देश प्रकट हुनु हो, यहाँ सिंगो देश प्रकट छ।’
कीर्तिपुर नगरपालिका ५ मा रहेको १० आना जमिनमा बनेको उक्त विद्यालयमा देशैभरिका संक्रमित बालबालिका छन्। तर अर्कै ग्रहबाट आएको जस्तो गरेर बालबालिकालाई समाजले अपहेलना गरेको गुनासो संस्थापक पुनले गरे। पहिचान खुलाएकै कारण समाजबाट घृणित र पढाइबाट बञ्चित भएकाले उनीहरुलाई सम्मानित जीवन दिनुपर्छ भनेर विद्यालय खोलेको बताए। ‘अब राज्यले केही गर्नुपर्छ’ पुनले भने ‘लुकेर होइन, अब खुलेर पढ्नुपर्छ, हाम्रा छोराछोरीको सपना तुहिएर नजाहोस्।’
प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक कोष अन्तर्गत विद्यालयलाई एक करोड रुपैयाँको अक्षय कोष स्थापना गरिदिएको र सामाजिक सुरक्षा भत्ताबापतप्रति बालबालिका तीन हजार मासिक व्यवस्था गरिदिएको पुनले जनाए।