विनाशपछि विकास
गोरखा : बारपाक केन्द्रबिन्दु भएर २०७२ साल वैशाख १२ गते गएको भूकम्प गोरखावासीलाई मुटुको किलोझैँ छ वर्षदेखि बिझाइरहेको छ। त्यसका कारण चार सय ७२ जनाको मृत्यु भयो। एक हजार ३४ जना घाइते बने। १२ जना अझै बेपत्ता छन्।
भूकम्पले यहाँका ६७ हजार ७८ घरधुरी पूर्ण रूपमा नष्ट भए। पाँच हजार सात सय ४४ घर आंशिक क्षति भए। पाँच सय ३२ घरधुरीका बासिन्दा विस्थापित भए। विद्यालयका तीन हजार ६२ कक्षाकोठा पूर्ण रूपमा नष्ट भए। ७७ स्वास्थ्य चौकी र नौवटा सरकारी भवन पूर्ण रूपमा नष्ट भए। कैयौँ नहर कुलो, कैयौँ खानेपानी योजना र सडकहरू क्षतिग्रस्त भए।
यो अप्रिय घटना गोरखावासीको मनभित्र ताजा छ। तर भूकम्पपछि भएको विकास पनि यहाँका बासिन्दाका लागि बिर्सिनसक्नु छ। भूकम्पपछि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको भूकम्पीय आपत्कालीन सहायता परियोजना (ईईएपी) ले गोरखावासीलाई ५७ किलोमिटर कालोपत्रे सडक उपाहार दिएको छ। साथै भूकम्पपछि जिल्लामा काम गर्न आएको जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले गोरखा बारपाक सडकका पाँच ठाउँमा पक्की पुल निर्माण गरेको छ। करिब ४० करोड रुपैयाँको लागतमा सो सडकको खहरेखोला, झ्याल्लाखोला, बालुवाखोला, राङ्रुङखोला र दरौंदीखोलामा पक्की पुल निर्माण भएको हो।
बीसौँ, तीसौं वर्षअघि निर्माण भएर जोखिम अवस्थामा रहेका सडक ढिलोचाँडो कालोपत्रे हुन्थे, पक्की पुल पनि निर्माण हुन्थे, तर सरकारले भूकम्पको दुखाइ बिर्साउन एक अर्ब ५६ करोडको लागतमा यी सडक कालोपत्रे र पक्की पुल निर्माण गरेको आयोजना कार्यालयको तर्क छ। क्षेत्र नं. २ को पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र अजिरकोट गाउँपालिकाका बासिन्दालाई ४७ किलोमिटर कालोपत्रे सडक उपाहार दिइएको हो। पालुङटारको लुइँटेलदेखि अजिरकोटको सिरानडाँडासम्मको यो सडक अहिले कालोपत्रे भएको छ।
त्यस्तै घ्याम्पेसाल, ताकुकोट, स्वाँरा, सौरपानी, बारपाक सडकको चार किलोमिटर सडक पनि सोही परियोजनाअन्तर्गत कालोपत्रे भएको छ। लुइँटेलदेखि चित्रेपोखरीसम्मको १८.५२२ किलोमिटर सडक ३५ करोड २१ लाख ७२ हजार ७२७ रुपैयाँ लागतमा कालोपत्रे भएको हो। सोही सडकको चित्रेपोखरीदेखि भच्चेकसम्मको १२.९७५ किलोमिटर रु. २९ करोड नौ लाख ५७ हजार २६४ रुपैयाँमा कालोपत्रे भएको र १३.८६० किलोमिटर सडक २५ करोड ४२ लाख ५४ हजार ५ सय ६६ रुपैयाँको लागतमा कालोपत्रे भएको ईईएपीले जनाएको छ।
त्यस्तै घ्याम्पेसाल, ताकुकोट, स्वाँरा, सौरपानी, बारपाक सडकको ८.२ किलोमिटरमध्ये ४.७ किलोमिटर कालोपत्रे गरिएको र बाँकी सडक स्तरोन्नति गरिएको ईईएपीका प्रमुख रामशरण आचार्यले जनाए। चैत लागेदेखि नै गाडी नचल्ने सडक कालोपत्रे भएपछि ती सडक आसपासका बासिन्दामा खुसी छाएको छ।
