मिस इकोको उडान
काठमाडौं : इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल– २०२१’ मा अनुष्मा रायमाझीले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्। ग्रिन आर्ट मिडियाले उक्त प्रतियोगितामा नेपाली प्रतिनिधिका रूपमा रायमाझीलाई पठाउन लागेको हो।
रायमाझी ‘मिस इको इन्टरनेसनल नेपाल–२०२०’ की विजेता हुन्। उनी १८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुन त्यसतर्फ जान लागेकी हुन्। ६० बढी देशका इको सुन्दरीको सहभागिता रहने प्रतियोगिताका लागि रायमाझी नेपालबाट एक्लो सहभागी हुनेछिन्।
२१ वर्षीया रायमाझी मार्चको पहिलो साता इजिप्ट उड्ने तयारीमा छन्। प्रतियोगितामा आफूले कल्चरल ड्रेस र देशको सांस्कृतिक र पर्यटकीय स्थानको प्रचार गर्ने उनले बताइन्।
यो प्रतियोगितामा सहभागी हुने रायमाझी नेपालको छैटौँ प्रतिस्पर्धी हुन्। यसअघि यो प्रतियोगिता प्रिन्सा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचन र मौनता लामाले सहभागिता जनाएका थिए।
‘मिस इको इन्टरनेसनल’ एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो। पर्यटन र वातावरणलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि यो प्रतियोगिता सुरु भएको हो। यसको मुख्य उद्देश्य विश्वभरका पर्यावरण र संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत् सूचना प्रवाह गर्नु रहेको छ।
‘मिस इको इन्टरनेसनल’ को उपाधि नेपाल भित्रिने आशासहित रायमाझीलाई प्रतियोगितामा पठाउन लागिएको ग्रिन आर्ट मिडियाका सीईओ प्रवीण लाकौलले बताए। ग्रिन आर्ट मिडियाकी अनिला श्रेष्ठ मिस इको नेपालको राष्ट्रिय निर्देशक हुन्।