स्वअस्तित्वको संघर्ष
एउटा प्रचलित कथन छ, ‘युद्ध र प्रेममा सबै कुरा न्यायसंगत हुन्छ।’ सानु शर्माको भर्खरै प्रकाशित उपन्यास ‘उत्सर्ग’ पढिसकेपछि एउटा अर्को कुरा थप्न मन लाग्छ- प्रेम पनि एउटा युद्ध नै हो।
र, प्रेममा सधैं जित मात्र पनि हुँदैन। त्यसैले हार स्वीकार्न तयार हुनुपर्छ। तर प्रेमयुद्धमा युद्धमा जस्तो पूरै हार भने नहुँदो रहेछ। हुन त प्रेममा पनि युद्धमा जस्तै जालझेल, विश्वासघात र छलकपट हुन्छ, प्रेमी या प्रेमिकाले हार्न सक्छन् तर प्रेमको सधैं जित हुन्छ। त्यसैले भनेको होला सायद प्रेम शाश्वत हुन्छ, कहिल्यै नहार्ने र कहिल्यै नमर्ने अर्थात् उत्सर्ग या त्यागमा बाँच्ने। सानुको ‘उत्सर्ग’ त्यसैले एक शाश्वत प्रेमकथामा बुनिएको आख्यान हो।
गुलाफमा काँडा पनि सँगसँगै आएजस्तै प्रेममा पीडा पनि स्वतः आउँछन् कहिलेकाहीँ। यो आख्यान नारीपीडाको एउटा यस्तै चूडान्त कथा हो, जहाँ यस्ता काँडाहरू अविराम गतिमा उम्रिरहन्छन्। एउटी युवती पुरुषबाट मात्र होइन नारीबाटै पनि त्यही कोटिको पीडा सहन बाध्य हुन्छे। पीडामा भलै अन्तर होस् तर दुवै पीडा आ–आफ्नो ठाउँमा असह्य छन्। किशोरीवय, एकांकीपन र पराधीन बँचाइमाथि पाइलैपिच्छे प्रेममा विश्वासघात र बँचाइमा परनियन्त्रणको सिकार हुनुपर्दा आलो घाउमा थप नुनचुक दलेजस्तो हुन्छ। एउटी पात्र कुलीन, सम्पन्न र शिक्षित परिवारकी हुँदाहुँदै पनि उसले त्यही कुलीनता, सम्पन्नता र शिक्षाका वरिपरि अनेकौं अनुदार र उपेक्षाका दुर्गहरूबीच कैद हुनुपर्छ र त्रासदीपूर्ण घटना–परिघटनाहरूसँग पटक–पटक संघर्ष गर्नुपर्छ। यस्ता घात–प्रतिघातहरूबाट उकास्दै र छल्दै सानुले आफ्नो उपन्यासकी नायिका अर्थात् आर्यालाई सर्लक्क उत्सर्गको मोडमा टेकाएकी छन्।
उपन्यास प्रथम पुरुषमा लेखिएको छ। त्यसैले उपन्यासको कथ्य नायिकावरिपरि घुम्दै यात्रा गर्छ। उपन्यासको उपान्तसम्म कथा ठाउँठाउँमा जीउ सिरिङसिरिङ गराउँदै अघि बढ्छ। आमा, दिदी या कोही आफन्त साथमा नभएकी एउटी १३ वर्षकी किशोरीले पहिलोपल्ट रजस्वला हुँदा, रहस्यभन्दा पनि अज्ञानताको जुन पीडा भोग्छे, त्यसको चित्रण मार्मिक छ।
‘उत्सर्ग’ स्मृतिकथ्यबाट आरम्भ हुन्छ र वर्तमानमा प्रवेश गर्छ। यो बुबाआमाले एक्लै छोडेर विदेश गएका एक धनाढ्य परिवारकी एक्लो सन्तान (आर्या)को कथा हो। ऊ आफ्ना वरिपरि संकोच र संकीर्णताका पर्खाल लगाएर एक्लै बाँचिरहेकी हुन्छे। आमाबाबुले जसको जिम्मा लगाएर गएका हुन्छन्– बाध्यतावश उसको छोरा गौरव उसको एकांकी जीवनमा अनायास सहयात्रा गर्न आइपुग्छ। यो सहयात्रा झाँगिँदै प्रेममा परिणत हुन्छ।