‘दुई वर्षअघिसम्म चैत महिनादेखि भच्चेकमा गाडी अवरुद्ध हुन्थ्यो। बस चल्न छोडेपछि बाह्रकिलोदेखि भच्चेकसम्म एक हजार रुपैयाँ तिरेर जिप चढ्नु पथ्र्यो’, अजिरकोट गाउँपालिका—३ का वडाध्यक्ष तयराज गुरुङ भन्छन्, ‘तर एक वर्षअघि यहाँको ४७.२ किलोमिटर सडक कालोपत्रे भयो। अब डेढ सय रुपैयाँ भाडा तिरेर बाह्रै महिना पिच रोडमा सरर गाडी चल्ने भयो।’ सो सहायता परियोजनाले पालुङटारदेखि भच्चेकबजार, नम्की र सिरानडाँडासम्म सडक कालोपत्रे गरिसकेको उनले बताए।
अँबुवादेखि भच्चेकसम्मको ५२ किलोमिटर सडक निर्माणको काम २०५६ सालदेखि सुरु भएको भएको थियो। २० वर्षसम्म कच्ची सडकको सास्तीपछि गोरखा क्षेत्र नं. २ का बासिन्दाले अहिले कालोपत्रे सडकमा गाडी चढ्न पाएका वडाअध्यक्ष तयराज गुरुङ बताउँछन्। ‘गाउँमा पिच सडक आएपछि सिरानचोक र अजिरकोट गाउँपालिकाका बासिन्दा खुसी छन्। गाउँपालिकाले पनि विभिन्न कार्यक्रम तय गरेको छ’, वडाध्यक्ष गुरुङले भने, ‘सिरानडाँडामा हाई अल्टिच्युड रंगशाला निर्माणको काम सुरु भइसकेको छ। नम्कीमा होमस्टे सञ्चालन भएको छ। अब यहाँ जैविक खेती गरी एग्रो टुरिज्मको विकास गर्ने कार्यक्रम बनाएका छौं।’
सडक कालोपत्रे भएपछि यहाँ अत्यधिक उत्पादन हुने अलैंची तथा अन्य जडीबुटीले बजार पाउने भन्दै किसान खुसी भएको उनले बताए। सडक कालोपत्रे भएपछि सिरानचोक गाउँपालिका र अजिरकोट गाउँपालिकाका बासिन्दा खुसी भएका सिरानचोक–१ का उत्तम गुरुङको भनाइ छ। ‘बर्खा लागेपछि गाउँमा गाडी आउँदैनथ्यो। गाडी भेट्न कहाँकहाँ पुग्नुपथ्र्यो’, उनले भने, ‘अहिले त घरघरमा गाडी कुदेको छ। बिरामी भए भने पनि तत्काल सहरको अस्पतालसम्म पुग्न सजिलो हुने भयो। हुनसम्म रमाइलो भएको छ।’
लुइँटेल भञ्ज्याङदेखि तार्केडाँडासम्म पहिलो प्याकेजको १८.५ किलोमिटर सडक लामा अमर जेभी कन्स्ट्रक्सनले र दोस्रो प्याकेजअन्तर्गत तार्केडाँडादेखि नयाँगाउँसम्मको १३ किलोमिटर सडक लामा कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेका हुन्। एसियाली विकास बैंकको ७० करोड रुपैयाँ सहयोग र स्विस सरकारको प्राविधिक सहयोगमा सो सडक कालोपत्रे गरिएको हो।
गाउँको सडक कालोपत्रे भएपछि सस्तोमा दैनिक उपभोग्य सामग्री पाउने भन्दै स्थानीयवासी खुसी भएका छन्। ‘बर्खामा गाडी आउँदैनथ्यो। बर्खाका लागि चाहिने सामान हिउँदमै जोहो गर्नुपथ्यो’, केराबारीका सेवाराज गुरुङले भने, ‘अब ती दिन गए। चाहिएको सामान, सस्तो भाडामा बाह्रै महिना पाइने भयो।’
विकास नियमित प्रक्रिया भए पनि भूकम्पका कारण छिटो विकास पाएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का प्रमुख रामशरण आचार्यले बताए। ‘ढिलो छिटो सो सडक कालोपत्रे त हुन्थ्यो, तर भूकम्पले गर्दा चाँडो भएको हो’, प्रमुख इन्जिनियर आचार्यले भने, ‘गाउँका भूकम्प पीडितको चोटमा मल्हम लगाउने काम भएको छ।’