चोरीका चार मोटरसाइकलसहित ७ जना पक्राउ
भक्तपुर : भक्तपुर प्रहरीले चोरीका चारवटा मोटरसाइकलसहित सात जनालाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मंगलबार एकैदिन भक्तपुर र मध्यपुर थिमिबाट दुइटा मोटरसाइकलको चोरी भएको थियो । त्यस्तै गएको पुस ६ र ८ गते थप दुइटा मोटरसाइकल चोरी भएको थियो ।
चोरी भएका चारवटै मोटरसाइकल पल्सर २२० सीसीको रहेका छन् । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले मंगलबार भक्तपुर नगरपालिका ७ आदर्शचोकमा चेकजाँच गर्ने क्रममा बा ९८ प ८९६४ नम्बरको मोटरसाइकल चोरी गरेर लाँदै गरेको खुल्न आएको जानकारी दिए ।
उनका अनुसार उक्त मोटरसाइकल स्थानीय हरिगोविन्द शिल्पकारको नाममा रहेको थियो । उक्त मोटरसाइकल चोरी गरेर लाँदै गरेका दोलखाको शैलुङ गाउँपालिका ४ घर भई हाल ललितपुरको धोबीघाट बस्ने २७ वर्षीय अभिषेक योञ्जन र शैलुङ गापाकै ६ वडा घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने १९ वर्षीय सुमन नेपालीलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
उनका अनुसार मंगलबार नै मध्यपुर थिमि नपा ५ स्थित अरनिको राजमार्गमा पार्किङ गरिराखेको प्रदेश ३–०२–०१७ प ७०४८ नम्बरको मोटरसाइकल चोरी गरिएको थियो । स्थानीय कुमार श्रेष्ठको नाममा रहेको उक्त मोटरसाइकल चोरी गरेर लाँदै गरेको अवस्थामा प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले दोलखाको शैलुङ गाउँपालिका २ घर भई भक्तपुरको सूर्यविनायकमा बस्ने २३ वर्षीय फुर्वा तामाङ र २१ वर्षीय राजु तामाङलाई नियन्त्रणमा लिएको उनले बताए । प्रहरी नायब उपरीक्षक गिरीका अनुसार महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक सुदन केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको थियो ।
उनका अनुसार ओखलढुंगा प्रहरीको सहयोगमा भक्तपुरबाट मोटरसाइकल चोरी गरी लाने ३ जनालाई माघ २४ गते भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले ओखलढुंगाको लिखु गापा ९ बस्ने २२ वर्षीय कुलबहादुर तामाङ र २४ वर्षीय गोविन्द गौतम तथा खिजी देम्बा गापा २ बस्ने २८ वर्षीय पञ्चमान तामाङलाई नियन्त्रणमा लिएको थियो ।
भक्तपुर प्रहरीका अनुसार उनीहरुले गएको पुस ६ गते भक्तपुरको सूर्यविनायक नपा ८ सिपाडोल निवासी किसन थापाले आफ्नै घर कम्पाउण्डमा पार्किङ गरिराखेको प्रदेश नं ३–०२–०१० प ७१४१ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल चोरी गरेका थिए ।
त्यस्तै माघ ८ गते भक्तपुर नगरपालिका १ गणेश स्कुल नजिक डेरा गरी बस्ने पेम्बा तामाङले पार्किङ गरिराखेको प्रदेश २–०२० प ८८२७ नम्बरको मोटरसाइकल पनि उनीहरुले चोरी गरी लगेका भक्तपुर प्रहरीले जनाएको छ ।
मोटरसाइकल चोरी भएको निवेदनको आधारमा खोजतलास गर्दै जाने क्रममा माघ २४ गते जिल्ला प्रहरी कार्यालय ओखलढुंगासँग समन्वय गरी खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चोरीका २ वटा मोटरसाइकलसहित ३ जना युवाहरुको साथमा बरामद भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
उनका अनुसार चोरी भएका मोटरसाइकल धनीहरुले पक्राउ परेका युवाहरुविरुद्ध किटानी जाहेरी दिइसकेका छन् । उक्त जाहेरीको आधारमा कानुनबमोजिम थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।