मेसिनबाट दुना टपरी
स्याङ्जा : मेसिनको प्रयोग गरी स्याङ्जाका महिलाले दुनाटपरी बनाउन थालेका छन्। वालिङ नगरपालिका ८ छेउडाँडाका महिला मेसिनबाट दुनाटपरी बनाउने ब्यवसायमा जुटेका हुन्।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा 'कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना' अन्तर्गत महिलालाई तालिम उपलब्ध गराएपछि महिलाहरु व्यवसायमा जुटेका हुन्।
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै महिलाको आयआर्जनमा सहयोग पुग्ने दुनाटपरीको राम्रो सम्भावना रहेको बताउँछिन् उपप्रमुख कल्पना तिवारी। आफ्नै घरमा बसेर व्यवसाय गर्न सकिने यस्ता खालका सीपले महिलाको सिकाइ खेर नजाने उनको भनाइ छ।
‘दुनाटपरीको उत्पादन बढाउनुहोस्, बजारको चिन्ता नलिनुस्’, दियालो संस्थाका अध्यक्ष कविता तिवारीले भनिन्, ‘बजारीकरणको जिम्मा हामी लिन्छौं ।’
स्थानीय बनजंगलमा सहजरुपमा पाइने साल र कटुसका पातको प्रयोग गरी दुनाटपरी बनाउन सकिन्छ। हाम्रा धर्मसंस्कृति, परम्परा र चाडपर्वमा दुनाटपरी अपरिहार्य मानिन्छन्। हिजोआज प्लाष्टिकका विकल्पका रुपमा पनि यसलाई लिने गरिएको छ।
‘यसअघि हातले पात मिलाउँदै सिन्काले आकार दिंदै दुना टपरी बनाउँदा समय धेरै लाग्थ्यो’, गीता रनपालले भनिन्, ‘मेसिन उपलब्ध भएपछि हामी महिला ब्यवसायमा जोडियौं, थोरै समयमा धेरै दुनाटपरी बनाउन सक्छौं।’
कोभिड संक्रमणका बेला क्वारेन्टाइन र आइसोलेनमा रहेका ब्यक्तिका लागि वालिङ नगरपालिकाले टपरीमा खाना उपलब्ध गराएको थियो। टपरीमा खाना र दुनामा तरकारी राखेर दिने गरिएको थियो। अघिल्लो महिना सकुना थापाले महिलालाई ३ दिनको तालिम दिएपछि महिलाले मेसिनबाट दुनाटपरी बनाउन थालेका हुन्। वडाका ३० जना महिलाले तालिम लिएका छन्।