यो त एउटा उदाहरण मात्र हो, उपन्यासका पृष्ठहरू जतिजति पल्टिँदै जान्छन्, ठाउँठाउँमा यस्तामा अकल्पनीय त्रासदी र रोमाञ्चकताहरू थपिँदै जान्छन्। नारी मनोविज्ञान, अझ एउटी किशोरीदेखि प्रौढ उमेरसम्मको मनोदशालाई उपन्यासमा अति सूक्ष्म ढंगमा बुनिएको र विश्लेषण गरिएको छ।
‘उत्सर्ग’मा नारीपात्र सशक्त रूपमा प्रस्तुत भएको छ। यस अर्थमा यस उपन्यासलाई नारीवादी भन्दा पनि अर्घेल्याइँ नहोला। किनभने सानु शर्माले यस उपन्यासमा नारीमनलाई यति गहिराइबाट छामेकी र फुकाएकी छन्, पढिरहँदा पाठक आफैं पनि साक्षीभावमा हुन्छ। र, यसकी मूल पात्रा आर्यालाई सशक्त नारीको भूमिका निर्वाह गराउने क्रममा उसकोे अस्तित्व, उसको अस्मिता र उसको स्वत्वका लागि बारम्बार यति कठोर अग्निपरीक्षा पार गर्न लगाइएको छ, यसले उपन्यासलाई अझ बढी नारीवादी हुन सघाउँछ। परिवार होस् या प्रेमी उसका मार्गमा अड्चनका बल्छी थापेर अल्झाउन खोजिरहन्छन्। आफ्नै मनसँग लड्दालड्दा हतास र निरास भएकी एक्ली पात्रा अरूका स्वभाव र चरित्रसँग पनि युद्ध गर्नुपर्दा कतिपटक भाँचिन्छे, कति ठाउँमा चोइटिन्छे र कति बाटाहरूमा पछारिन्छे; गनिसाध्य हुँदैन। तर हरेक प्रतिकूलता र विपर्यस्त परिस्थितिसँग पौंठेजोरी खेलेर गन्तव्यको शिखरमा टेक्न सक्नु ‘उत्सर्ग’को परिणति हो।
पाठकलाई कतै नअलमल्याई सललल बगाउनु यस उपन्यासको मुख्य विशेषता हो। यसमा पनि आरोह–अवरोहका कण्टकीय गल्छीहरू छन्, अक्करे कुइनेटा र मोडहरू छन्। तर ओरालोमा चञ्चले हतारो अनि उकालोमा गह्रुँगो भारी बोकेको पुरानो ट्रकजस्तो ठसठसी कन्दै यात्रा गर्नुपर्ने अवस्था पनि आउँदैन। हिउँदमा समथरमा बग्ने नदीले झैं एकनास र निर्मल यात्रा गराउँछ उपन्यासले। बेलाबेला किनारमा ठोक्किनु त प्रवाहको स्वभाव हो, जो यहाँ पनि पाइन्छ। तर उपन्यासले पाठकलाई एकदमै नयाँ बाटोमा यात्रा गरेको अनुभूति दिन्छ। कथामा नचिताएका पात्रका चरित्रहरू भेटिन्छन्, नसोचेका घटनाका घुम्तीहरू देखा पर्छन्। तिनलाई आत्मसात् गर्न नभ्याउँदैै कथा अर्कै धरालतमा पुगिसकेको हुन्छ। एकैछिनपछि के हुँदै छ भन्ने कुरा आमकथा या आमचलचित्रमा जस्तो एकछिनअघि पढेको घटनाबाट अनुमान गर्यो भने त्यो फगत अनुमान मात्र हुन्छ ‘उत्सर्ग’मा।
