अस्ट्रेलियामा फेसबुक प्रयोगकर्ताले समाचार फेरी हेर्न र सेयर गर्न पाउने
फेसबुकले अस्ट्रेलियामा आफ्ना प्रयोगकर्ताले फेरि समाचार सामग्री हेर्न पाउने घोषणा गरेको छ । एउटा प्रस्तावित कानुनको विरोधमा गत बिहीवारदेखि फेसबुकले आफ्नो मञ्चमा अस्ट्रेलियाबाट समाचार हेर्न नमिल्ने बनाइदिएको थियो । उक्त कानुनमा गुगल र फेसबुकले समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने प्रावधान राखिएको थियो।
अस्ट्रेलियाका एक वरिष्ठ अधिकारीले फेसबुकमा न्यूज पेजहरू आगामी दिनमा फेरि खुल्ने बताएका छन्। उनका अनुसार त्यसका लागि कानुनमा संशोधन गरिनेछ ।
ठूला प्रविधि कम्पनी र समाचार उत्पादन गर्ने संस्थाबीच समाचार सामग्रीको मूल्यबारे न्यायोचित संवाद होस् भन्ने आफ्नो कानुनको उद्देश्य भएको अस्ट्रेलिया सरकारले जनाएको छ ।
विश्वभरि नै चासोपूर्वक हेरिएको नियमनसम्बन्धी यो विषयलाई फेसबुक र गुगलले विरोध गरेका थिए। फेसबुकले अस्ट्रेलिया सरकारसँग भएका छलफलहरूबाट आफू ढुक्क भएको मङ्गलवार जनाएको छ।