कौसीमा रमिते सिरिज
काठमाडौं : अलि फरक शैलीको भाका गुनगुनाउँदै आधा दर्जन कलाकार मञ्चमा देखा परे। टेकुस्थित कौसी थिएटरमा शनिबार नाइट ब्यान्डले ठेट भाका कन्सर्ट गरेको हो।
रमिते बुक सिरिज नाम दिइएको कन्सर्टमा गायक, गायिका तथा संगीतकारले आआफ्ना प्रस्तुति दिए। गायक तथा संगीतकार जेसन कुँवरद्वारा लिखित उपन्यास ‘रमिते’ गत साता पाटन दरबार स्क्वायरमा सार्वजनिक गरिएको थियो। यही पुस्तक प्रवद्र्धन गर्न ठेट भाका कन्सर्ट आयोजना गरिएको हो।
कन्सर्टमा गायक जेसन कँुवर सारंगी रेट्न व्यस्त थिए भने टुग्नाको धुन निकाल्न मग्न थिए अग्रिम लामा। त्यहीँ घँुघुरु बजाउँदै झुमिरहेकी थिइन् गायिका सुगमा गौतम। हातमा हरियो पात लिएर कर्णप्रिय संगीत निकालिरहेका थिए शिव खत्री।
यस्तै नगरा, मादल र धिमेको तालमा रमाइरहेका थिए सुधीर आचार्य। उनीहरू पालैपालो गीत गाइरहेका थिए। आधा दर्जन लोक तथा ठेट भाकाका गीत कन्सर्टमा प्रस्तुत भए।
सन् २००६ मा स्थापना भएको नाइट ब्यान्ड सुरुवाती चरणमा मेटल म्युजिक खोज तथा अनुसन्धानमा जुटेको थियो। गाउँका लोक भाका खोज्ने क्रममा यो ब्यान्डले अहिले परम्परागत ठेट म्युजिकमा काम गरिरहेको छ। आजको प्रस्तुतिमा सुदूरपश्चिमेली, हिमाली, तराई, पहाडी, पूर्वेली सबै ठाउँका भाका मिसिएको थियो।