‘उत्सर्ग’ पूर्वदीप्तिबाट आरम्भ हुन्छ र वर्तमानमा प्रवेश गर्छ। यो बुबाआमाले एक्लै छोडेर विदेश गएका एक धनाढ्य परिवारकी एक्लो सन्तान (आर्या)को कथा हो। ऊ आफ्ना वरिपरि संकोच र संकीर्णताका पर्खाल लगाएर एक्लै बाँचिरहेकी हुन्छे। आमाबाबुले जसको जिम्मा लगाएर गएका हुन्छन्– बाध्यतावश उसको छोरा गौरव उसको एकांकी जीवनमा अनायास सहयात्रा गर्न आइपुग्छ। यो सहयात्रा झाँगिँदै प्रेममा परिणत हुन्छ। आर्या र गौरवको परिवारले यस सम्बन्धमा भाँजो हाल्न जति नै प्रयत्न गरे पनि आर्याको एक्लो ढिपि र प्रेमप्रतिको उसको समर्पणका कारण गौरवसँगको सम्बन्ध अविच्छिन्न रहन्छ। दुवैका परिवारले जति नै अवरोधका पर्खाल तेस्र्याए पनि गौरवलाई एउटा योग्य व्यक्ति बनाउन आर्याले आफ्नै खर्चमा विदेश पढ्न पठाउँछे। र, केही समयपछि ऊ पनि परिवारसँग विद्रोह गरेर अध्ययन गर्न भनेर गौरवलाई भेट्न पुग्छे।
चारित्रिक रूपमा खराब छ भनेर सुन्दासुन्दै पनि कानले सुनेको कुरामा विश्वास नगरी मनको कुरा मात्र सुनेर आफूलाई गौरवप्रति सम्पूर्ण रूपले समर्पित गरेकी आर्याका जीवनमा अन्ततः तिनै सुनेका कुराहरू सत्य भइदिन्छन्। त्यसपछि जीवनपथमा असाध्य दुःखदायी घटनाहरू घट्छन्। ऊ प्रणय र नियतिको शिखरबाट खसेर दुर्गति र विश्वासघातको चट्टानमा बज्रिन पुग्छे। त्यसपछि उसको जीवनको दोस्रो अध्याय सुरु हुन्छ। जुन उपन्यासको उपान्त हो र अर्को अकल्पनीय घटना बोकेर प्रस्तुत हुन्छ। जहाँ दोस्रो पटक आदित्यको प्रवेश हुन्छ— उपन्यास र आर्याको जीवनमा।
भनिन्छ, एउटा सर्जकमा दृष्टिसँगै मौलिक र सटिक दृष्टिकोण हुन आवश्यक छ। काल, पात्र र अवस्थाको अन्तर्यमा पुग्न र पुगेर यिनलाई जीवन्त प्रस्तुतिमा बाँधेर पस्किन मौलिक शैली र निजत्व हुन आवश्यक छ। ‘उत्सर्ग’ पढिसकेपछि यी पक्षहरूको टड्कारो उपस्थिति बोध हुन्छ। सानुको यस उपन्यासमा कथाको बुनोट र संरचनालाई जति सुन्दर उपमा र अर्थालंकारद्वारा सिँगारिएको छ, त्यति नै प्रभावकारी र हृदयग्राह्य छन् यसका संवादात्मक सम्प्रेषणहरू। यो नारीको दुःखान्त कथा हो। कतैकतै घटना र व्याख्यानहरू बढी नाटकीय लाग्छन् तर यो तपसिलको कुरा हो।
समग्रमा भन्दा उपन्यासमा कतै सशक्त नाटकका संवादजस्ता पंक्तिहरू छन्। कतै जीवनलाई गन्तव्यतिर डोर्याउने मार्गदर्शन छन्। कतै चरम रुमानी र कतै चरम रोदनी प्रसंगहरू भेटिन्छन्। कतै अपत्यारिला घटनाहरू घट्छन्। कतै देखेभन्दा प्रस्ट सत्यहरू साक्षात्कार हुन्छन्। कतै गति छ। कतै विराम। यी यावत् गोरेटा, बाइरोड र राजमार्ग छिचोलेर तीन सय ३८ पृष्ठ पूरा गरेपछि जब पाठकीय यात्रामा पूर्णविराम लाग्छ अनि पाठकलाई उपन्यासमा कुनै बिसौनीमा नरोकिई पनि सहज यात्रा गर्न सम्भव हुँदो रहेछ भन्ने अनुभूति हुन्छ। यत्ति हो, यसमा कतैकतै हिन्दी शब्दावलीका बाछिटा पर्न गएका छन्, आगामी कृतिहरू तिनलाई तर्काउने प्रयत्न गरिन् भने सानु शर्माको आख्यानयात्रा सुदूर भविष्यसम्म निष्कण्टक र सुगम्य हुनेमा कुनै आशंका या द्विविधा रहँदैन।