विराट राजदरवारको ऐतिहासिक उजागर
विराटनगर : सधैंजसो सुनसान देखिने विराटनगर भेडियारीको विराट राजदरवार परिसरमा मंगलबार बिहानैदेखि भीडभाड देखिन्थ्यो। हातमा स्केच र कुची बोकेका चित्रकारहरु दरवारको अवशेष खोतल्न व्यस्त देखिन्थे।
कोही मन्दिरको फोटो खिचिरहेका थिए त कोही केही पुरानो साम्रगी भेटिन्छ कि भनेर निकै उत्सुकता साथ दरवार परिसर घुमिरहेका थिए। उनीहरुलाई दरवारको धेरैभन्दा धेरै जानकारी लिनु थियो। अदृश्य दरवारको संरचनालाई चित्रमा उतार्नु थियो।
विभिन्न पुराणमा व्याख्या गरिएको तर कसैले पनि देख्न नपाएको, आधिकारिक फोटोसमेत उपलब्ध नभएको खण्डहर अवस्थामा छ विराट दरवार। जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि भनेझै मंगलबार चित्रकारहरुको एक समुहले विराट दरवार परिसर पुगी काल्पनिक दरवारको चित्र बनाएका छन्। किंवदन्तीमा सुनिए जस्तै महाभारत र पुराणमा व्याख्या गरिएजस्तै कलात्मक दरवारको स्केच निर्माणमा उनीहरु जुटेका हुन्।
एभरेष्ट आर्ट फ्युजन मोरङको आयोजना, ललितकला संगम विराटनगर र विराटनगर महानगरपालिकाको सहयोगमा विराट राजाको दरवार परिसरमा जलरंग चित्रकला काव्यशाला सम्पन्न भएको हो। जहाँ देशका विभिन्न ठाउँका ख्यातिप्राप्त चित्रकारहरु समेत सहभागी थिए।
महाभारतपर्व र विभिन्न वेद पुराणमा वर्णित प्रसङ्गमा विराट राजा र दरवारको चर्चा गरिएको छ। विराट राजा लिच्छिवी कालका सशक्त राजा मानिन्छन्। कार्यकुशलता र कुशल काम, न्यायको लागि विराट राजाको चर्चा हुने गर्दथ्यो। विराट दरवारमा पाण्डवहरु एक वर्षसम्म गुप्तवास बसेका थिए भन्ने किंवदन्ती पनि पाइन्छ। विराटनगर १८ मा रहेको भेडियारीमा विराट राजाको दरवार रहेको विभिन्न अनुसन्धान र प्रमाणहरुले पुष्टि गर्छन्। हाल ध्वस्त प्राय रहेको यो दरवारलाई विराटनगर महानगरपालीका तथा पुरातत्व विभागले पुननिर्माण गर्नको लागि तयारी गरिरहेको छ।
विराट राजदरवार, ऐतिहासिक उजागर भन्ने श्लोगनका साथ सुरु भएको काव्यशालामा सहभागीहरुले कलाको माध्यमबाट पर्यटनलाई विकास गर्नका लागिका सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। सहभागीहरुले दरवार संरक्षण तथा पहिचानमा लागिपरेका अभियन्ता स्थानीय कमल किशोर यादवले व्यक्तिगत तवरमा स्थापना गरेको विराट दरवार संङ्रगालयको अवलोकन समेत गरिएको थियो।
उनको संग्राहलयमा भएका साम्रगीहरुलाई पुरातत्व विभागले प्रमाणित समेत गरेको छ। करिव ५००० वर्ष अगाडिको अनुमान गरिएका यी सामाग्रीहरु आफैँमा महत्पपूर्ण छन्। विराट संग्रहालयमा ढुगांबाट बनेको प्राचीन ढक, शि माला, भद्रीका देवीको मूर्ति, ढुंगाको प्राचीन शिलालेख, अल्सी, माटोको प्राचीन मूर्ति, इँटा लोहोरो, चामल लगायतका साम्रगी सङग्रहित छन्।
चित्रकारको कामलाई प्रशंसा गर्दै काव्यशालामा उपस्थित भएका विराटनगर महानगरपालिकाका मेयर भीमप्रसाद पराजुलीले विराट दरवारको पुननिर्माण गरी सो स्थानलाई आध्यात्मिक पर्यटकीय स्थानको रुपमा विकास गर्नका लागि काम गरिरहेको जानकारी दिए। उनी भन्छन्, ‘पुननिर्माण आफैँमा एउटा कला हो। कलाले इतिहास बचाइरहन्छ। कलामय सहर बनाउन सकियो भने पर्यटकलाई तान्न सकिन्छ। दरवार परिसरमा भेटिएको मानदेवको प्राचीन सिक्कादेखि अझै पनि अस्तित्वमा रहेका विराट राजाको नृत्यशाला, किच्चकबध पोखरी, धरोहर पोखरी जस्ता ऐतिहासिक स्थानलाई संरक्षण गर्नु आवस्यक छ।’ उनले इतिहासलाई जिवन्त राख्ने माध्यम कला, साहित्य र संस्कृति भएको बताउँदै इतिहास जोगाउने जिम्मा आजको पुस्ताले लिनुपर्ने बताए।
मोरङ जिल्लाको पथरी शनिश्चरेमा यही फागुन १ गतेदेखि सुरु भएको जलरंग चित्रकला महोत्सव विराटदरवार परिसरको काव्यशालासँगै सम्पन्न भएको हो। महोत्सवका लागि विभिन्न जिल्लाका चित्रकारहरु पथरी भुल्के सिमसार पुगेका थिए। कलालाई आत्मनिर्भरको बाटो बनाउनु पर्छ भन्ने उद्देश्यका साथ विभिन्न ठाउँमा चित्रकला कार्यशाला गरिएको थियो। भुल्के सिमसार क्षेत्र, पिछडिएको सन्थाल बस्ती, पथरी शरणार्थी शिविर, धरान भानुचोक, घण्टाघर परिसर तथा विराटनगर विराट दरवार परिसरमा विभिन्न कार्यक्रम गरी सम्पन्न भएको हो।